जर्मनी। तलबभत्ता वृद्धिको माग गर्दै जर्मनीका विमानस्थल कर्मचारीले शुक्रबार हडतालको घोषणा गरेका छन्। यहाँको व्यस्त फ्रान्कफर्ट र म्युनिख विमानस्थलसहित सात वटा विमानस्थल उनीहरूले हडताल आह्वान गरेका हुन्।
हडतालका कारण दशौं हजार यात्री प्रभावित हुने निश्चित छ भने आन्तरिक उडान पनि रद्द हुने वा विलम्ब हुनेछ। विमान व्यवस्थापनलाई दबाब दिन गरिएको उक्त घोषणाप्रति सम्बन्धित पक्षले कुनै प्रतिक्रिया दिएको छैन। कर्मचारी युनियनका प्रतिनिधि, उड्डयन सुरक्षा कर्मचारी वार्तामा बसेका छन्।
जारी वार्ताबाट परिणाम पनि प्राप्त भएको छैन। कर्मचारी युनियनका प्रतिनिधिले जीवन यापनको लागत बढेको तर आयमा कुनै वृद्धि नभएकाले तलब वृद्धिको माग गर्दै हडतालमा उत्रनु परेको बताएका छन्।
हडतालबाट ब्रेमेन, डर्टमन्ड, फ्रान्कफर्ट, ह्याम्बर्ग, ह्यानोभर, म्युनिख र स्टटगार्ट सहरका एयरपोर्टमा असर पर्नेछ। यद्यपि भूकम्प प्रभावित टर्की र सिरियामा सहायता पुर्याउने उडान प्रभावित नहुने कर्मचारी युनियनका एक सदस्यले बताएका छन्। उनले यात्रीलाई मजदुरका समस्या बुझ्न तथा वैकल्पिक योजना बनाउन अनुरोध गरेका छन्।
बढ्दो बजार मूल्य, ऊर्जा, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको बढेको मूल्यले आफूहरूलाई अनिश्चयतर्फ धकेलेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनले एक विज्ञाप्ति निकालेर स्पष्ट गरेका छन्।
युनियनले गत महिना बर्लिन ब्रान्डनबर्ग एयरपोर्टमा यस्तै हडताल गरेको थियो। त्यसबेला तीन सय उडान रद्द वा पुनर्तालिका गरिएको थियो। रासस/एएफपी