काठमाडौं। नेपाली पासपोर्ट (राहदानी) वाहकले विश्वका ३७ देशमा ‘अनअराइभल भिसा’ पाउने गरेको नयाँ सूची सार्वजनिक भएको छ।
तर, यो खुसीको कुरा भने होइन। यसरी अनअराइभल भिसा पाउने पासपोर्टवाहक जापान र सिंगापुरका नागरिक सबैभन्दा भाग्यमानी हुन्। ती दुवै देशका पासपोर्टवाहकलाई संसारका १ सय ९३ देशमा अनअराइभल भिसा दिने गरिन्छ।
अस्थिर राजनीतिले बारम्बार सरकार परिवर्तन भइरहने देशमध्ये नेपाल पनि एक हो। यही कारण नेपालको पासपोर्ट कमजोर बनेको छ। नेपाली पासपोर्टवाहकले केवल ३७ देशमा मात्र सहज भिसा पाउने गरेका छन्। यो सूचीमा नेपाल १ सय ९३औं स्थानमा छ।
राहदानी (पासपोर्ट) अनुसार यात्राका लागि उडान, बुकिङ गर्न, होटल खोज्न र त्यसपछि मात्रै जान सहज हुन सक्छ। तर, विश्वका धेरै देशका नागरिकलाई यो त्यति सजिलो भने छैन।
धेरै पासपोर्टवाहकले पर्यटक भिसा प्राप्त गर्न आवश्यक छ। यी भिसा प्राप्त गर्न सामान्यतया गन्तव्य देशको सरकारबाट पूर्वस्वीकृति लिनुपर्छ। स्वीकृतिका लागि हप्ता वा महिना दिनसम्म लाग्न पनि सक्छ। भिसा नपाउन पनि सक्ने सम्भावना रहन्छ।
जापान र सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली
जापान र सिंगापुरका पासपोर्टवाहक पूर्वस्वीकृति बिना संसाका सबै १ सय ९३ देश भ्रमण गर्न सक्षम छन्। अफगानीहरूले २७ देशमा मात्र समानस्तरको सहजतासाथ भ्रमण गर्न सक्छन्।
यस्तै तेस्रो नम्बरमा दक्षिण कोरिया, चौथो जर्मनी, पाँचौं स्पेन, छैठौं फिनल्यान्ड, सातौं इटाली, आठौं लक्जेम्बर्ग, नवौं अस्ट्रिया र १० औं स्थानमा डेनमार्क छ। अमेरिका १७ औं स्थानमा छ।
कुनको देशका पासपोर्ट कति शक्तिशाली?
भिसा केही देशद्वारा आगन्तुकलाई ‘ट्र्याक’ गर्न सजिलो बनाउन लगाइन्छ। पासपोर्टवाहक अबैध आप्रवास, अपराध, आतंकका कार्य वा गुप्त निगरानीका लागि जोखिम हुन सक्छ कि भनेर मूल्यांकन गर्न अनुमति दिइन्छ।
रुस र चीनमा अमेरिकी पासपोर्टवाहकलाई यात्रा गर्नुअघि भिसा प्राप्त गर्न आवश्यक छ। १ सय ८७ देशमा भिसारहित पहुँच भएको नर्वे, न्युजिल्यान्ड र स्विजरल्यान्डको बराबर छ।
६६औं स्थानमा रहेको युक्रेनको राहदानीले गत दशकमा ठूलो सुधार गरेको छ। युक्रेनीले १ सय ४४ देशमा भिसारहित पहुँच पाउँदै आएका छन्। रुस र युक्रेन द्वन्द्वपछि यो कसरी परिवर्तन हुन्छ, त्यो हेर्न बाँकी छ।
सबैभन्दा कमजोर पासपोर्ट भएका देश
अत्यन्त कम शक्तिशाली पासपोर्ट युद्धग्रस्त र राजनीतिकरूपमा अस्थिर राष्ट्रहरूको छ। यात्राका लागि भिसा सामान्यतया अबैध गतिविधि रोक्न आवश्यक पर्ने हुनाले यी देशका जनतालाई रोक लगाइन्छ, चाहे त्यो न्यायोचित हस् वा नहोस्।
सबैभन्दा कमजोर पासपोर्ट हुनेमा उत्तर कोरिया पनि पर्छ। उत्तर कोरियाको पासपोर्टवाहकलाई ४० देशमा भिसामुक्त पहुँच छ। यो अन्य आठ पासपोर्टवाला देशभन्दा माथि छ।
धेरैजसो उत्तर कोरियालीले अध्ययन, एथलेटिक प्रतियोगिताका लागि अत्यन्त विशेष परिस्थितिमा मात्रै विदेश भ्रमण गर्छन्। तर, प्राविधिकरूपमा उत्तर कोरियालीले बिनाभिसा हाइटी सेन्ट, भिन्सेन्ट, ग्रेनाडाइन्स, प्यालेस्टाइन र किर्गिजस्तान जस्ता देश भ्रमण गर्न सक्छन्।
दक्षिण एसियामा पाकिस्तानको पासपोर्ट नेपालको भन्दा पनि कमजोर छ। पाकिस्तानको पासपोर्टवाहकले केवल ३२ देशमा मात्र अनअराइभल भिसा सुविधा पाएका छन्। पाकिस्तान १ सय ९६औं स्थानमा छ।
विश्वको सबैभन्दा कमजोर पासपोर्ट युद्धग्रस्त अफगानिस्तानको छ। अफगानिस्तानका नागरिकले केवल २७ देशमा मात्रै अनअराइभल भिसा सुविधा पाएका छन्। यसैगरी श्रीलंकाका नागरिकले ४१, बंगालादेशीले ४०, भुटानीले ५२, भारतीयले ६०, चिनियाँले ८१ र माल्दिभ्सले ८९ देशमा अनअराइभल भिसा सुविधा पाएका छन्। भुटान १ सय ६३औं र भारत १ सय ४२ स्थानमा रहेको छ।
विश्वका केही देशका पासपोर्टवाहकले पछिल्लो एक दशकमा अन्य देशको पहुँचमा उल्लेखनीय सुधार भएको पाएका छन्। अर्कातर्फ, अन्य देशले यसबाट तल झरेका छन्। केहीले सन् २०१३ बाट गन्तव्यमा पहुँच पनि गुमाएका छन्। यमन र सिरिया पहिलो स्थानमा छन् जसले विगत १० वर्षमा नौ देशमा अनअराइभल भिसा सुविधा गुमाएका छन्।
नेपाललसहित १५ देशको नकारात्मक परिवर्तन
समग्रमा पासपोर्टको शक्तिले संसारको राजनीतिक अवस्थालाई लगभग प्रत्यक्षरूपमा प्रतिविम्बित गर्दछ। विश्वशक्ति र धनी राष्ट्रमा सामान्यतया यात्राको निःशुल्क हुन्छ। तर, राजनीतिक अस्थिरता वा युद्धको सामना गर्नेहरूले विदेश जान चाहँदा प्रायः अवरोध पनि सामना गर्छन्।
पासपोर्टमा नकरात्मक परिवर्तन हुने १५ देशमध्ये नेपाल आठौं स्थानमा छ। नेपालसँगै पाकिस्तान, बंगलादेश, अफगानिस्तान, इराक, नाइजेरिया, सिरिया र उत्तर कोरियालगायत छन्।
(भिजुअल क्यापटलिस्टको सहयोगमा)