काठमाडौं। दरबारमार्गस्थित पाँचतारे होटल याक एन्ड यती होटलमा गैरकानुनीरूपमा अस्ट्रियन महिला मोनिका पेट्रा सेइब्लरले १५ महिनादेखि जागिर खाइरहेकाे खुलासा भएको छ। श्रम स्वीकृति नै नलिई ‘बिजनेस भिसा’ का आधारमा याक एन्ड यतीमा महाप्रबन्धक (जिएम) पदमा जागिर खाइरहेकी हुन्।
मोनिकालाई २०७८ मंसिर ९ मा ब्लु इनर्जी प्रालिको लगानीकर्ताका रूपमा सन् २०२१ नोभेम्बर २८ मा ६ महिनाका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३० (२) बमोजिम व्यावसायिक भिसा सिफारिस गरिएको थियो।
तर, मोनिकाले भने व्यावसायिक भिसा लिएर गैरकानुनी बाटोबाट याक एन्ड यतीमा जिएमका रुपमा काम गर्दै आएकी छिन्। याक एन्ड यतीले मोनिकालाई अस्ट्रियाबाट जिएमकै रूपमा काम गर्न नेपाल बोलाएपछि श्रम स्वीकृतिका लागि पर्यटन विभागमा सिफारिस मागिएको थियो।
विभागले भने तत्कालीन अवस्थामा याक एन्ड यतीले सरकारलाई क्यासिनो सञ्चालनवापतको रोयल्टी तिर्न बाँकी रहेको भन्दै सिफारिस दिन अस्विकार गरेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिए पनि अस्विकृत गरेको थियो।
श्रम स्वीकृति नपाएपछि याक एन्ड यतीका सञ्चालकले ब्लु इनर्जीका नाममा फर्जी लगानीकर्ता बनाएर मोनिकालाई उद्योग विभागबाट व्यावसायिक भिसाका लागि सिफारिस लिएको थियो।
मोनिकाले प्रचलित श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ विपरीत उद्योग विभागबाट २०७८ मसिर १० मा ब्लु इनर्जी प्रालिका लागि व्यावसायिक भिसा लिएर काम गरिरहेकी छिन्।
‘व्यावसायिक भिसा लिएर जागिर खानु गैरकानुनी हो,’ श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका प्रवक्ता मणिनाथ गोपले क्यापिटल नेपालसँग भने, ‘होटलका कर्मचारीबाट उजुरी परेको छैन, मौखिक जानकारी आएकाले अध्ययन अगाडि बढाएका छौं।’
प्रवक्ता गोपका अनुसार पर्यटन विभागले सुरुमै श्रम स्वीकृतिका लागि सिफारिस नदिएपछि विभागको तथ्यांकमा मोनिका नेपालमै छैनन् भन्ने हुन्छ।
‘श्रम स्वीकृति नपाएपछि मोनिकाले बिजनेस भिसा कसरी पाइन् भन्ने विषय पनि अध्ययनको पाटो हो,‘ प्रवक्ता गोपले भने, ‘हामीले अहिले अध्ययन सुरु गरेका छौं, दोषी देखिए कारबाही गर्छौं।’
लामो समयदेखि गैरकानुनी तरिकाले काम गरिरहेको भन्दै २०७९ भदौ १५ मा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा ‘कानुनविपरित विदेशी श्रमिकलाई काममा लगाउने प्रष्ठिान र विदेशी श्रमिकसमेतलाई आवश्यक कारबाही गरी पाउँ’ भन्दै एकीकृत ट्रेड युनियन महासंघले उजुरी दिएको थियो।
तर, विभागले भने सम्बन्धित प्रतिष्ठान वा कर्मचारीबाट आधिकारिक उजुरी नआएकाले अध्ययन अगाडि नबढाएको जनाएको छ।
विभागले मोनिकासहित उनका छोरा एन्टोनलाई समेत विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३० (२) बमोजिम २८ नोभेम्बर २०२१ देखि ६ महिनाका लागि व्यवासायिक भिसाका लागि सिफारिस गरेको देखिन्छ।
याक एन्ड यतीमा कार्यरत एक कर्मचारीका अनुसार मोनिका जिएमकै रूपमा कार्यरत रहे पनि उनले आफ्नो कार्यकक्षमा जिएमको कुनै विवरण राखेकी छैनन्। तर, होटलकै विभिन्न बैठकमा जिएमकै रूपमा प्रस्तुत हुने गरेकी छिन्। तर, होटलको आधिकारिक वेबसाइटमा भने अध्यक्षबाहेक अन्य कर्मचारीका कुनै विवरण राखिएको छैन।