काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आफूसँग रहेका ३० सिट क्षमतायुक्त ‘जेटस्ट्रिम–४१’ (जे–४१) सिरिजका सबै पाँचथान जहाज बिक्री गर्ने भएको छ।
गुणका ती जहाज खरिद गर्न काठमाडौं आएको एक विदेशी कम्पनीका प्रतिनिधि अहिले त्रिभुवन विमानस्थलमा जहाज अवलोकन गरिरहेका छन्। गुणले ती सबै जे–४१ जहाज अर्को निजी वायुसेवा कम्पनी यती एयरलाइन्सँग खरिद गरेको थियो।
‘अब अझ बढी सिट भएका जहाज ल्याएर थप गुणस्तरीय सेवा दिने उद्देश्यले हामीसँग भएका सबै जेटस्ट्रिम जहाज बिक्री गर्न लागेका हौं,’ गुणका बजार प्रबन्धक प्रज्ज्वल थापाले क्यापिटल नेपालसँग भने, ‘सबै जहाज बिक्री गर्न लागेको भएर हाल केही दिनका लागि उडान रोकेका हौं।’
जेटस्ट्रिम जहाज बिक्रीको टुंगो केही दिनभित्रै लाग्ने थापाले बताए। ‘विदेशी कम्पनीलाई जेटस्ट्रिम बेच्न तिनका प्रतिनिधिसँग हाम्रो व्यवस्थापन र लगानीकर्ताबाट गम्भीर छलफल भइरहेको छ,’ थापाले भने, ‘जेटस्ट्रिम बेचेपछि हामी १८ सिट क्षमताका दुईथान बिचक्राफ्ट जहाजबाट नियमति उडान गर्छौं।’
गुणका बजार प्रबन्धक थापाका अनुसार चालू सन् २०२३ भित्रै नयाँ दुईथान जहाज ल्याइने छ। एटिआर, बम्बार्डियर वा एम्ब्रेअर वा अन्य जहाज निर्माता कम्पनीका मध्यम आकारका ५० देखि ७० सिट क्षमायुक्त जहाज खरिद गर्ने योजना छ।
गुणमा हाल करिब एक दर्जन पाइलट कार्यरत छन्। गुणले काठमाडौं पोखरा, भरतपुर, नेपालगन्ज, तुम्लिङटार र भैरहवा उडान तथा माउन्टेन फ्लाइट गर्दै आएको थियो।
करिब दुई सातादेखि नियमित उडान बन्द गरेको गुणले आफ्ना जहाजको मर्मतसम्भार एवं पाइलट तथा इन्जिनियरलाई तालिम दिइरहेका कारण उडान रोकिएको बताउँदै आएको थियो।
मुलुकको उड्डयन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पाइलट तथा अन्य कर्मचारीलाई नियमित तलब उपलब्ध नगराएको जानकारी आएपछि गुणका सबै उडान रोक्न निर्देशन दिएको जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले गुण एयरलाइन्सका पाइलट तथा कर्मचारीले तलब नपाएको बुझिन आइपछि अनिश्चितकालका लागि उडान बन्द गर्न निर्देशन दिएको जानकारी दिए।
तलब नपाएर उडान गर्दा समस्या उत्पन्न हुने भएकाले समाधान गरेरमात्र उडान गर्न निर्देशनसहित पत्र पठाएको उनको भनाइ छ।
गुणले सबै कर्मचारीलाई तलब दिएर समस्या समधानपछि प्राधिकरणले फेरि अडिट गर्ने र त्यसको प्रतिवेदनका आधारमा उडानका लागि अनुमति दिने वा नदिने भन्ने निर्णयमा पुग्ने उनले जानकारी दिए।
‘गुणका कुनै पनि कर्मचारीले प्राधिकरणमा तलब नपाएको भनेर लिखित वा मौखिक उजुरी भने आएको छैन,’ प्रवक्ता निरौलाले क्यापिटल नेपालसँग भने, ‘हामीले बुझ्दा समस्या देखिएकाले उडान रोक्न भनेका हौं।’
तर, गुणका बजार प्रबन्धक थापाले कुनै पनि कर्मचारी वा पाइलटलाई तबल नदिएर उडान रोकिएको भन्ने विषयलाई अस्विकार गरे।
‘हामीले सबै कर्मचारीलाई नियमित तलब दिइरहेका छौं,’ थापाले भने, ‘सबै जहाज बेच्न लागेको भएर उडान केही समयलाई रोकेका हौं। यसमा अरू कारण केही छैन।’