काठमाडौं। नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (इभी) को प्रभाव दिनहुँ बढिरहेको छ। चार्जिङ स्टेसनसहित पूर्वाधार व्यवस्था पर्याप्त नभए पनि इभी भित्रिने क्रम भने बढिरहेको छ।
नेपालमा लामो दुरीको यात्रामा जानुपरेको खण्डमा चार्जिङ मेसिनको व्यवस्था छैन भने उपत्यकामा नै पनि निकै कम मात्रामा चार्जिङ मेसिन रहेको पाइन्छ।
इभी भित्रिने क्रम बढ्दै गए पनि चार्जिङ स्टेसनसहित अन्य पूर्वाधारको राम्रो व्यवस्था नभएका कारण इभी किन्न हतार गर्न नहुने तर्क कतिपयले गर्दै आएका छन्। तर, इन्धन सवारीको तुलनामा इभी सस्तो पर्ने भएकाले मुलुकमा विद्युतीय सवारीको प्रभाव बढ्दै गएको देखिन्छ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८ सय ७ इभी भित्रिएकोमा चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामै १ हजार ७ सय ४९ भित्रिएका छन्।
यो तथ्यांक हेर्दा पनि यो वर्ष नेपालमा इभी ह्वात्तै बढेको पुष्टि हुन्छ। यहाँ नेपाली अटोमोबाइल बजारमा हाल बिक्री वितरणमा रहेका र भित्रिने क्रममा रहेका केही मुख्य चार पांग्रे इभीको चर्चा गरिएको छ:
टिगोर सेडान
नेपाली बजारमा टाटाको टिगोर सेडान लगभग १७ महिनादेखि बिक्रीमा छ। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यसलाई गत वर्ष भदौबाट बिक्री सुरु गरेको थियो। यो गाडी जिपट्रोन इलेक्ट्रिक टेक्नलोजीमा आधारित रहेर निर्माण गरिएको छ।
एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस डुअल टोन गरी टिगोर तीन भेरिएन्टमा उपलब्ध छ। एक्सएमको मूल्य ३१ लाख ४९ हजार रुपैयाँ, एक्सजेडको ३२ लाख ९९ हजार र एक्सजेड प्लस डुअल टोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ पर्छ।
टिगोर इभीमा प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएल लाइट, चाइल्ड सेफ्टी रियर डोअर लक, सिट बेल्ट रिमाइन्डर, एलइडी टेलल्याम्प, डुअल एयरब्याग, इबिडीका साथ एबिएस, रियरभ्यु क्यामेरा, रियर पार्किङ सेन्सरलगायत फिचर छन्।
टिगोर सेडानमा ५५ किलोवाट क्षमताको मोटरका साथमा २६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ। एआरएआईका अनुसार यसले सिंगल चार्जमा ३ सय ६ किलोमिटर रेन्ज प्रदान गर्छ। यसको पिक टर्क १ सय ७० न्युटन मिटर (एनएम) छ।
टाटाले यसमा आइपी६७ रेटेड ब्याट्री दिएको छ। यो ब्याट्रीलाई २५ किलोवाटको डिसी फास्ट चार्जरबाट शून्यदेखि ८० प्रतिशत चार्ज गर्न एक घन्टा लाग्ने कम्पनीको दाबी छ।
त्यसैगरी यसलाई १५ एम्पेयरको सामान्य चार्जरले ८.५ घन्टामा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। सेग्मेन्टकै लिडर बनेको टिगोर इभी अहिलेसम्म सिप्रदीले १ सय ९२ युनिट बिक्री गरिसकेको जानकारी दिएको छ।
हुन्डाई आयोनिक–५
विद्युतीय गाडीमध्ये हुन्डाईको आयोनिक–५ पनि नेपाली बजारमा बिक्री भइरहेको छ। नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय कार आयोनीक–५ नेपाल भित्र्याएको थियो।
हुन्डाईको ‘रिभोलुसनरी इलेक्ट्रिक ड्राइभ आर्किटेक्चर’ मा निर्माण भएको आयोनिक–५ मा रियर ह्विल ड्राइभ सिस्टम छ। साथै, यो कारमा सोलार वा भिजन रुफ, भेहिकल टु लोड, एम्बियन्ट मुड लाइट्स, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मोनिटर तथा भ्वाइस रिकग्निसन भेहिकल कन्ट्रोलजस्ता विशेषता छन्। हुन्डाई आयोनिक–५ ले ‘टप गियर इलेक्ट्रिक बेस्ट डिजाइन अवार्ड–२०२१’ समेत पाएको छ।
एटो–३
