काठमाडाैं। जगान्नाथपुरीस्थित गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले पशुपतिनाथ मूल मन्दिरअघि रहेको आद्य शंकराचार्यकाे मन्दिर उद्घाटन गरेका छन्।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त मन्दिर केही समयअघि पुनःनिर्माण भएको थियो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिमवतखण्डको नेपाल सुरक्षित भएपछि नै भारत पनि सुरक्षित हुने र वैदिक सनातन दर्शनले नै यो क्षेत्रको सुरक्षा कवचका रुपमा काम गर्ने बताए।
शंकराचार्य मठका पीठाधीश डा. रमणानन्द गिरी, गुरुकुल परिषद्का अध्यक्षसमेत रहेका सन्त डा. केशवानन्द गिरीलगायतले आद्य शंकराचार्य आएर बसेकैले यो मठलाई शंकराचार्य मठ नामकरण गरिएको र यहाँको भ्रमण गरेकैले पशुपति क्षेत्रको महत्व विश्वमै बढेको बताए।
वैदिक सनातनी परम्परामा आद्य शंकराचार्यलाई भगवान् शिवको अवतारका रुपमा लिइन्छ। आद्य शंकराचार्यले नै सनातन धर्म, संस्कृतिको रक्षाका लागि भारत वर्षका चार कुनामा चार मठ स्थापना गरेका थिए। ती मठ अहिले पनि आद्य उहनले नै बनाएको नियमअनुसार सञ्चालन भइरहेको छ।
आद्य शंकराचार्य २८–३० वर्षको उमेरमा नेपाल आएका थिए। इसापूर्व ४७८ उनी नेपाल आउँदा लिच्छवि राजा शिवदेवले शासन गरेको विश्वास गरिन्छ। शंकराचार्य नेपाल आएकोे समाचारले समस्त सनातन धर्मावलम्बीको हृदयमा उत्साहको सञ्चार भएको र दर्शन गर्न मानिसको ठूलो भीड लागेको थियो।
शकंराचार्य आफैंले पशुपतिनाथ मन्दिरको प्राङ्गणमा बसेर सबैलाई धर्मोपदेश दिन्थे। आचार्यद्वारा गरिएको मधुर शास्त्रीय व्याख्या सुनेर श्रोताको हृदय आनन्दले गदगद थिए। यसरी नेपालमा हिन्दू धर्ममा नवजागरण देखिन थाल्यो। आचार्यका शिष्यले सहरमा घुमीघुमी धर्म उपदेश गर्न थाले।
यहाँका ब्राह्मणलाई उनीहरूले नित्य नैमित्तिक कर्म–अग्निहोत्र, पञ्च देवताको पूजा र पञ्च महायज्ञको शिक्षा दिन थाले। साधारण जनताको अनुरोधमा वेद पारङ्गत ब्राह्मणले विभिन्न स्थानमा गएर वर्णाश्रम धर्मको प्रचार र वैदिक धर्मको अनुष्ठान गर्न थाले। आद्य शंकराचार्य आएर बसेकाले यहाँ मन्दिर र मठ स्थापना गरिएको हो।