काठमाडौं। विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको साढे ५ अर्बभन्दा बढी ऋणको साँवा–ब्याज नतिरेको फेला परेको छ। प्रसाईंले कतिपय बैंक तथा वित्तीय संस्थालाईं गत असारदेखि नै साँवा–ब्याज बुझाएका छैनन् भने कतिपय बैंकलाई असोजदेखि नै बुझाउनुपर्ने रकम नदिएका हुन्।
प्रसाईंले वाणिज्य बैंक तथा फाइनान्स कम्पनीबाट साढे ५ अर्बभन्दा बढी ऋण लिएका छन्। तर, हरेक त्रैमासिकमा बुझाउनुपर्ने रकम नियतवस नतिरेको ऋण दिने बैंकरहरू बताउँछन्। नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले पाँच बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन्।
उनले नबिल (तत्कालीन एनबी) बैंकबाट ७६ करोड, प्रभु बैंकबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगाबाट ६५ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब र लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख रुपैयाँ ऋण लिएका छन्। त्यसैगरी गुडविल फाइनान्सबाटसमेत ११ करोड ऋण लिएका प्रसाईंले बुझाउनुपर्ने साँवा–ब्याज बैंक तथा वित्तीय संस्थालाई नदिएका हुन्।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यका अनुसार प्रसाईंले असारदेखि ऋणको साँवा–ब्याज भुक्तानी गरेका छैनन्। तत्कालीन जनता बैंकबाट प्रसाईंले १ अर्ब रुपैयाँ ऋण लिएका थिए। पछि जनता ग्लोबल आइएमईमा मर्ज भएपछि दायित्व ग्लोबलमाथि आएको थियो।
‘असारसम्म प्रसाईंको पेमेन्ट ठिकठाक थियो,’ बज्राचार्यले क्यापिटल नेपालसँग भने, ‘त्यसयता उनले अहिलेसम्म बैंकलाई बुझाउनुपर्ने रकम बुझाएका छैनन्।’
त्यसैगरी प्रसाईंले तत्कालीन एनसिसी बैंकबाट लिएको १ अर्ब ऋणको असोज महिनामा बुझाउनुपर्ने ब्याज पनि बुझाएका छैनन्। बैंक स्रोतका अनुसार असोजदेखि नै प्रसाईंले बैंकलाई बुझाउनुपर्ने ब्याज तिरेका छैनन्, तर पुसको ब्याज माग्दा उल्टै बैंकलाई धम्क्याए।
त्यसैगरी प्रभु बैंकबाट प्रसाईंले १ अर्ब २० करोड रुपैयाँ ऋण लिएका छन्। प्रसाईंले प्रभु बैंकलाई असारदेखि ब्याज बुझाएका छैनन्। बैंक तथा वित्तीय संस्थालाई बुझाउनुपर्ने किस्ता, साँवा र ब्याज नबुझाएका प्रसाईं यतिखेर असल ऋणीलाई पनि भड्काउने अभिव्यक्ति दिइरहेका छन्।
बैंकबाट लिएको ऋण तिर्न नपरोस् भनेर अनेक तिकडम रचिरहेका प्रसाईंले सर्वसाधारणले राखेको निक्षेपमाथि रजाइँ गर्न खोजेका छन्। ‘प्रसाईं आफूले लिएको ऋण तिरेका छैनन्,’ सिइओ बज्राचार्यले भने, ‘पूर्वमा जो–जसले ऋण लिएका व्यवसायी छन्, उनीहरूलाई ऋण तिर्न ताकेता गर्दा उल्टै धम्की दिइरहेका छन्।’
प्रसाईंको यस्तो हर्कतले समग्र वित्तीय क्षेत्र नै धराशयी हुने बैंकरहरूको विश्वास छ। प्रसाईं आफैंले एक सार्वजनिक कार्यक्रममा बैंकबाट लिएको एक रुपैयाँ ऋण पनि नतिर्ने अभियान चलाउन भनेका छन्।