सिड्नी, १४ कात्तिक (एएफपी) । अमेरिक विमान निर्माता कम्पनी बोइङ इंकको निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति पुगेको भेटिएपछि उडान प्रतिबन्ध गरिएको छ ।
यसअघि नै दुई वटा घातक दुर्घटना व्यहोरेको बोइङका लागि यो अर्को गम्भीर समस्या हो । अस्ट्रेलियाली राष्ट्रिय ध्वजाबाहक क्वान्टासले एउटा बिमानमा समस्या भेटिएपछि ग्राउन्डेड गरेको जनाएको छ ।
क्वान्टासले यही सिरिजका अरु ३२ बिमानको पनि परीक्षण गर्न लागेको छ । तर कम्पनीले यात्रुहरुलाई चिन्ता नलिन आग्रह गरेको छ । गत अक्टोबरको शुरुमै दक्षिण कोरियाली अधिकारीहरुले बिमानमा क्षति देखिएको पत्ता लगाएसँगै ९ ओटा बिमान ग्राउन्डेड गरेका थिए ।
यी बिमानमध्ये कोरियन एयरका पाँच वटा थिए । समस्या देखिएलगत्तै अमेरिकी नियामक निकायले बिमानको तत्काल परीक्षण गर्न बोइङ कम्पनीलाई आदेश दिएको थियो ।
क्वान्टासको घोषणालगत्तै बोइङ कम्पनीका एक जना प्रवक्ताले बिहीबार नै एक हजार बिमानमध्ये ५ प्रतिशतभन्दा कम बिमानमा स–साना दरार देखिएको बताएका छन् ।
्प्रवक्तले ती बिमानको मर्मत शुरु भइसकेको पनि जानकारी दिए । क्वान्टासको इन्जिनियरिङ विभागका प्रमुख क्रिस स्नूकले बिमान पूर्णरुपमा सुरक्षित महसुस नगर्दासम्म कुनै पनि बिमान नउडाउने बताए ।
अमेरिकी नियामक निकाय संघीय नागरिक उड्डयन प्रशासनले ३० हजार पटकभन्दा बढी उडेका सबै ७३७एनजी सिरिजका बिमानको तत्कालै प्राविधिक जाँच गर्न आदेश दिइसकेको छ ।
तर क्वान्टासले ३० हजार पटकभन्दा कम उडेका बिमानमा पनि यस्तै समस्या देखिएको जनाएको छ । यी बिमानहरु सामान्यतया अस्ट्रेलियाभित्र र छिमेकी न्यूजील्यान्डसम्म मात्र उडाइएको उसले जनाएको छ ।
अस्ट्रेलियाकै निजी क्षेत्रको भर्जिन एयरवेजले बोइङ ७३७एनजी सिरिजका सबै १७ वटा बिमानको प्राविधिक परीक्षण सम्पन्न गरिएको र त्यसमा कुनै समस्या नदेखिएको जनाएको छ ।
बोइङका ७३७ म्याक्स सिरिजका लगातार दुई वटा बिमान दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएपछि बोइङका बिमानहरुको सुरक्षाप्रति सर्वत्र चासो उत्पन्न भएको छ ।