नेपाली अटोमोबाइल बजारमा चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ (बिवाइडी) को एटो–३ पनि निकै लोकप्रिय गाडी हो। नेपालका लागि बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले यो गाडी गत असोजमा नेपाली बजारमा सार्वजनिक गरेको थियो।
एटो–३ को मूल्य नेपालमा ८९ लाख ९० हजार तोकिएको छ। यसमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री छ।
यसलाई एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्ने क्षमता छ। यसमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम जडित छ जसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टम सुविधा उपलब्ध छ।
त्यस्तै हालैमात्र बिवाइडीले १ सय किलोवाट क्षमतायुक्त नयाँ भर्सनको एटो–३ बिक्री खुला गरेको छ।
कम्पनीले ६४ लाख ९० हजार रुपैयाँ मूल्य तोकेको यस गाडी नेपाली बजारमा बिक्री वितरणका लागि तयार पारेर बुकिङ खुल्ला गरिएको हो।
१ सय किलोवाट मोटर जडान भएको एटो–३ मा पनि ६०.४ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ। नयाँ भर्सनको एटो–३ मा कम्पनीले पिक पावर १ सय किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर दिएको छ भने यसले ३ सय १० एनएम टर्क प्रदान गर्छ।
यसमा सातवटा एयरब्याग, इलेक्ट्रिक पार्किङ ब्रेक, एबिएस, इएसपी, ट्रयाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इन्टिलिजेन्ट क्रुज कन्ट्रोल, अटोमेटिक ब्रेकिङ, फ्रन्ट कुलिजन वार्निङ, डोर ओप्पन वार्निङ, लेन डिपार्चर वार्निङ, लेन किप एसिस्ट, क्रस ट्राफिक अलर्टलगायत फिचर्स समावेश छन्।
फोटोन
नेपाली बजारमा फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान पनि उपलब्ध छ। एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोनको इलेक्ट्रिक भ्यान केही समयअघि नेपाल भित्र्याएको हो।
१४ र १७ सिट क्षमताका यी भ्यान कम खर्चका साथै वातावरणमैत्री रहेका छन्। फोटोनका यी भ्यानको ब्याट्री क्षमता ५०.२३ केडब्लुएच छ। यी भ्यानको रेन्ज सिंगल चार्जमा २ सय ३५ किलोमिटरसम्म छ।
यसको ८५ केडब्लु पावर तथा २ सय ९० एनएम टर्क छ भने फोटोनका भ्यान घरमा पनि चार्ज गर्न सकिने छ। फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यान काठमाडौंमा खरिद र टेस्ट ड्राइभका लागि उपलब्ध छन्। फोटोनका भ्यान शैक्षिक संस्था, होटल, रुट, ट्राभल्स एन्ड टुर्स र अन्य संस्थाका लागि उपयुक्त मानिन्छ।
टेस्ला मोडल–३
अमेरिकी कम्पनी टेस्लाको मोडल–३ पनि नेपाली बजारमा उपलब्ध इभी हो। यसमा २ सय ११ किलोवाट क्षमताको मोटर दिइएको छ। यसको स्ट्यान्डर्ड भेरिएन्टको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ।
टेस्ला मोडल–३ मा राज्यले लिएको नयाँ कर नीति अनुसार ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क लाग्छ। यसमा ५० किलोवाट आवरको ब्याट्री दिइएको छ। त्यस्तै टेस्लाले आफ्नो नयाँ मोडल–३ इलेक्ट्रिक कार ल्याउने तयारी गरेको छ। जुन अहिलेसम्मकै सबैभन्दा सानो र सस्तो मोडल रहेको छ।
टेस्लाले सुरुवाती चरणमा दुई भर्सन ल्याउने छ। बेसिक कारको आधिकारिक रेन्ज २ सय २० माइल हुनेछ र ५.६ सेकेन्डमा ६० माइल प्रतिघन्टाको गतिमा कुद्न सक्षम हुनेछ। लङ रेन्ज भर्सनले फुलचार्जमा ३ सय १० माइल कुदन सक्छ र ५.१ सेकेन्डमा शून्यदेखि ६० माइलको गति लिन सक्षम छ।
४.६९ मिटर लामो यी मोडलमा समान पाँच सिटको क्याबिन छ। बुट क्षमता–कारको अगाडि र पछाडि दुवै स्टोरेजसहित लगभग ४ सय २५ लिटर छ, जुन औडी र बिएमडब्लुमा प्रदान गरिएको ४ सय ८० लिटरभन्दा कम छ।