काठमाडौं। वाणिज्य बैंकहरूले कर्जामा लिने औसत ब्याजदर एक दशकपछि फेरि उच्च भएको छ। पछिल्लो एक दशकमा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर विश्लेषण गर्दा चालू वर्ष पुससम्मको औसत ब्याजदर पछिल्लो दशककै उच्च हो।
२०६९ असारमा १३.६ प्रतिशत हरेको ब्याजदर २०७९ पुसमा आइपुग्दा १२.७९ प्रतिशत पुगेको छ। यसले एक दशकमा ब्याजदर उतारचढाव झल्काउँछ।
२०७२/७३ मा ८.८६ प्रतिशत रहेको ब्याजदर बिस्तारै बढ्ने क्रम सुरु हुँदै २०७४/७५ मा १२.२९ प्रतिशत पुगेको थियो। त्यसपछि घट्न थालेको ब्याजदर २०७७/७८ मा ८.४३ प्रतिशतमा सीमित भयो।
कोरोना महामारी अवधिमा ऋणको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेका थिए। जब ऋणको ब्याज घट्न थाल्छ, त्यसपछि कर्जाको माग बढ्ने अवस्था आउँछ।
उत्पादनमूलक क्षेत्रभन्दा अन्य क्षेत्रमा उच्च कर्जा माग भएपछि नेपाल राष्ट्र बैंकले २०७८/७९ को मौद्रिक नीतिबाट नै ब्याज बढाउने रणनीति लिएको थियो। जसको परिणाम २०७८/७९ मा ब्याजदर ११.६२ प्रतिशत पुग्यो भने चालू २०७९/८० पुससम्म पनि ब्याजदर बढिरहेकै थियो।
तर, चालू वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षाले ‘ओभरनाइट’ तरलता सुविधाको ब्याजदर १.५ प्रतिशत बिन्दुले घटाएको छ। त्यसो त नेपाल बैंकर्स संघले पुसमसान्तमै माघदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १.१३ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको थियो।
तर, पुसमा बैंकहरूको औसत ब्याजदर बढिरहेका कारण माघदेखि कर्जाको ब्याजदर भने केही बढिसकेको छ। राष्ट्र बैंकको मौद्रिक नीति समीक्षाको प्रभाव र वाणिज्य बैंकले निक्षेपमा घटाएको ब्याजदरको प्रभाव आगामी वैशाखमा देखिने छ।
वैशाखमा सामान्यतः बैंकहरूको आधारदर घट्ने र त्यसले ब्याजदरको प्रभाव सकारात्मक बनाउने आँकलन गर्न सकिन्छ। तर, त्यसका लागि अन्य कुरा यथावत हुनुपर्छ।