विराटनगर। भारतको बथनहास्थित मीरगञ्ज पुलबाट मालबाहक सवारी आवतजावत गर्न भारतीय पक्षले अनुमति दिएपछि नेपाली पक्षका व्यापारी खुसी भएका छन् ।
लामो समयदेखि उक्त पुलमा नेपाली व्यापारी एवं उद्योगीलाई आवतजावत गर्न प्रतिबन्ध लगाएपछि सुनसरीको भण्टाबारीबाट माल आयात गर्ने गरेका थिए । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक वर्षपछि आधिकारिक रुपमा शुक्रबार सूचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।
मोरङ व्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल सञ्चालन गर्न दिइएको दबाबका कारण अनौपचारिक रुपमा पुल सञ्चालनमा आएको हो । यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चापदार्थ लगायतको सामग्री बोकेका मालबाहकलाई सुनसरीको भण्टाबारी नाकाबाट आउनुपर्ने बाध्यता हटेको छ ।
उक्त पुल सञ्चालनपछि एक सय १६ किलोमिटरको दूरी अब अब चार किलोमिटरमा झरेको छ । भारतको पटनास्थित कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालबाहक आवतजावत गर्ने अनुमति दिइएको जनाएको छ ।
यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसिपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो ।
विभागले अब तेस्रो मुलुकबाट आउने, जाने सामानका लागि भण्टाबारी नाका पुग्नु नपर्ने जनाउँदै मातहतका सबै निकायलाई बोधार्थ दिँदै सूचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आइसिपीबाटै आयात र निर्यात औपचारिक रुपमा सुरु भएको छ ।
व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरेपछि अनौपचारिक रुपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि भारत र नेपालका लागि मात्र कार्गे आउने जाने गर्दथे । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टाबारी नाका प्रयोग हुँदै आएको थियो ।
यस अघिको २०२२ जनवरी ११ मा मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवतजावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सूचना जारी गरिएको थियो । हाल उक्त प्रतिबन्ध फुकुवा गर्दै भीमनगरतर्फको रुट खारेज गरी पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसिपीबाट माल आवतजावतका लागि सबैलाई जानकारी दिइएको हो ।
पुल पूर्णरूपमा सञ्चालनमा आएपछि अहिले दैनिक दुई सयसम्म मालबाहक सवारीसाधन भारतीय कष्टम हुँदै विराटनगर आइसिपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालबाहक सवारी भीमनगर हुँदै एक सय १६ किलोमिटर घुमेर आउँदा १६ हजार रूपैयाँ अतिरिक्त भाडा तिर्नु पर्थ्यो ।
अब एक वर्षमा व्यवसायीले ११ करोड ५२ लाख रूपैयाँबराबरको अतिरिक्त ढुवानी भाडा तिर्नुपर्ने बाध्यता हटेको छ । मीरगञ्ज पुल भासिँदा विराटनगर भन्सारबाट एक वर्षमा हुने २२ अर्ब ५० करोड रूपैयाँ बराबारको कारोबारमा गिरावट आएको थियो । रासस