काठमाडौं। आगामी तीन महिनामा १० प्रतिशत र एक वर्षमा १२.० प्रतिशत मूल्य वृद्धि हुने राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ।
नेपाल राष्ट्र बैंकले २ हजार १० जनामा आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षण गरेको थियो। जसअनुसार तीन महिना र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२.० प्रतिशत रहेने देखाएको छ।
सर्वेक्षणअनुसार ८४.६ प्रतिशतले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन्। त्यसैगरी, ९२.३ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्। अबको तीन महिनामा र एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा घटेको छ।
खाद्यका साथै खाद्य उपसमूह अन्तर्गतको माछा, मासु, दूध, घ्यू तथा तेल र होटल तथा रेस्टुरेन्टबाहेकका सबै खाद्य उपसमूहमा अबकोतीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा पनि असोजको तुलनामा बढेको छ।
गैर–खाद्य वस्तु तथा सेवा र घरजग्गा (आवास) समूहमा अबको तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको हिस्सा असोज, २०७९ को तुलनामा केही घटेको छ।
तीन महिना पछि र एक वर्ष पछिको मध्यक अपेक्षित मुद्रास्फीति २०७९ असोजकोतुलनामा समान रहेको छ भने तीन महिना पछिको औसत र एक वर्ष पछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ।