ढाका। गैरन्यायिक हत्याको आरोप लागेको बंगलादेशको एक विशिष्ट प्रहरी इकाइमा सुधार नभएसम्म अमेरिकाले प्रतिबन्ध नहटाउने अमेरिकाले जनाएको छ।
विदेश मन्त्रालयका डेरेक चोलेटले यसै साता दक्षिण एसियाली देशको भ्रमण गरेका थिए। उनले ढाकामा सरकारी प्रतिनिधिहरूसँग सुरक्षा सहयोगका बारेमा छलफलसमेत गरेका थिए।
वासिङ्टनले मानव अधिकार उल्लंघन गरेको आरोपमा र्यापिड एक्सन बटालियन (आरएबी) माथि प्रतिबन्ध लगाएपछि बंगलादेशको भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारीमध्ये उनी एक हुन्।
'यदि कही कतै लोकतन्त्रमा समस्या आयो भने यसले हामी सबै मिलेर के गर्न सक्छौं भन्ने कारण खोज्नु जरूरी छ,' चोलेटले बुधबार आफ्नो भ्रमणको समापनमा भने।
'हामी बंगलादेशलाई कानून र सुरक्षाको शासनलाई मजबुत बनाउन निरन्तर सहयोग गर्न प्रतिबद्ध छौं,' उनले भने, 'जबसम्म हामी जवाफदेहिता देख्दैनौं, हामी दिगो सुधार गर्न सक्दैनौं।'
ढाका र वासिङ्टनबीच सामान्यतया न्यानो सम्बन्ध छ। उनीहरूले सुरक्षाका मुद्दाहरूमा सहयोग गर्छन् र बंगलादेशले प्रायःसंयुक्त राष्ट्रसंघमा संयुक्त राज्य अमेरिकाको पक्षमा मतदान गर्दछ।
संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी सरकारहरूले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री शेख हसिनाको पार्टीको विधायिकामा हावी भएका कारण बंगलादेशको संसदमा सोही दलको एक पक्षीय निर्णय हुँदा प्रजातान्त्रिक मूल्य मान्यतालाई प्रभावित पार्ने गरेको छ।
अधिकारवादी समूहका अनुसार सन् २००९ मा हसिना सत्तामा आएयता सुरक्षा फौजले करिब दुई हजार ५०० बंगलादेशी नागरिकको हत्या गरिसकेको छ।
आरएबीलाई अधिकारवादी समूहहरूले राजनीतिक विरोधीहरूको हत्या गरेको र पीडितहरूलाई उचित कानुनी प्रक्रियाबाट बञ्चित गर्न गोली हानाहान गरेको आरोप लगाएका छन्।
सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ भने एक मन्त्रीले वेपत्तामध्ये केही बंगलादेशबाट भागेको बताएका छन्।
सन् २०२१ को डिसेम्बरमा लगाइएको अमेरिकी प्रतिबन्धमा सात जना बहालवाला वा पूर्वआरएबी अधिकारीहरूको सम्पत्ति रोक्का र भिसा प्रतिबन्ध समावेश छ।
चोलेटले ढाकामा हसिनासँग भेट गरेका थिए भने पाकिस्तानको औपचारिक भ्रमणसँगै बिहीबार आफ्नो दक्षिण एसिया भ्रमणको समापन गर्दै छन्। रासस/एएफपी