काठमाडौं। सरकारले स्मार्ट लाइसेन्स प्रिन्टर मेसिन खरिदका लागि आह्वान गरेको बोलपत्रमा निर्माण व्यवसायीले प्रस्ताव पेश गरेनन्। विभागले स्मार्ट लाइसेन्स प्रिन्टर मेसिन खरिदका लागि २ पटक गरेको टेण्डर आह्वानमा कुनै पनि आवेदन नपरेको हो।
विभागले पहिलो पटक गत पुस १ गते मेसिन खरिदका लागि ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्काको म्याद १ महिना अर्थात् माघ २ गतेसम्म रहेको थियो। पहिलो पटकको ठेक्का आह्वानमा कुनै आवेदन नपरेपछि दोस्रो पटक सोही ठेक्का आह्वान गरेको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन्।
‘२ पटक ठेक्का आह्वान गरी सकेका छौं तर, अहिलेसम्म प्रिन्टर मेसिन खरिदका लागि कुनै आवेदन परेको छैन। अब कसरी अघि बढ्ने विषयमा भने छलफल हुन्छ’ सूचना अधिकारी पनेरुले क्यापिटल नेपालले भने।
उनका अनुसार हाल विभागमा एउटा मात्रै स्मार्ट लाइसेन्स मेसिन रहेको छ। सो मेसिनले दैनिक माग धान्न नसकेपछि नयाँ प्रिन्टर खरिद गर्न लागिएको हो।
हाल विभागमा रहेको मेसिनले दैनिक ४ हजारदेखि ४ हजार ५ सय वटासम्म स्मार्ट लाइसेन्स प्रिन्ट गर्दै आएको छ। तर, माग भने दैनिक ७ हजारभन्दा बढी छ। जसका कारण ट्रायल पास गरेको महिनौं कुर्दा पनि सर्वसाधारणले लाइसेन्स पाउन सकिरहेका छैनन्।
साथै विभागमा ट्रायल पास भएर प्रिन्ट गर्न बाँकी लाइसेन्स ७ लाख रहेका छन्। लाइसेन्स वितरण सुस्त भएपछि विभागले नयाँ मेसिन खरिद गर्न लागेको हो।
२ वटा मेसिन भएमा ट्रायल पास गरेको एक साता भित्रै स्मार्ट लाइसेन्स दिन सक्ने विभागले जनाएको छ। पुसमा ठेक्का आह्वान गर्दा २०८० को वैशाख अन्तिमबाट २ वटै मेसिन प्रयोगमा ल्याउने बताइएको थियो। तर, कुनै पनि आवेदन नपरेपछि विभागको उक्त योजना अनिश्चित बनेको छ।
यद्यपि मेसिन खरिदका लागि ठेक्का सम्झौता भएको करिब पाँच महिनासम्म आवश्यक तयारी गर्न समय लाग्ने छ। त्यसपछि दुइटै मेसिन प्रयोग हुने बताइएको छ।
त्यसभन्दा पहिला विभागले अर्को ठेक्का आह्वान गर्नुपर्ने हुन्छ। हाल सञ्चालनमा रहेको मेसिन पनि ठेक्का आह्वान गरेरै ल्याइएको विभागले जनाएको छ। साथै कानूनअनुसार पनि ठेक्का आह्वान नगरी नयाँ मेसिन खरिद गर्न नमिल्ने भएकाले तेस्रो पटक ठेक्का आह्वान गर्नुपर्ने बाध्यता विभागकाे छ।
विभागका एक कर्मचारीका अनुसार दुई पटक भएको ठेक्का आह्वानमा नेपाली कम्पनीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था रहेको थियो। तर, अब अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी विभागले गरेको छ।
ति कर्मचारी भन्छन्, ‘तेस्रो पटकको बोलपत्र अन्तर्राष्ट्रियस्तरमा आह्वान गर्ने तयारी छ, कहिले आह्वान हुन्छ अहिले नै भन्न सकिदैन।’
आवेदन दिने कम्पनीले दुइटा कागजपत्र पेस गर्नुपर्ने बताइएको छ। जसअन्तर्गत प्राविधिक अनुभवको पत्र र मूल्यको पत्र समावेश गर्नुपर्ने हुन्छ।