काठमाडौं। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले जयनगर–कुर्था रेल सञ्चालनको सम्झौता थप गर्न आग्रह गरेका छन्।
मंगलबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर रेल सञ्चालनको सम्झौता सकिन लागेकाले फेरि थप गर्न आग्रह गरेका हुन्।
नेपालले भारतीय कम्पनी ‘केआरसिएल’ सँग सम्झौता गरेर नेपालमा रेल सञ्चालन गर्दै आएको छ। त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका हुन्।
साथै त्यस प्रकारको रेलवे सञ्चालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने क्वात्राको भनाइ छ। नेपाली जनशक्ति परिचालन गर्न सकेमा नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने क्वात्राले बताए।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाली प्राविधिक जनशक्तिलाई नै रेल्वे सञ्चालनका लागि दक्ष बनाउने कुरा सकारात्मक र महत्वपूर्ण भएको बताएका छन्। त्यसलाई आफूहरूले आत्मसाथ गर्ने मन्त्री श्रेष्ठको भनाइ छ। भेटमा रक्सौल–काठमाडौं रेलवे निर्माण सम्बन्धमा पनि प्रारम्भिक छलफल भएको छ। मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सिंहदरबारमा उनीहरु बीच भेट भएको हो।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल–भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका विषयमा कुरा गरेका छन्। त्यस्तै भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले सञ्चालन गरिरहेको जयनगर–कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषयलाई जोड दिएको बताइएको छ।
क्वात्राले उपप्रधानमन्त्री श्रेष्ठसँग अरुण तेस्रो आयोजनाको पहुँच मार्ग (एक्सेस रोड) छिटो निर्माण गरिदिने सम्बन्धमा पनि चासो राखेका छन्। श्रेष्ठ र क्वात्राबीच नेपालको आर्थिक समृद्धिको विषयमा द्विपक्षीय वार्ताका माध्यमबाट अघि बढ्नेबारे पनि छलफल भएको छ।
उपप्रधानमन्त्री श्रेष्ठले यसअघि पनि भारतीय राजदूतसँग रेलवे सेवा तथा भारतद्वारा लगानी भएका विभिन्न आयोजना सम्बन्धमा कुरा उठाएका थिए।