काठमाडौं। नेपाल टेलिकमको पोस्टपेड सिमको हिसाब व्यवस्थापन गर्ने प्रणाली (बिल रन)को काममा ढिलाइ हुँदा प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।
बिल रनको काममा भएको ढिलाइका कारण धेरै प्रयोगकर्ताको रकम काटिने, रिचार्ज गर्दा नदेखिने तथा वान वे बार हुने लगायतको प्रक्रिया बिहीबार बिहानसम्म चलेको थियो। जसप्रति प्रयोगकर्ताले असन्तुष्टि व्यक्त गरेका हुन्।
नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीकाअनुसार पोस्टपेडको हकमा महिनाको अन्त्य १५ तारिखमा राति टेलिकमले जहिल्यै बिल रनको काम गर्ने गर्छ।
उनकाअनुसार बिल रनको प्रक्रियामा टेलिकमले पहिला सेवालाई फ्रिज गरेर २७३ रुपैयाँ रेन्टलको चार्ज काट्छ र त्यसपछि कसले कति र कस्तो प्याक लिएको छ भनेर हेर्ने काम गर्छ।
यी कुराको सबै हिसाब गरेर अनि हिसाब मिनान् गर्ने काम टेलिकमले गर्छ। सो पछि टेलिकमले काटेको पैसा फिर्ता गर्छ र सबै सामान्य बनाउने काम गर्छ। ‘यसपटक बिल रनको काम अलिकति ढिला भयो,’ प्रवक्ता अधिकारीले भने, ‘यो प्रक्रिया रातभरमा सम्पन्न भएर बिहान ठीक भइसकेको हुन्थ्यो तर यो पटक भने बिहान ढिलासम्म यो प्रक्रिया चलिरह्यो।’
उनले यो प्रक्रिया नियमित भएको जानकारी दिए। तर, बिहानसम्म सबै बिल रनको काम सम्पन्न हुनुपर्नेमा यो पटक भने ढिलाइ भएको उनको भनाइ छ।
यस्तो समस्या योभन्दा अघि एक पटक भएको पनि उनले जानकारी दिए। बिल रनको काम ढिला हुँदा यस्तो समस्या देखिएपनि लगभग १० बजे बिहान नै यो समस्या समाधान भइसकेको उनले बताए।