नयाँदिल्ली (एजेन्सी)। विश्व्यापीरूपमा कोइलाको माग बढ्दै गएको छ। रुसले युक्रेनमाथि आक्रमण थालेपछि विश्वबजारमा कोइलाको मूल्य आकासियो। यही युद्धका कारण कोइलाको मूल्य अझै माथि गइरहेको छ।
यसबीच भारतले कोइला उत्पादन बढाउने योजना सार्वजनिक गरेको छ। राज्य सञ्चालित कोल इन्डिया लिमिटेड (सिआइएल) ले १ अर्ब टन कोइला उत्पादन लक्ष्य तय गरेको छ।
आगामी आर्थिक वर्ष २०२५/२६ सम्म वार्षिक उत्पादन क्षमता बढाएर वार्षिक १ अर्ब टन पुर्याउने भएको हो। सन् २०३० सम्म भारतमा कोइलाको माग बढेर वार्षिक १ अर्ब ५० करोड टन पुग्ने अनुमान छ। यो लक्ष्य पूरा गर्न सिआइएलले उत्पादन बढाउनुपर्ने भएको छ। यसका लागि कम्पनीले तयारी गरिरहेको छ।
केयर एज रिसर्चले चालू आर्थिक वर्ष अन्त्यसम्ममा ८५ करोडदेखि ९० करोड टन कोइला उत्पादन हुने अनुमान गरेको छ।
कोल इन्डिया लिमिटेडले २०२६ सम्म १ अर्ब टन र २०३० सम्म डेढ अर्ब टन उत्पादन गर्ने कोइला मन्त्रालयको लक्ष्य हासिल गर्न उत्पादनमा अपेक्षित वृद्धि गरेको केयर एज एडभाइजरी एन्ड रिसर्चका निर्देशक तन्वी शाहले बताए।
‘कोइलामा आधारित पावर प्लान्टका माग उच्च रहँदा ऊर्जा क्षेत्रमा थप चाहिने सम्भावना छ। गत वर्षको तुलनामा आयात बढे पनि आन्तरिक उत्पादन बढाउन सरकारले गरेको पहलले मध्यकालमा आयातित कोइलामाथिको निर्भरता घटाउने छ,’ उनले भने, ‘नरम विश्वव्यापी मागका कारण अन्तर्राष्ट्रिय कोइलाको मूल्य मध्यम रहने अपेक्षा गरिएको छ।’
भारतको ऊर्जा प्रणाली कोइलामा निर्भर छ। ८० प्रतिशत ऊर्जा कोइलाबाट उत्पादन हुने गरेको छ। बाँकी २० प्रतिशतमात्र जलविद्युतलगायत अन्य नवीकरणीय ऊर्जाको योगदान छ।
भारतले नेपाललाई बेच्ने बिजुली कोइला प्लान्टको हो। भारतले बढ्दो ऊर्जा माग पूरा गर्न हाइड्रोजन ऊर्जामा २० खर्ब भारु बढी लगानीको योजना सार्वजनिक गरिसकेको छ।
केयर एजका अनुसार भारतको कोइला उत्पादन अप्रिल–जनवरीमा ६९ करोड ८० टनको नयाँ ‘माइलस्टोन’ कायम छ। कोल इन्डियाले कोइला उत्पादनमा १५.२ प्रतिशत वृद्धि गरेको छ।
घरेलु कोइलाको सबैभन्दा बढी प्रयोग ऊर्जा उत्पादनमा छ। यो वर्ष ६० करोड ९० लाख अर्थात साढे १० प्रतिशत खपत बढेको छ।
प्रतिवेदनका अनुसार कूल कोइला आयात २०२२ अप्रिल–डिसेम्बरमा २५.६५ प्रतिशत वृद्धि भएर १९ करोड १८ लाख २० हजार टन पुगेको छ।
प्रमुख विश्वव्यापी बेन्चमार्कको अन्तर्राष्ट्रिय कोइला मूल्य विश्वव्यापी मागका कारण पछिल्ला केही महिना कम हुन थालेको छ।
कोइला खानी (विशेष प्रावधान) ऐन २०१५ र खानी तथा खनिज (विकास र नियमन) ऐन १९५७ अन्तर्गतको छैटौं किस्ताको व्यावसायिक कोइला खानी लिलामी अन्तर्गत १४१ कोइलारलिग्नाइट खानी बिक्रीको लागि प्रस्ताव गरिएको छ। छैटौं र दोस्रो प्रयास पाँचौं किस्तामा लिलामीका दुई किस्ता अन्तर्गत कुल ९६ बोलपत्र प्राप्त भएका छन ।