काठमाडौं। नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ । प्रदेश नम्बर १ र मधेस प्रदेशमा गरिबिको रेखामुनि रहेका आमनागरिकहरूलाई गुणस्तरीय आँखा तथा कान स्वास्थ्य सेवा प्रवाहका लागि दुई संस्थाका बीचमा सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट अध्यक्ष प्रा.डा. चेतराज पन्त र सिबिएम ग्लोबलका तर्फबाट कार्यकारी निर्देशक डेभिड बेनब्रिजले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द, सदस्य पद्मनारायण चौधरी तथा सिबिएम ग्लोबलका, कन्ट्री डाइरेक्टर सुरज सिग्देलको उपस्थिति थियो ।
सिबिएम ग्लोबलको सहयोगमा नेत्रज्योति संघको पुर्वाञ्चल क्षेत्रीय आँखा तथा कान उपचार कार्यक्रम मार्फत प्रदेश नम्बर १ र मधेस प्रदेशका सिमान्तकृत समुदायका र गरिबीको रेखामुनि रहेका नागरिकहरूलाई निःशुल्क रूपमा आँखा तथा कान उपचार सेवा प्रदान गरिने छ ।
दुई संस्थाबीचको सहकार्यमा आँखा तथा कान उपचारको पहुँचबाट टाँढा रहेका सो क्षेत्रका नागरिकहरूलाई आँखा अस्पताल, आँखा उपचार केन्द्रहरू तथा बाह्य कार्यक्रममार्फत उपचार सेवा प्रदान गरिने संघले जनाएको छ ।
नेत्रज्योति संघ र सिबिएम ग्लोबलका बीचमा नेपालमा आँखा उपचार सेवालाई जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रूपमा गुणस्तरीय सेवा प्रदान गर्न बिगत ४० वर्षदेखि सहकार्य भइरहेको छ । ‘हाम्रो ४० वर्षदेखिको सहकार्यमा यो सम्झौताले थप इँटा थप्ने काम गरेको छ ।
यो कार्यक्रमको कार्यान्वयनले सो क्षेत्रका नागरिकहरूले आफ्नो घर आँगनमै निःशुल्क आँखा तथा कान उपचार सेवा प्राप्त गर्नेछन् जसले उनीहरूको आर्थिक सामाजिक जिवनमा ठुलो परिवर्तन ल्याउने हाम्रो विश्वास छ’ नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेसकुमार मिश्रले भने ।
सम्झौतापछि बोल्दै सिबिएम ग्लोबलका कन्ट्री डाइरेक्टर सुरज सिग्देलले नेपालको आँखा उपचार र अन्धोपन नियन्त्रणको क्षेत्रमा गरिरहेको काम कै कारण बिगत ४० वर्षदेखि विभिन्न कार्यक्रममार्फत नेत्रज्योति संघसँग सहकार्य गरिरहेको भन्दै उनले आगामी दिनहरूमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सन् २०३० सम्ममा नेपालबाट उपचार पछि निको हुने अन्धोपन निवारण गर्ने नेत्रज्योति संघको लक्ष्यलाई यो सहकार्यले ठूलो सहयोग पुर्याउने बताउँछन् नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा चेतराज पन्त ।
अहिले पनि नेपालमा कतिपय जनताहरू आर्थिक अभावकै कारण दृष्टिविहीनतामा बसिरहेको भन्दै उनले यस्तै संघ–संस्थाहरूको सहकार्यमा नेपालबाट २०३० सम्ममा उपचार पछि निको हुने अन्धोपननको निवारण हुने विश्वास व्यक्त गरे ।
हाल कर्णाली प्रदेशमा नेत्रज्योति संघ र सिबिएमको सहकार्यमा एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ । उक्त कार्यक्रमबाट सन् २०२२ मा मात्र ३ हजार ८० जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिएको छ ।
हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १ सय ५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखामार्फत नागरिकलाई सर्भसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।