काठमाडौं। सरकारले विभिन्न व्यवसायिक संस्थाहरुलाई २७ अर्ब ६० करोड रुपैयाँ कर छुट दिएको छ। अर्थ मन्त्रालयले आयकर र भन्सार महशुल गरी व्यवसायिक संस्थाहरुलाई उक्त रकम छुट दिएको हो।
जसअनुसार सबैभन्दा बढी आयकर २४ अर्ब ५० करोड २८ लाख र भन्सार शुल्क ३ अर्ब १० करोड १० लाख रुपैयाँ छुट दिएको अर्थ मन्त्रालयले जनाएको छ।
आन्तरिक राजस्व विभागअन्तर्गत आर्थिक ऐनको २०७८ र आयकर ऐन २०५८ को विभिन्न दफाहरु बमाेजिम उक्त करछुट दिएको अर्थले स्पष्ट पारेको छ।
यसरी छुट पाउनेमा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालनमा रहेका सहकारी संस्था, सार्वजनिक गुठीअन्तर्गत सञ्चालित विद्यालय, आयकर ऐनको दफा ११ बमोजिम व्यवसायिक तथा सुविधाअन्तर्गत कर छुट, अवकास कोषका आयमा कर छुट दिएको मन्त्रालयले जनाएको छ।
यस्तै कोभिडअन्तर्गत डे–१ विवरण बुझाउने करदतालाई ९० प्रतिशत, कारोबारका आधारमा कर बुझाउनेलाई ७५ प्रतिशत, १ करोड रुपैयाँसम्मको कारोबारमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको छ।
कोभिड प्रभावित होटल, ट्राभल, ट्रेकिङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चार गृह, हवाइ तथा यातायात सेवालाई कर छुट दिएको अर्थले जनाएको छ। कूल २३ हजार १२५ सहकारीले मात्रै ४ अर्ब १५ करोड ७२ लाख रुपैयाँ कर छुट पाएका छन्।
सरकारी कार्यालय, नाफारहित सार्वजनिक तथा सामुदायिक संस्था वैदेशिक ऋण तथा अनुदानमा सञ्चालित आयोजना र लगानी बोर्डसँग भएको परियोजना विकास सम्झौता बमोजिम आयोजनाले नियुक्त गर्ने निर्माण व्यवसायीको माल वस्तु पैठारी ऐन बमोजिम, शुल्क, दस्तुर, महशुल र करको दरमा आंशिक तथा पूर्ण छुट दिइएको हो।
चालू आर्थिक वर्षको ६ महिनामा १८ अर्ब ८ करोड ७ लाख रुपैयाँको वस्तु तथा सेवाको पैठारीमा ३ अर्ब १० करोड १० लाख रुपैयाँ महशुल छुट दिएको मन्त्रालयले स्पष्ट पारेको छ ।