काठमाडौं। बजेट सुनिश्चितता नहुँदा बुटवल मेडिकल कलेज निर्माण रोकिएको छ। रुपन्देही तिलोत्तमा नगरपालिका–१ शंकर नगर सामुदायिक वनको जग्गामा मेडिकल कलेज निर्माण तयारी पूरा भएको एक वर्ष भयो।
तर, बजेट नहुँदा निर्माण सुरु गर्न नसकिएको ‘बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना’ प्रमुख मानबहादुर घिमिरेले बताए।
उनका अनुसार कलेजलाई स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको १० महिना भइसक्यो। तर, अर्थले स्रोत सुनिश्चितता गरेको छैन। कलेजका लागि अर्थले ११ अर्ब रुपैयाँ बजेट व्यवस्थापन गर्नुपर्ने हुन्छ।
अर्थले बजेटबारे ठोस प्रतिक्रिया नदिँदा मेडिकल कलेज निर्माण कार्य अनिश्चित बनेको छ।
‘हामीले भौतिक पूर्वाधार निर्माणको काम सुरु नगर्दासम्म बाहिरबाट प्रगति देखिँदैन। तर, वातावरणीय प्रभाव मूल्यांकन (इआइए), विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्ने काम गरेका छौं,’ आयोजना प्रमुख घिमिरेले क्यापिटल नेपालसँग भने, ‘बजेट व्यवस्था भयो भने काम गर्न कुनै समस्या छैन।’
६ सय बेडको अस्पताल बन्ने
सरकारले सातै प्रदेशमा एक–एक मेडिकल कलेज निर्माण गर्ने योजनाअनुसार बुटवलमा मेडिकल कलेज बनाउने तयारी भएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैतमा बुटवलमा आयोजना कार्यलय उद्घाटन गरेका थिए।
आयोजना कार्यालयले ६ सय बेड (शैय्या) को जनरल अस्पताल बनाउने डिपिआर तयार गरेको छ।इआइए अध्ययन गर्दा २ सय बिघा जमिनमा मेडिकल कलेज बनाउने योजना थियो। तर, वन मन्त्रालयले २ सय बिघा वन क्षेत्रमा अस्पताल बनाउन नमिल्ने भन्दै ५० बिघा जमिनमात्रै उपलब्ध गराएको छ।
जसका कारण अब ५० बिघा जमिनमा मेडिकल कलेज बनाउने तयारीमा योजना कार्यालयको छ। ‘आधारभूत कुरा बनाउन सकिन्छ। हामीले अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउन लागेका थियौं। जग्गा नभएपछि त्यसलाई परिमार्जन गर्छौं,’ २ सय बिघाको योजनालाई ५० बिघामा बनाउन सम्भव छ भन्ने प्रश्नमा आयोजना प्रमुख घिमिरेले भने।
२ सय बिघा जमिन हुँदा अस्पतालसहित अन्तर्राष्ट्रियस्तरको चिल्डे«न पार्क, स्विमिङ पुल, स्कुललगायत अन्य पूर्वाधार पनि बनाउने योजना आयोजनाको थियो। तर, ५० बिघामात्रै जमिन उपलब्ध भएपछि अस्पतालका लागि आवश्यक पर्ने भवन र कलेज निर्माण अर्थात अत्यावश्यक संरचनामात्रै बनाउने योजना आयोजनाले बनाएको छ।
११ अर्ब लागत
६ सय बेडको अस्पताल बनाउन मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक ११ अर्ब रुपैयाँ लाग्ने आयोजना प्रमुख घिमिरे बताउँछन्।
उनका अनुसार मुटु र क्यान्सरको छुट्टै अस्पताल बनाउने तयारी छ। त्यसका लागि अहिले बजेटको स्रोत सुनिश्चितता माग नगरिएको हो।
‘मुटु र क्यान्सर अस्पताल बनाउने योजना छ, त्यसको अध्ययन पनि भइसकेको छ। तर, अहिले बजेटको कुरा गरेका छैनौं। पहिला जनरल अस्पताल नै बनाउनुपर्छ,’ उनले भने।
लागत रकम डिपिआर अध्ययनले देखाएको हो। कलेज निर्माण क्रममा टेन्डर आह्वान भएर निर्माण कम्पनीबीच प्रतिस्पर्धा हुँदा लागत घट्ने अपेक्षा आयोजनाको छ। डिपिआर अध्ययन गर्न २ करोड ८८ लाख रुपैयाँ खर्च भएको थियो।
आयोजनास्थल वन क्षेत्रमा भएकाले ११ हजार रुख काट्नुपर्ने अध्ययनले देखाएको छ। इआइए अध्ययन अनुसार ११ हजार रुख काट्नुपर्ने देखिए पनि सबै रुख नकाटिने आयोजनाले जनाएको छ।
‘५० बिघा जमिनमा ११ हजार रुख काट्नुपर्ने देखिएको हो तर विमानस्थल बनाउन लागेको होइन। पूरै काट्नु पदैन,’ आयोजना प्रमुख घिमिरेले भने, ‘आवश्यकताअनुसार काट्दै जाने हो। बढीमा ५ हजार रुख काटिन्छ होला।’
मेडिकल कलेजको भौतिक संरचना ६ वर्षभित्र निर्माण गर्ने योजना छ। १० महिनादेखि स्रोत सुनिश्चितताको फाइल अर्थ मन्त्रालयमा रोकिएको छ। जसका कारण आयोजनालाई लक्ष्यभित्रै भौतिक संरचना तयार गर्न चुनौती बढ्दै गएको छ।
आयोजनालाई चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ ७ करोड रुपैयाँ बजेट प्राप्त भएको छ। अर्थ मन्त्रालयले आयोजनालाई स्रोत सुनिश्चित नगर्दा ७ करोड रुपैयाँ पनि ‘फ्रिज’ हुने सम्भावना बढेको छ।