काठमाडौं। नेपाली र भारतीय मुद्राबीचको विनिमय दर दशकौंदेखि स्थिर छ । औपचारिक माध्यमबाट १ सय भारतीय रुपया (भारू) किन्न १६० रुपैयाँ नेपाली तिर्नुपर्छ । तर, केही समययता अनौपचारिक बजारमा १५५ रुपैयाँमै भारू १०० पाउन थालिएको छ । अनौपचारिक बजारमा नेपाली रुपैयाँको तुलनामा भारू अवमूल्यन हुन पुगेको छ ।
सीमावर्ती बजारमा मात्र होइन, संघीय राजधानी काठमाडौं र मुख्य शहरका कारोबारीले १५५ रुपैयाँमा १०० भारू उपलब्ध गराइरहेको व्यापारीहरूले बताएका छन् । सतही रूपमा हेर्दा भारतीय मुद्रा अवमूल्यन हुँदा नेपालीलाई फाइदा भएजस्तो देखिए पनि यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव नपार्ने विज्ञले बताएका छन् । करिब २ महिनादेखि भारू सस्तिएको वीरगञ्जका एक व्यापारीले बताए । विश्वव्यापी रूपमा व्यापारमा आएको कमीले भारूको माग खस्किएपछि उक्त मुद्रा अवमूल्यन भएको ती व्यवसायीको दाबी छ ।
विज्ञहरूसमेत यो तर्कमा सहमत छन् । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत भएकाले भारतसँगको व्यापार घट्दा भारूको माग स्वाभाविक रूपमा घट्ने र त्यसको असर मुद्रा अवमूल्यनका रूपमा देखिएको हुनसक्ने बताउँछन् ।
‘भारतसँगको व्यापारघाटा तुलनात्मक रूपमा घटेको छ । बैंक र निजीक्षेत्रमा पनि भारूको माग घटेको तथ्यांकले देखाउँछ । माग नै घटेपछि मूल्य कम हुनु स्वाभाविक हो,’ पूर्वगभर्नर क्षेत्रीले भने ।
भारतसँगको अधिकांश व्यापार भारूमा हुन्छ । वैदेशिक व्यापारमा आयातको अंश उच्च रहनु र दुई तिहाइ व्यापार भारतसँग भएकाले व्यापार घट्दा भारूको माग घटेको व्यापारीहरूको भनाइ छ । वीरगञ्जका अनुभवी व्यापारीका अनुसार आयातित वस्तुको सम्पूर्ण भुक्तानी बैंकमार्फत हुँदैन ।
भारतबाट आउने अधिकांश वस्तु न्यून बीजकीकरणमा आउने र बिलबाहेकको रकम अनौपचारिक माध्यम (हुन्डी) बाट बाहिरिने गरेको ती व्यवसायीले बताए । औपचारिक व्यापार घटेपछि हुन्डीका रूपमा हुने भारूको माग पनि घटेकाले भारू अवमूल्यन भएको दाबी उनको छ ।
‘औपचारिक र अनौपचारिक दुवै व्यापार समानान्तर रूपमा भइरहेको हुन्छ । पछिल्लो समय दुवै व्यापारमा आएको कमीले गर्दा भारूको माग घटेको हो,’ एक अर्का व्यापारीले भने । भारू माग बढी भएको अवस्थामा १०० भारूका लागि १६४/१६५ रुपैयाँसम्म तिर्नु परेको उनी बताउँछन् । कुनै बेलामा त यो दर १७० सम्म पुगेको व्यापारी सुनाउँछन् ।
नेपालमा भारूको माग उच्च भएका बेला हुन्डी कारोबारीले भारतमा सस्तैमा डलर बेचेर भए पनि त्यस्तो भारू नेपाली व्यापारीलाई दिने गरेका थिए । ‘नेपालमा भारूको माग बढी भएकाले सस्तैमा भारूसँग सहटी गरेर पनि नेपालबाट बढी नाफा कमाइरहेका थिए,’ ती व्यापारीले भने ।
नेपालमा बैंकहरूले मुद्दती निक्षेपमा ब्याज बढी दिएकाले भारतबाट रकम आएको दाबी गर्नेहरू पनि छन् । सीमाक्षेत्रका भारतीयले नेपालमा रहेका आफन्तको नाममा बैंकमा निक्षेप जम्मा गर्ने प्रवृत्ति बढेकाले नेपाली मुद्राको माग बढेको उनको दाबी छ । पछिल्लो समय बैंकमा लगानीयोग्य रकम बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले पनि देखाएको छ ।
केही विज्ञहरू नेपालको तुलनामा भारतमा सुनको मूल्य बढी भएकाले सुन तस्करीका कारण भारू अवमूल्यन भएको हुन सक्ने आशंका गर्छन् । नेपालबाट गएको सुनको रकम नेपाली रुपैयाँमा भुक्तानी दिनुपर्ने भएकाले माग बढेको र त्यसबाट भारू अवमूल्यन भएको उनीहरूको अनुमान छ ।
भारतले हालै सुनमा भन्सार महशुल बढाएकाले नेपालबाट यसको अनौपचारिक निकासी अझ बढ्ने दाबी गरिएको छ । रूस–युक्रेन युद्धपछि व्यापार घटेको, इन्धनको उत्पादनमा लगानीको अवसर खुम्चिएको र परिवर्त्य मुद्राको मूल्यमा पनि उतारचढाव आएकाले धेरैजसो लगानीकर्ताले बहुमूल्य धातुमा लगानी सुरक्षित देखेको जानकारहरूको भनाइ छ ।
पूर्वगभर्नर क्षेत्री पनि भारतले सुनमा भन्सार बढाएकाले नेपालबाट भारततर्फ सुनको अनधिकृत निकासी बढ्ने सम्भावना औंल्याउँछन् । नेपालको निकासी र राजस्व बढेर भारु अवमूल्यन भएमात्रै त्यसले नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने दाबी उनको छ । ‘अन्यथा अनौपचारिक माध्यममा हुने उतारचढावको नाफा/घाटा पनि अनौपचारिक नै हुन्छ । त्यसले अर्थतन्त्रलाई लाभ पुग्दैन,’ क्षेत्रीले भने ।
भारू अवमूल्यको यो अवस्था धेरै दिन नरहने पनि उनले दाबी गरे । ‘चामल, दालदेखि सवारीसाधन र ती साधनमा हाल्ने इन्धनसमेत भारतबाटै आउँछ । यस्तोमा भारतबाट आयात सधैं घट्ने हुँदैन,’ उनले भने, ‘व्यापार लयमा फर्किनेबित्तिकै पुरानै अवस्थामा पुग्छ ।’