काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले बनाएको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ आयोजनाबाट आगामी चैतदेखि बिजुली उत्पादन हुने भएको छ।
अहिले आयोजनाको सुरुङलगायत अन्य संरचनाको परीक्षण भइरहेको छ। परीक्षण सकिएपछि विद्युत परीक्षण उत्पादन हुनेछ। त्यसपछि आयोजनाबाट व्यावसायिकरूपमा बिजुली उत्पादन हुनेछ।
यो वर्ष थपिन लागेको यो दोस्रो ठूलो आयोजना हो। ८६ मेगावाटको सोलु–दूधकोसी आयोजनाबाट बिजुली उत्पादन सुरु भइसकेको छ।
कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायामाझीले आगामी चैतबाट बिजुली उत्पादन हुने बताए। हाल आयोजनाको बाँध र डिसेन्टरमा पानी भर्ने काम भइरहेको छ।
मुख्य सुरुङको परीक्षण काम सकेपछि बिजुली उत्पादन परीक्षण थालिने छ। आयोजनाको ५.१ किलोमिटर मुख्य सुरुङ छ।
सबै गरेर १०.३५ किलोमिटर लामो सुरुङ छ। आयोजना बनाउन ८ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान थियो। भूकम्प, नाकाबन्दी, दोर्दीखोलामा आएको बाढी र कोरोना महामारीले आयोजनाको समय लम्बिएपछि लागत १० अर्ब ५० करोड पुगेको अनुमान छ।
आयोजनामा सानिमासहित सात बैंकले ऋण लगानी गरेका छन्। ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । बैंकको ५ अर्ब ८० करोड ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको लगानी छ।
यसअघि ४९.६ मेगावाटमा आयोजनाको डिजाइन गरिएको थियो। पछि क्षमता बढाएर ५४ मेगावाट पुर्याइएको हो। आयोजनाको हेड ६ सय २५ मिटर छ। धेरै हेड भएका कारण आयोजनाबाट बढी बिजुली उत्पादन हुने भएको हो।
आयोजनाबाट २०७५ भित्रै व्यावसायिक बिजुली उत्पादन मिति रहेकामा भूकम्प, बाढी र कोरोना महामारीले आयोजना पछाडि धकेलिएको कम्पनीले जनाएको छ।
आयोजना प्रभावित क्षेत्रका लम्जुङबासीको २७ करोड रुपैयाँ लगानी छ। आयोजनाले सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र बर्खायाममा ४ रुपैयाँ ८० पैसामा पिपिए गरेको छ।
आयोजनाको बाँध र सुरुङ निर्माणको काम बज्रगुरु कन्स्ट्रक्सन, मुख्य सुरुङ बिपी कन्स्ट्रक्सन र विद्युतगृह हाइहिमालय हाइड्रो कन्स्ट्रक्सन प्रालिले काम गरिरहेका छन्।
नदी प्रवाही (आरओआर) आयोजनाबाट वार्षिक ३१ करोड ४९ लाख ८३ हजार युनिट बिजुली उत्पादन हुनेछ। बर्खामा २६ करोड १९ लाख र सुक्खायाममा ५ करोड ३० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ।
२०७१ मा विद्युत खरिद सम्झौता (पिपिए) गरी २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै २०७७ असारसम्मको सम्झौता गरिएको थियो।
उक्त अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि २०७८ असारसम्म सक्ने सम्झौता थियो। कम्पनीले ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत आयोजना निर्माणको तयारी पनि गरिरहेको छ।