काठमाडौं। नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एकल बिन्दुमा ब्याजदर कायम गर्न नसकिने बताएका छन् । नेपाल बैंकर्स संघले आयोजना गरेको अन्तरक्रियामा केसीले संसारभर ब्याजदर बढिरहेको भन्दै नेपालमा पनि त्यसको प्रभाव परेको बताए ।
‘बजारमा एकल बिन्दुमा ब्याजदर कायम हुनुपर्ने माग छ । तर, हामी एकै पटक ब्याजदर घटाउन सक्दैनौं,’ केसीले भने ‘ब्याजदर स्थिर बनाउनुपर्छ भन्ने हाम्रो पनि सोच हो । हामीले लिएको नीतिले आगामी दिनमा क्रमशः ब्याजदर घट्दै जान्छ ।’
बैंक वित्तीय संस्थामा खाता खोलेका ४ करोड खातावालालाई संरक्षण दिन खोज्दा बैंक वित्तीय संस्थाबाट ॠण लिएका १८ लाख ॠणीले दबाब सिर्जना गरेको केसीको भनाइ छ ।
‘अहिले नेपालमा मात्रै ब्याजदर बढेको होइन, भारतको केन्द्रीय बैंकले अस्तिमात्रै ०.२५ प्रतिशतले नीतिगत दर बढाएको छ । संसारका अन्य देशमा पनि ब्याजदर बढेको छ केसीले भने नेपालमा पनि अन्तर्राष्ट्रिय क्षेत्रमा भएको घटनाक्रमले ब्याजदर बढेको हो। हामी पनि ब्याजदर घट्नु पर्छ भन्ने चाहन्छौं । तर, अन्तर्राष्ट्रिय परिस्थितिले हाम्रो बजारलाई पनि असर गर्छ’, उनले भने ।
बैंक वित्तीय संस्थाले आफ्नो पुँजीभन्दा कैयौं गुणा रकम सर्वसाधारणबाट लिएर कारोबार गरिरहेकाले ॠणीभन्दा पनि निक्षेपकर्तालाई प्राथमिकतामा राख्नु पर्ने केसीले बताए ।
‘बजारमा ॠणीको धेरै कुरा आयो, निक्षेपकर्ताको विषयमा कुनै कुरा आएको छैन,’ केसीले भने, ‘हामीले निक्षेपकर्ताको संरक्षणको विषयमा पनि सोच्नु पर्छ । अहिले बैंकिङ क्षेत्र पनि दबाबमा छ। नन पर्फमिङ एसेस्ट बढेको छ। अहिले जसरी ब्याज तिर्दैनौं भन्ने क्याम्पेन चलेको छ, त्यो राम्रो होइन ।’
केसीले पछिल्लो समय अर्थतन्त्रमा केही सकारात्मक संकेत देखिए पनि अझै अर्थतन्त्र पूरै लयमा नभएको बताए ।
‘हामी अझै सजक हुनुपर्ने अवस्था छ, त्यसैले केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा कुनै पनि दर संशोधन गरेको छैन,’ केसीले भने ‘अहिले पनि सचेत हुनुपर्ने अवस्था छ ।’
कार्यक्रममा नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बैंक वित्तीय संस्था नाफामा सञ्चालन हुन नसके निक्षेपकर्ताकको विश्वास सिर्जना हुन नसक्ने बताए ।
‘पछिल्लो समय बैंक वित्तीय संस्थाको खराब कर्जा बढेको छ', ढुंगानाले भने, 'कोरोना महामारीको क्रममा रिसेड्युल गरिएको कर्जा ॠणीले तिर्न सकेका छैन । जुन गम्भीर समस्या हो ।’
ढुंगानाले तत्कालै एकल बिन्दुमा ब्याजदर कायम हुन नसक्ने बताए । ‘अहिले बैंकिङ क्षेत्रका विषयमा बजारमा उच्छृंखल कुरा आउनु राम्रो होइन,’ उनले भने, ‘ब्याजदर नेपालमा मात्रै बढेको होइन । सबैतर्फ बढेको छ ।’