काठमाडौं। वान्छित सीमाभित्र कर्जा निक्षेप (सिडी) अनुपात राख्न बैंकहरुले धमाधम ऋण बेच्न थालेका छन्। बैंकहरू १५ प्रतिशत ब्याज तिर्न राजीसमेत भएर ऋण बेचिरहेका छन्।
सिडी रेसियो ९० प्रतिशत सीमाभित्र राख्नुपर्ने व्यवस्था छ। तर, केही बैंकहरूको सिडी सीमाभन्दा माथि भएकाले धमाधम ऋण बेच्न थालेका हुन्।
नेपाल राष्ट्र बैंकले आफ्नो वेबसाइटमा राखेको तथ्यांकअनुसार अहिले सिडी रेसियो औसत ८६.३१ प्रतिशत छ। अहिले बैंक तथा वित्तीय संस्थासँग ५३ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप छ। कर्जा लगानी ४८ खर्ब २७ अर्ब छ। सिडी गणनाका हिसाबले प्रणालीमा ५ खर्ब ५५ अर्ब रुपैयाँ नगद छ। यो भनेको ८६.३१ प्रतिशत हो। प्रणालीमा जम्मा ३.६९ सिडीको स्पेस छ। त्यो भनेको जम्माजम्मी २४ अर्ब रुपैयाँ मात्रै लगानीयोग्य रकम हो।
अहिले कतिपय बैंकको सिडी रेसियो ८३ प्रतिशत छ। यस्तै भने केही बैंकको ९२ प्रतिशत पुगेको छ। ९२ प्रतिशत सिडी रेसियो पुगेका बैंकहरुले धमाधम कम सिडी भएका बैंकलाई महँगो ब्याज तिरेर आफ्नो ऋण बेचिरहेका छन्।
अहिले कम सिडी भएका बैंकहरुले बढी सिडी भएका बैंकलाई कसेर ब्याज लिँदै ऋण किन्दै गरेका छन्। कर्जा लगानी नगरी ‘कर्म्फटेवल’ अवस्थामा बसेका बैंकहरुले १५ प्रतिशतसम्म ब्याज लिएर ऋण किनिरहेका छन्।
‘सिडी व्यवस्थापन गर्न नसकेपछि ऋण बेच्नु बैंकको बाध्यता हुन्छ, त्यस्तो बेला किन्नेलाई भन्दा बेच्नेलाई बढी घाटा हुन सक्छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले भने, ‘केन्द्रीय बैंकबाट हुने पेनाल्टीबाट जोगिन उनीहरुले महँगो ब्याज तिरेरै भए पनि ऋण बेच्छन्।’
‘बैंकले ऋणीसँग जति ब्याज लिन्छु भनेर ऋण सम्झौता गरेको हुन्छ, त्यो भन्दा बढी बेच्ने बैंकले किन्नेलाई तिर्नपर्ने पनि हुन सक्छ’ ती बैंकरले भने, ‘बैंकले बैंकलाई कुन दरमा ब्याज तिर्न, ऋण लिने ऋणीलाई कुनै मतलव हुँदैन।’
ऋणीले ऋण लिने बैंकलाई ब्याज तिर्छ, उससँग केही सम्बन्ध हुँदैन। तर, बैंकले ए भन्ने ऋणीको फाइल कुनै बैंकलाई बेच्छ र किन्ने बैंकसँग ब्याज तिर्ने सम्झौता गरेको हुन्छ। अहिले बैंकभित्र यो कार्यले तीव्रता पाएको उनको भनाइ छ।
‘ऋण बेचेर सिडी व्यवस्थापन गर्नु बैंकको बाध्यता हो,’ ती बैंकरले भने, ‘सीमाभन्दा निकै तल सिडी रहेका बैंकहरुले अहिले त्यसैगरी कमाईरहेका छन्।