काठमाडौं। विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएका व्यवसायी दुर्गा प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा-ब्याज बुझाएका छैनन्। उल्टै, ऋणीहरूलाई समेत ऋण नतिर्न भन्दै अभियान चलाउँदै हिँडेका छन्।
प्रसाईंले सार्वजनिक कार्यक्रम तथा विभिन्न सञ्चारमाध्यमलाई दिएका अन्तर्वार्तामा बैंकबाट लिएको ऋण नतिर्न मुलुकको पूर्वी भेगमा अभियान चलाएका छन्। प्रसाईंको अभिव्यक्तिपछि ऋण असुलीमा निस्किएका बैंकरहरुलाई ऋणीहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्दै फर्काउन थालेका छन्।
प्रसाईंले विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै बैंकबाट लिएको ऋण नतिर्न अभियान चलाएपछि बैंकरमाथि ऋणी खनिएका हुन्।
उनको यस्तो अभिव्यक्तिपछि पूर्वका बैंकरहरुले ऋण असुली गर्न जाँदा ‘प्रसाईंले ऋण नतिर्न भनेका छन्’ भन्दै दुर्व्यवहार खेप्न थालेका छन्। प्रसाईं आफैंले भने बैंक तथा वित्तीय संस्थाबाट साढे ५ अर्बभन्दा बढी परिमाणको ऋण लिएका छन्।
कुन बैंकबाट कति ऋण?
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार प्रसाईंले नबिल बैंकबाट ७६ करोड, प्रभुबाट १ अर्ब २० करोड, तत्कालीन एनसिसी हालको कुमारी बैंकबाट १ अर्ब, राष्ट्रिय वाणिज्यबाट ७० करोड, तत्कालीन मेगा हालको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ६५ करोड, लुम्बिनी विकास बैंकबाट १५ करोड ३० लाख, गुडविल फाइनान्सबाट ११ करोड, तत्कालीन जनता बैंक हालको ग्लोबल आइएमईबाट १ अर्ब रुपैयाँ ऋण लिएका छन्।
प्रसाईंले कूल ५ अर्ब ५७ करोड ३० लाख रुपैयाँ ऋण लिएको देखिन्छ। उनले पूर्वाञ्चल क्यान्सर अस्पताल, बिएन्डसी अस्पताल, होटल एट्रियम, शुभम हाउजिङलगायत क्षेत्रमा लगानी गर्न बैंकबाट ठूलो परिमाणमा ऋण लिएका हुन्।
ऋण दिएका बैंकका अनुसार प्रसाईंले बैंकलाई बुझाउनुपर्ने साँवा–ब्याज पनि भुक्तानी गरेका छैनन्।
अराजक र उछृङ्खल अभिव्यक्ति
‘उनी आफूले लिएको ऋण तिरेका छैनन्,’ एक बैंकरले क्यापिटल नेपालसँग भने, ‘पूर्वमा जो–जसले ऋण लिएका व्यवसायी छन्, उनीहरूलाई ऋण तिर्न ताकेता गर्दा उल्टै धम्की दिइरहेका छन्।’
प्रसाईं आफैंले एक सार्वजनिक कार्यक्रममा बैंकबाट लिएको एक रुपैयाँ ऋण पनि नतिर्ने अभियान चलाउन भनेका छन्।
‘मैले सतिश भाइको नेतृत्वमा ५०/५० जनाको टिम बनाएको छु। त्यो टिम ऋण नतिर्ने अभियान चलाउन बनाइएको हो,’ प्रसाईंले उक्त सार्वजनिक कार्यक्रममा भने, ‘यदि बैंकहरूले ऋण तिर्न भन्दै ऋणीलाई दबाब दिए भने अनुहारमा मोसो र खुट्टामा अलकत्रा दलिन्छ।’
प्रसाईंले ‘बाहिर ढुकेर बस्ने, बैंकका कर्मचारी आए भने च्याप्प समाएर मोसो दलिहाल्ने’ बताए।
‘बैंकभित्र छिर्न भएन, डाँकाको अभियोग लाग्छ,’ प्रसाईंले भने, ‘बैंकका कर्मचारी बाहिर निस्किएका बेला च्याप्प समाउने र मोसो पोतिहाल्ने हो। कालोमोसो अनुहारमा पोतिदिँदा पाँच दिन प्रहरी हिरासतमा बस्नुपर्छ। त्यति मात्रै हो,’ प्रसाईंले भनेका छन्।
प्रसाईं नेकपा (माओवादी केन्द्र) बाट नेकपा (एमाले) हुँदै अहिले राजावादी खेमामा मिसिएका छन्। आफू जोगिने उद्देश्यले मात्र उनी विभिन्न राजनीतिक दल र खेमामा मिसिँदै आएका छन्।
के भन्छ राष्ट्र बैंक?
प्रसाईंले व्यवसायीलाई भड्काउने, बैंकरमाथि जाइलाग्नेजस्ता अराजक अभिव्यक्ति दिँदै हिँडेपछि राष्ट्र बैंकले पनि गम्भीर चासो दिएको छ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले ‘आफैं बैंकबाट ऋण लिने र पछि तिर्दिनँ भन्न थालेपछि समग्र बैंकिङ सिस्टम नै अप्ठयारोमा पर्ने’ बताए।
‘बैंकमा भएको पैसा निक्षेपकर्ताको सम्पत्ति हो। एउटा व्यवसायीले निक्षेपकर्ताको पैसाबाट व्यावसायिक साम्राज्य खडा गरेको हुन्छ,’ भट्टले भने, ‘त्यसरी ऋण तिर्दिनँ भनेर अभियान चलाउँदा भोलि अर्थतन्त्र नै तहसनहस हुन्छ।’
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्दिन भन्नु वित्तीय अपराध भएको बताए।
बैंक तथा वित्तीय संस्थाको ऋण वित्तीय ‘सिस्टम’ को विश्वसनियतासँग जोडिएको हुने भन्दै गभर्नर अधिकारीले यसलाई हलुका लिन नहुने बताए। बैंकको ऋण सार्वजनिक सम्पत्ति भएको र सर्वसाधारणको निक्षेप जोखिममा पार्ने गरी अभिव्यक्ति दिँदै हिँड्नु कानुनविपरीत भएको उनको भनाइ छ।
पछिल्लो समय व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाका ब्याज महँगो भएको भन्दै किस्ता र ब्याज नदिर्ने अडान लिँदै आन्दोलन गरिहेका छन्।
‘लिने बेलामा बैंकबाट ऋण लिने तर तिर्ने बेलामा म तिर्दिनँ भन्न मिल्छ?,’ गभर्नर अधिकारीले क्यापिटल नेपालसँग भने, ‘यो अराजकता हो, वित्तीय अपराध हो। यस्ता कुरालाई कोही कसैले पनि प्रश्रय दिनु हुँदैन।’