काठमाडौं। जलविद्युतमा स्वदेशी तथा विदेशी थप लगानी ल्याउन ऊर्जा सम्मेलन (पावर समिट) आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को अगुवाइमा आउँदो चैत १४ र १५ गते दुई दिन राजधानीमा आठौं संस्करणको ऊर्जा सम्मेलन हुन लागेको हो। हरित ऊर्जाको बजार विस्तारिकरण भन्ने मूल नारा सम्मेलनको छ।
सम्मेलनमा ३० देशका ३ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने भएको छ। सम्मेलनमा ऊर्जा क्षेत्र, विद्युत व्यापार, वित्तीय क्षेत्र, प्रसारण तथा वितरण कम्पनी, परामर्शदाता र थिंकट्याकहरुको सहभागित रहने इप्पानले जनाएको छ।
सम्मेलनको कन्ट्रिपार्टरमा भारत हुने भएको छ। यस्तै विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगम, एफएमओ र यूएसआइडीको प्रायोजन हुने भएको छ।
सम्मेलनमा नेपालको बिजुलीको बजार, प्रसारण लाइन पूर्वाधार, बिजुलीको माग, नयाँ प्रविधिको विकास, सोलार, हाइड्रोजनको विकास र संभावनाका साथै नियामक निकायको भूमिका र अन्तरदेशीय बिजुलीको व्यापारलगायतका विषयमा विभिन्न शत्रहरू सञ्चालन हुने भएका छन्। सम्मेलनमा निजी क्षेत्र र लगानी बोर्डबाट ५ हजार मेगावाट क्षमताका आयोजना परियोजना बैंकका रूपमा पेस हुने भएको छ।
सन् २००६ मा पहिलो पटक काठमाडौंमा भएको ऊर्जा सम्मेलनले विद्युत उत्पादनमा ठूलो योगदान गरेको थियो। त्यसयता इप्पानले निरन्तर ऊर्जा सम्मेलन गर्दै आएको छ। अहिले जडित क्षमता बढेर २ हजार ५२० मेगाावाट पुगेको छ। यो वर्षभित्र ६०० मेगावाट बिजुली थप हुने अनुमान गरिएको छ।
आउँदो ५ वर्ष अर्थात् २०२७ मा बिजुली उत्पादन क्षमता बढेर ६ हजार ७०० मेगावाट पुग्ने इप्पानले जनाएको छ। निजी क्षेत्रको विद्यत् उत्पादन हिस्सा हालको ५५ प्रतिशतबाट बढेर ८० प्रतिशत पुग्ने अनुमान गरिएको इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए।
यो वर्ष १ हजार मेगावाट बिजुली बचत हुने इप्पानको अनुमान छ। ऊर्जाको बजार खोल्न आन्तरिक उत्पादनका साथै निर्यातमा जोड दिनुपर्ने निश्कर्ष इप्पानको छ। हरित ऊर्जाको बजारलाई व्यापक बनाउन कृषि, उद्योगमा बिजुलीको खपत बढाउनु पर्ने इप्पानको भनाइ छ।