काठमाडौं। इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को फिल्ड अडिसन हुने भएको छ ।
यी दुवै कार्यक्रमहरूको फिल्ड अडिसन नेपालको विभिन्न सहर सँगै इन्डियाको सिलिगुरीमा हुने भएको छ। जसअनुसार नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ।
अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्। साथसाथै देश विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्नुपर्छ।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ। त्यसबाहेक ‘मेरो डान्स यूनिभर्स’को संस्कृतिक समुह विधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिन सक्नुहुनेछ ।
संस्कृतिक समुह मार्फत सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्नेछैन। डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ ।
फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति र दुःखमा परेकालाई मद्दत गर्नु हो । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो।’
‘मेरो भ्वाइस युनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्। साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।
यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्नेछन्। उनले यस अघि पनि धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रियालिटी शोहरुको निर्देशन गरिसकेका छन जस्तै नेपाल आइडल, बुगी–बुगी, नेपाल लोक स्टार, सारेगमपा लिल्च्याम्पस्।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस युनिभर्स’का विजेताले नेपाली १ करोड रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
डान्स युनिभर्स’को संस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। साथै फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडालगायत युरेपेली देशहरूबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।