काठमाडौं। नेपाल र भारतबीच विद्युत आयात–निर्यातका लागि इनरुवा पूर्णिया र नयाँ लम्की (दोदोधारा) र बरेली ४०० केभी प्रशारण लाइन बनाउने सहमति भएको छ। इनरुवा–पूर्णिया सन् ०२७/०२८ र नयाँ लम्की–बरेली ०२८/०२९ सम्ममा सम्पन्न गर्ने गरी कार्यान्वयनमा लैजाने दुई देशका अधिकारीहरूबीच निर्णय भएको छ ।
नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १०औं बैठकले दुई मुलुकबीचको विद्युत प्रशारण लाइन विस्तार र व्यापार प्रवर्द्धनमा महत्वपूर्ण निर्णय गरेको हो ।
नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालका सचिव दिनेशकुमार घिमिरे र भारत सरकारको विद्युत मन्त्रालयका सचिव आलोक कुमारको सहअध्यक्षतामा शनिबार भारतको राजस्थानस्थित माउन्ट आबुमा बैठक भएको थियो।
नेपालले उक्त प्रशारण लाइनहरू नयाँ बुटवल–गोरखपुर प्रशारण लाइनको लगानी मोडालिटमै बनाउने प्रस्ताव गरेको थियो । लगानी मोडालिटीलाई चाँडै टुंग्याउने सहमति भएको छ ।
यी दुई प्रशारण लाइन निर्माण भएपछि दुई मुलुकबीचको विद्युत आयात निर्यातका लागि ४०० केभी क्षमताका पाँच वटा प्रशारण लाइनहरू हुनेछन् ।
नयाँ बुटवल–गोरखपुर लाइन कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता छिट्टै सम्पन्न गर्ने र लाइन मार्च २०२५ सम्ममा निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।
हाल सञ्चालनमा रहेको ढल्केबर मुजफ्फरपुर ४०० केभी पहिलो अन्तरदेशीय प्रशारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ६०० मेगावाटबाट बढाएर ८०० मेगावाट पुर्याउने निर्णय भएको छ ।
बैठकले संखुवासभामा भारतीय सरकारको स्वामित्वको सतलज जलविद्युत निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माणाधीन ढल्केबर सीतामढी (भारत) ४०० केभी प्रशारण लाइनबाट समेत विद्युत आदान प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिएको छ ।
संयुक्त निर्देशक समितिको ११ औं बैठक ६ महिनापछि चितवनमा बस्ने निर्णय भएको छ ।