काठमाडौं। लक्की ग्रुपको गणपति वनस्पति प्राइभेट लिमिटेडको व्यापारमा चमक आएको छ । एक वर्षमा गणपति वनस्पतिको व्यापार ४४ प्रतिशत बढेर १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँ पुगेको छ।
एक वर्षको अवधिमा गणपतिको खाने तेल र सावुनको व्यापार ३ अर्ब ७६ करोड ६० लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
२०२१ मा उद्योगले ८ अर्ब ५७ करोड २० लाख रुपैयाँको तेल तथा सावुनको उत्पादन गरेर बिक्री वितरण गरेको थियो।
२०२०मा उद्योगले ५ अर्ब ५१ करोड रुपैयाँको मात्र तेल र सावुनको व्यापार गरेको थियो। सन् १९९८ मा स्थापना भएको उद्योगले वनस्पति घिउ, खाने तेल, सावुन, डिटर्जेन्ट,पाउडर, पेट बोतललगायत वस्तु उत्पादन गर्दै आएको छ।
उद्योगले वार्षिक १ लाख २० हजार टन खाने तेल उत्पादन गर्ने क्षमता छ। यस्तै लुगाधुने सावुनको वार्षिक १२ हजार टन उत्पादन क्षमता रहेको उद्योगले जनाएको छ। उद्योगले सफारी, सफारी हेल्थ, चक्र र रामदेव ब्राण्डमा खाने तेल उत्पादन गर्दै आएको छ।
यस्तै सफारी र लक्की ब्राण्डमा डिर्टजेन्ट पावडर र सावुन उत्पादन गरिरहेको छ।
उद्योगको सञ्चालकमा अमित मोर, राजीव मोर र ऋषिराज मोर छन्। गणपतिले ८ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ। उद्योग नेपाल–भारत सीमा नजिक बाराको पिपरामा रहेको छ। सीमानामा भएका कारण लागतको वचत हुने गरेको छ। उद्योग आफ्नो क्षमताको ५८ प्रतिशतमा सञ्चालनमा छ।