काठमाडौं। राजधानीको बुद्धनगरमा बुधबार राति ग्यास सिलिन्डर विष्फोटमा घाइते भएकी ८६ वर्षीया हरिकला भण्डारीको उपचार क्रममा बिहीबार बिहान निधन भयो। साेही दुर्घटनामा गम्भीर घाइते भएका उनका छाेरा सांसद चन्द्र भण्डारीकाे भारतमा उपचार भइरहेको छ।
बिहीबार नै दाङमा खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा दुईजना घाइते भए। तुलसीपुर उपमहानगरपालिका-१६ लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा आज बिहान खाना पकाउने ग्यास पड्किँदा सोही ठाउँका ५० वर्षीया कुसुम केसी र चितवन भरतपुर महानगरपालिका घर भई तुलसीपुर- १६ बस्ने २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।
२०७८ कात्तिक १९ मा ललितपुर मंगलबजारमा ग्यास सिलिन्डर विष्फाेट हुँदा एकै परिवारका चारजनाको ज्यान गयो। १० वर्षअघि सुनसरी इटहरी उपमहानगरपालिका–११ खनारका ८८ वर्षीय दुर्गाप्रसाद काफ्लेले यस्तै दुर्घटनामा परी ज्यान गुमाएका थिए।
माथि उल्लेख गरिएका घटनाह उदाहरणमात्र हुन्। ग्यास सिलिन्डर पड्किएर जनधनको ठूलो क्षति हुँदै आएको छ। पछिल्लो समय ग्यास सिलिन्डर पड्किएर वा लिक भएर हुने दुर्घटना दैनिकजसो सुनिन थालेको छ।
दैनिकजसो ग्यास सिलिन्डर विष्फोट हुँदासमेत उद्योग र यसलाई नियमन गर्ने निकाय भने मौन रहँदै आएका छन्। बुधबार र बिहीबार भएका दुई घटनाले यी निकायलाई सोच्न बाध्य पारेको छ।
नेपालमा १५ वर्षभन्दा पुरानो सिलिन्ड प्रयोग गर्न पाइँदैन। तर, बजारमा कति सिलिन्डर १५ वर्षभन्दा कमका छन् र कति सिलिन्डर १५ वर्ष पूरा भइसकेका छन् भन्ने यकिन तथ्यांक भने कुनै पनि निकायसँग छैन। खासगरी सिलिन्डरको गुणस्तर मापन गर्ने अधिकार पाएको नेपाल गुणस्तर तथा नापतौल विभागसँग समेत यसको कुनै तथ्यांक छैन।
विभागका प्रवक्ता ज्योति जोशी भट्टले ग्यास सिलिन्डरकाे गुणस्तर मापन कडाईसाथ गरिँदै आएको दाबी गरिन्।
`बिहीबार दुर्घटना भएको ग्यास सिलिन्डर कुन उद्योगको हो भन्ने अहिलेसम्म खुलेको छैन,´ प्रवक्ता भट्टले क्यापिटल नेपालसँग भनिन्,´ ‘के कारणले दुर्घटना भयो भन्ने अध्ययन भइरहेकाले अहिले नै गुणस्तरमा प्रश्न उठाइहाल्न मिल्दैन।´
सबै उद्योगहरका सिलिन्डरकाे गुणस्तर परीक्षण नियमित भइरहेको उनले जानकारी दिइन्। यसअघि भएका धेरै दुर्घटनामा मानवीय त्रुटिकै कारण भएकाे पाइएकाले अहिले भएका दुर्घटनामा अनुगमनको कमी नै हो भन्न नमिल्ने उनको तर्क छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना पछिल्लो समय ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप, नियमनकारी निकाय, उद्योगी र व्यापारीदेखि उपभोक्तामा समेत समस्या भएकाले दुर्घटना भइरहेको बताउँछन्।
व्यापारीले गुणस्तरमा भन्दा कमिसनमा बढी ध्यान दिने भएकाले पनि समस्या उत्पन्न भइरहेको उनको भनाइ छ। एकाध घटनाबाहेक अन्यमा ग्यास सिलिन्डर पड्केको नभई लिकेज भएर दुर्घटना भएकाे पाइएकाले यसमा उपभोक्तासँगै विक्रेताको सचेतनामा कमी भएको ठहर उनले गरेका छन्।
एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ग्यास प्रयोग गर्ने विधि राम्रोसँग उपयोग नगर्दा पछिल्लो समय दुर्घटना भइरहेको बताए।
दुर्घटनाबाट बच्न खाना पकाइसकेपछि ग्यास बन्द गरिएको छ कि छैन भनेर हेर्ने, झ्यालढाेका खुला राख्ने, सिलिन्डरलाई भान्सा बाहिर राख्ने, रेगुलेटर र पाइप गुणस्तरीय नहुँदा यस्तो समस्या आउने गरेको उनकाे भनाइ छ। भान्सामा पालना गर्नुपर्ने नियमसमेत कतिले गर्न नसकेको उनको दाबी छ।
`जति दुर्घटना भएका छन्, ती सबै सुरक्षाका विधि नअपनाएका कारण भएको देखिन्छ,´ अध्यक्ष मल्लीले भने, `गुणस्तरमा कुनै पनि उद्योगले कम्प्रमाइज गरेका छैनन्।’
नेपालमा गुणस्तर चिह्न अनिवार्य गरेको सात वर्ष भयो। हरेक तीनदेखि ६ महिनामा गुणस्तर विभागबाट ग्यास उद्योगमा अनुगमनका लागि जाने गरिएकाे छ। अनुगमनका आधारमा गुणस्तर नवीकरण हुने गरेकाले उद्योगमा त्रुटि हुने सम्भावना न्यून रहेको अध्यक्ष मल्ली बताउँछन्।
नेपाल आयल निगमका सहप्रवक्ता पुष्कर कार्कीले घटनाका विषयमा अध्ययन भइरहेकाले कसकाे दोष भन्ने नखुलेको जानकारी दिए। कुन कम्पनीको सिलिन्डर थियो भन्ने जानकारीसमेत आइनसकेकाले गुणस्तरको विषयमा पनि अध्ययन हुने उनको भनाइ छ।
नेपाल आयल निगमबाट एलपी ग्यास कारोबार गर्न इजाजत लिएका ६२ कम्पनीमध्ये ४५ वटाले मात्र नेपाल गुणस्तर चिह्न लिएका छन्। हाल १ करोड ३१ लाख सिलिन्डर बजारमा रहेको उद्योगीको भनाइ छ।
सिलिन्डर उत्पादन भएको मितिबाट १० वर्षसम्म प्रयोग गर्न सकिने उद्योगीको भनाइ छ। सिलिन्डरको भारबहन क्षमता, प्रयोग गर्न सकिने छ वा छैन भनेर सिलिन्डरको हाइड्रोलिक परीक्षण गरिन्छ।
हाइड्रोलिक परीक्षण गर्दा समस्या नदेखिएसम्म सिलिन्डर प्रयोग हुने गरेको छ। सिलिन्डरको म्याद ग्राहक आफैंले थाहा पाउन सक्नेछन्।