तनहुँ। तनहुँको दमौलीबाट चितवनको नारायणघाट निस्कने वैकल्पिक मार्गको सुरुवाती ट्र्याक खोलिएको करिब ३१ वर्ष भयो ।
तर,अझै पनि यस बुद्धसिं मार्ग स्तरोन्नतिको कार्य प्राथमिकतामा नपर्दा ओझेलमा परेको छ। ३४ किलोमिटर दूरी रहेको उक्त मार्गमा खाल्डाखुल्डी र खोलानालाका कारण यात्रुले सास्ती खेप्दै आएका छन् ।
यस मार्गबाट नारायणघाट हुँदै दमौली पुग्न पृथ्वीराजमार्गको यात्राभन्दा २२ किलोमिटर दूरी छोटो पर्छ । तर आँबुखैरेनी–५ र भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथि मोटरेबल पुल नबन्दा यात्रु दमौलीदेखि आँबुखैरेनी–५ घुमाउने घाटसम्म यात्रा गर्न बाध्य छन्। वर्खायाममा सवारीसाधन चलाउन कठिन भएको ग१ख ५८४९ नं को मिनी बसका चालक चन्द्रबहादुर भुजेलले बताए।
नारायणघाटबाट मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै दमौलीसम्मको दूरी ७४ किलोमिटर छ । तर सेती नदीको तिर हुँदै दमौली निस्कन यस मार्गबाट जम्मा ५२ किलोमिटरको यात्रा तय गरे पुग्छ । त्रिशूलीमाथि पुल नबन्दा घुमाउनेघाटमै पुगेर सवारीसाधन रोकिनुपर्ने अवस्था छ ।
झापा, धरान, बुटवल, भैरहवालगायत तराईदेखि पोखरा, पर्वत, बागलुङ, स्याङ्जा, म्याग्दीलगायत जिल्ला पुग्न २२ किलोमिटर छोटो दूरी पर्ने यस वैकल्पिक मार्ग प्राथमिकतामा नपर्दा आफूहरुले सास्ती खेप्दै आउनु परेको बुद्धसिं मार्ग उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङले बताए ।
भरतपुर महानगरपालिका–२९ र आँबुखैरेनी गाउँपालिका–५ जोड्न त्रिशूलीमाथि पक्की पुल नबन्दा यो मार्ग ओझेलमा परेको स्थानीयवासीको भनाइ छ ।
घुमाउनेघाटका केही पसलमा झोलुङ्गेपुलबाट खाद्यान्न ओसारेको स्थानीय मजदुरले २५ किलोग्राम चामलको प्रतिबोरा ३० देखि ५० रुपैयाँसम्म तिर्नुपर्ने आँबुखैरेनी–५ घुमाउनेघाटकी व्यापारी चन्द्रकला गुरुङले बताए ।
उक्त मार्गमा पहिलो प्राथमिकता पुल निर्माणमा हुनुपर्ने स्थानीयको माग छ । पुल निर्माण सम्पन्न भए दैनिक यातायात सञ्चालन हुने र स्थानीय उत्पादनलाई सजिलै बजारसम्म पुर्याउन सकिने छ ।
पुल निर्माणसहित उक्त मार्गमा दैनिक यातायात सञ्चालन हुन सके उक्त क्षेत्रको विकट बस्ती धरमपानी, छिम्केश्वरी, देउराली, देवघाटको उत्तरी क्षेत्र, छिपछिपे र वैदीका हजारौँ बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने बुद्धसिं मार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष विश्व वास्तोलाले बताए ।
व्यास–१ दमौली बसपार्कदेखि आँबुखैरेनी–५ घुमाउनेघाटसम्म यस मार्गको कूल लम्बाइ ३४ किलोमिटरमध्ये १० किलोमिटर पक्की सडक निर्माणका लागि ठेक्का सम्झौता भइसकेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
चालू आर्थिक वर्षमै सक्ने गरी २०७९ भदौ २७ गते सफल मैनाचुली जेभीले बसपार्कदेखि १० किलोमिटर सुँडेको पुलसम्म सात मिटर चौडा हुने गरी पक्की गर्ने कार्य गरिरहेको इन्जिनियर धनमाया मिश्रले जानकारी दिए ।
“बुद्धसिंमार्गको १० किलोमिटर पक्की सडक यसै आर्थिक वर्षमा सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ”, उनले भने, “त्रिशूलीमा मोटरेबल पुल निर्माण हाम्रो जिम्मेवारीभित्र पर्दैन ।”
उक्त मार्गको कूल ३४ किलोमिटर सडक खण्डमध्ये आठ किलोमिटर तनहुँ हाइड्रो पावरको जिम्मेवारीमा पर्ने र बाँकी १६ किलोमिटर पक्की सडक निर्माणका लागि समपूरक योजनामा पार्नका लागि प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस