काठमाडौं। नेपाल टेलिकमले अहिले फाइभ–जी प्रविधि परीक्षण गरिरहेको छ। टेलिकमले १९औं वार्षिकोत्सव अवसर पारेर फाइभ–जीको आन्तरिक परीक्षण कार्य सुरु गरेको हो।
नेपालमा फाइभ–जी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज फ्रिक्वेन्सी टेलिकमलाई उपलब्ध गराएको छ।
यसैबीच प्राधिकरणले चिनियाँ ब्रान्डका मोबाइलमात्र लक्ष्य गरी टेलिकमलाई फाइभ–जी परीक्षण सुरु गराउन दबाब दिएको थियो। तत्काल फाइभ–जीको आवश्यकता नभएको टेलिकमको ठम्याइविपरीत प्राधिकरणको दबाबमा परीक्षण सुरु गरिएको हो।
फाइभ–जी विभिन्न देशमा विभिन्न ब्यान्डमा चल्छ। ७ सय, २३ सय, २६ सय र ३३ सय ब्यान्ड फाइभ–जीका लागि धेरै प्रयोग भएको पाइन्छ।
हाल भारतमा ३३ सय मेगाहर्ज फ्रिक्वेन्सी छ भने चीनमा २६ सयमा चलिरहेको छ। नेपालमा पनि प्राधिकरणले २६ सय मेगाहर्ज फ्रिक्वेसीमा टेलिकमलाई फाइभ–जी परीक्षण गराएपछि प्राधिकरण नेतृत्वको चिनियाँ कम्पनीसँग ‘साँठगाँठ’ रहेको आशंका बढेको हो।
नेपालमा विभिन्न देशबाट विभिन्न मोबाइल सेट आउने गरे पनि प्राधिकरणले भने नेपालमा फाइभ–जीका लागि २६ सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ, जुन छिमेकी चीनमा पनि यही फ्रिक्वेन्सी प्रयोग हुन्छ।
ह्वावे, साओमी, ओप्पो र भिभो ब्रान्डका ह्यान्डसेटमा मात्रै फाइभ–जी चल्छ। जबकि नेपालमा त्यसबाहेक अन्य धेरै ब्रान्डका मोबाइल भित्रिन्छन्।
टेलिकमले प्राधिकरणलाई नेपालमा २६ सय ब्यान्डमा चिनियाँ फोनमा मात्रै फाइभ–जी चल्ने भएकाले नेपाल भित्रिने सबै फोनमा चल्ने गरी फ्रिक्वेन्सी उपलब्ध गराउन अनुरोध गरेको थियो।
तर, प्राधिकरण नेतृत्वले टेलिकमको सुझाव नसुनी २६ सय मेगाहर्ज दिएपछि सीमित फोनमा मात्रै फाइभ–जी परीक्षण भइरहेको छ। प्राधिकरणले नेपालमा चिनियाँ ब्रान्डका मोबाइलको पहुँच बढाउन २६ सय ब्यान्ड प्रयोग गरेको आरोप लाग्दै आएको छ।
ह्वावेले जारी गरेको विज्ञप्तिमा ‘नेपाल टेलिकमले परीक्षण अवधिमा मिड–ब्यान्ड फाइभ–जी फ्रिक्वेन्सीको फाइदा लिनेछ। टेल्कोले व्यावसायिक रोल–आउटका लागि पनि मिड–ब्यान्ड स्पेक्ट्रम फाइभ–जी प्रयोग गर्ने छ। जसका लागि नियामकले इजाजतपत्र, स्पेक्ट्रम प्रदान गर्न आवश्यक छ’ भनिएको थियो।
जसका कारण प्राधिकरणले नेपालमा फाइभ–जी चिनियाँ मोबाइल फोन ब्रान्ड लक्ष्य गरी ल्याएको आरोप लागेको हो।
टेलिकम पनि बाध्य भएर चिनियाँ फोनमा मात्रै चल्ने फाइभ–जी परीक्षण गर्नुपरेको बताउँछ।
‘प्राधिकरणको निरन्तर दबाबपछि बाध्य भएर केही चिनियाँ ब्रान्डका फोनमा मात्रै चल्ने गरी फाइभ–जी परीक्षण गर्नुपरेको हो,’ टेलिकम उच्च स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘सीमित फोनमा मात्रै फाइभ–जी चल्ने र त्यसले विवाद हुने देखिएपछि जनवरी १ मा फाइभ–जी परीक्षण सुरु गर्न नसकेका हौं।’
विवादमा तानिने भएपछि टेलिकमले फाइभ–जी परीक्षण मिति केही पर सारेको थियो। तर, टेलिकममाथि अनेकन लान्छना लगाएपछि बाध्य भएर सीमित फोनमै परीक्षण हुने गरी सुरुवात गरिएको हो।
स्रोतका अनुसार २६ सय ब्यान्डको धेरै सेट यहाँ उपलब्ध गराएर भोलि ग्राहकको हातहातमा पुगेपछि फिर्ता गर्नुपर्ने अवस्था नआओस् भनेर हाल सेट उपलब्ध गराउन बढी सक्रियता टेलिकमले नदेखाएको हो।
टेलिकमले २६ सय ब्यान्डमा सामसङ, एमआईलगायत ‘अनबोर्डिङ’ का लागि परीक्षण गर्न आग्रह गरिरहेको छ। कुनै देशमा मोबाइल उत्पादन गर्दा देशअनुसार कुन देशलाई कति पठाउने किटान गरी लट छुट्ट्याउने गरिन्छ।
साथै बजारअनुसार त्यसमा फाइभ–जी, फोर–जी, थ्रि–जी चल्ने÷नचल्ने हेरेर मोबाइल उत्पादन गरिएको हुन्छ। भारतमा ३३ सय र चीनमा २६ सय ब्यान्ड प्रयोगमा रहेकाले यो मोबाइलमा फाइभ–जी चल्छ भनेर आफूहरूले नभनेको टेलिकम बताउँछ।
‘कुन मोबाइलमा फाइभ–जी चल्छ र कुनमा चल्दैन भनेर हामीले खुलाउँदा त्यो ब्रान्डलाई प्रमोसन गरेको जस्तो हुन्छ,’ टेलिकम स्रोतले भन्यो, ‘त्यसैले हालसम्म हामीले यो ब्रान्डको मोबाइलमा चल्छ र यसमा चल्दैन भनेर भनेको छैनौं।’
सेट अभावले नै गत जनवरी १ बाट सुरु गर्ने भनिएको फाइभ–जी परीक्षण मिति टेलिकमले पर सारेको थियो। हाल टेलिकमले नियामक निकाय प्राधिकरणको निरन्तर दबाबपछि माघ २२ बाट एक महिनाका लागि फाइभ–जी परीक्षण सुरु गरेको छ।
‘२६ सय ब्यान्डमा परीक्षण गर्न हामीले विभिन्न ब्रान्डलाई आग्रह गरिरहेका छौं,’ टेलिकम स्रोतले भन्यो, ‘यदि उपलब्ध नभएको खण्डमा अन्य कसैको म्यानुफ्याक्चरिङ ल्याएर जाँच गर्ने तयारीसाथ काम अगाडि बढाएका छौं।’