काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई शाखा कार्यालय खोल्नका लागि निर्देशिका जारी गरेको छ ।
बोर्डले शाखा कार्यालय खोल्दा प्रति शाखा एक करोड ५० लाख रुपैयाँका दरले चुक्ता पुँजी कायम हुनुपर्ने व्यवस्था गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरिदिएको हो । उक्त निर्देशका फागुन ४ गतेदेखि लागू भएको हो ।
धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी यस निर्देशिका लागू गरिएको बोर्डले बताएको छ ।
धितोपत्र दलाल व्यवसायीको मूख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्न स्वीकृति दिइने छैन । तर, नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्न बोर्डले स्वीकृति दिन सक्ने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।
यस्तै, निर्देशिकाअनुसार ब्रोकरले काठमाडौं उपत्यका बाहिर कम्तिमा ३ वटा शाखा खोलेपछि मात्रै काठमाडौं उपत्यकाभित्र शाखा खोल्न सक्नेछन् ।
शाखा कार्यालय खोल्न चाहाने व्यवसायीको नेटवर्थ चुक्ता पुँजी भन्दा बढी हुनुपर्नेछ । साथै, नेटवर्थ सम्बन्धी विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यता प्राप्त चाटर्ड एकाउटेन्टबाट प्रमाणित भएको हुनुपर्नेछ ।
ब्रोकरले खोलेका शाखा कार्यालयहरुमा खटाइएका कर्मचारीहरुलाइै जिम्मेवारीमा पठाउनु अघि नै ग्राहक व्यवस्थापन, कारोबार प्रणाली, राफसाफ तथा फछ्र्यौट, जोखिम व्यवस्थापन, धितोपत्र बजारसम्बन्धी प्रचलित कानून, स्थापित संस्था तथा तिनीहरुको काम, कर्तव्य अधिकार लगायतका विषयमा पर्याप्त जानकारी हुने गरी मूख्य कार्यालयबाट तालिम दिनुपर्नेछ ।