काठमाडौं। मुलुकमा नाम चलेका उद्योगी–व्यवसायीलाई पछिल्लो समय नयाँ इच्छाले निकै घर गरिरहेको छ। र, त्यो हो– आफ्ना नामको अघिल्तिर ‘डा.’ उपाधि झुन्ड्याउने।
यो कामका लागि न कुनै विश्वविद्यालय गएर नियमित कक्षा लिनुपर्छ, न जाँच दिएर उत्तीर्ण भई ‘थेसिस’ बुझाउनुपर्छ। यस्ता झन्झट नगरी सिधै केही लाख रुपैयाँ खर्चिने हो भने आफ्नो नामका अघिल्तिर डा. लेख्न पाउने ‘पिएचडी’ (विद्यावारिधि) को सम्मान घरमै आइपुग्छ।
यसरी पिएचडी सम्मान खरिद गरेर केही व्यवसायीले आफ्ना नाम अगाडि डा. लेख्न पनि भ्याइसकेका छन्। भलै, यो उनीहरूको व्यक्तिगत इच्छा वा रुचि भए पनि यसले समाजमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण पक्कै सकारात्मक हुँदैन।
आफ्नो नामका अघिल्तिर डा. उपाधि लेख्न रुचि भएका उद्योगी/व्यवसायीलाई हरेक वर्ष पिएचडी सर्टिफिकेटको इमेल आउँछ। विश्वमा नाम चलेका विभिन्न विश्वविद्यालयबाट पिएचडी उपलब्ध गराउने र त्यसका लागि ६ हजार अमेरिकी डलर खर्चिनुपर्ने इमेल दिनहुँ व्यवसायीसम्म आइरहेका छन्।
कतिपय व्यवसायीले ६ हजार डलर (विनिमयअनुसार ७ लाख ९२ हजार रुपैयाँ) तिरेर पिएचडी अर्थात आफ्नो नामको अघिल्तिर ‘डाक्टर’ (डा.) लेख्न थालिसकेका छन्।
व्यवसायीका अनुसार विश्वका नाम चलेका विश्वविद्यालयका एजेन्ट अफिस नेपालमै खुलेका छन्। काठमाडौंका कोटेश्वर, नयाँबानेश्वर, पुतलीसडकलगायत ठाउँमा ती विश्वविद्यालयका एजेन्ट बस्छन् र व्यवसायीसँग निरन्तर ‘निगोसिएसन’ का लागि ‘अप्रोच’ गरिरहेका हुन्छन्।
नामका अघि डा. राख्न लालायित व्यवसायीहरु ६ हजार डलर खर्चिन तम्तयार छन्। अहिले नाम चलेका केही व्यवसायीले उक्त परिमाणबराबरको रकम खर्चेर डा. उपाधि लिइसकेका छन्।
यसरी रकम खर्चेर पिएचडी उपाधि लिनेमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा, नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, ह्याम्स अस्पतालका अध्यक्ष राशरण भण्डारी, ग्रान्डी इन्टरनेसनल अस्पतालका अध्यक्ष दीपक कुँवर, शिवम सिमेन्ट लिमिटेडका अध्यक्ष सुरेन्द्रकुमार गाेयल, वृहत ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक ओमबहादुर राजभण्डारी, नेपाल उद्याेग परिसंघका पूर्वअध्यक्ष सतिशकुमार माेर, सिंगापुर बेभरेज प्रालिका संस्थापक आशिष शर्मालगायत व्यवसायी छन्।
‘कतिपय व्यवसायीलाई नेपालमा भएका एजेन्टहरूले बारम्बार फोन गरिरहेका हुन्छन्,’ उद्योगी शशिकान्त अग्रवालले क्यापिटल नेपालसँग भने, ‘भारतमा रहेका प्रख्यात विश्वविद्यालयबाट पिएचडी सर्टिफिकेट दिने र त्यसवापत न्यूनतम शुल्क लाग्ने भन्दै पटक–पटक फोन आउँछ। म आफैंले कैयौंपटक उनीहरूको प्रस्ताव नकारेको छु।’
कतिपय व्यवसायीलाई नेपालमै रहेका एजेन्टले फोन गरेर पिएचडी सर्टिफिकेट लिन अनुरोध गरिरहेका छन् भने कतिपय व्यवसायीलाई भारत तथा अन्य देशबाट फोन आउने गरेको छ।
‘फेब्रुअरी २६, २०२३ मा इन्डोनेसियामा पिएचडी वितरण कार्यक्रम राखिएको इमेल मलाई पनि आएको थियो,’ उद्योगपति पशुपति मुरारकाले भने, ‘मैले सिधै अस्वीकार गरिदिएँ।’
युराेपियन इन्टरनेसनल युनिभर्सिटीबाट पिएचडी उपाधि लिएका नेपाली तथा विदेशीका तस्बिर र नामावली :
मुरारकालाई फ्रान्स पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट डा. अजय देसाईको प्रोफेसनल डक्टरल कमिटी कोअर्डिनेटर कार्यालयका कर्मचारीले पिएचडी अफरको इमेल गरेका थिए।
‘एउटा फारमसहित विश्वविद्यालयको प्रोफाइल पठाइएको थियो,’ मुरारकाले क्यापिटल नेपालसँग भने, ‘आफूलाई उक्त पिएचडी कुनै काम नलाग्ने र देशबाट पनि अनावश्यकरूपमा डलर बाहिर पठाउने काममा लाग्दिनँ।’
नेपालमा एकपछि अर्को व्यवसायीले पिएचडी उपाधि लिन थालेसँगै त्यस्ता विश्वविद्यालय र एजेन्टहरूको व्यापार वृद्धि भइरहेको छ। आफ्नो क्षेत्रमा सफलता हासिल गरेका व्यवसायी तथा उद्योगीलाई विभिन्न विश्वविद्यालयको हवाला दिएर इमेल पठाउने र त्यसैलाई आधार मानेर नेपालमा धेरै व्यवसायीले पिएचडी लिइसकेका छन्।
व्यवसायीलाई आउने इमेलमा विश्वविद्यालयबाट आएको फारम, कुल तिर्नुपर्ने रकमको ५० प्रतिशत सुरुमै बुझाउनुपर्ने र सर्टिफिकेट प्राप्त गरेको दिन बाँकी रकम (डलर) भुक्तानी गर्नुपर्ने हुन्छ।
पाँच वर्षअघि यो तहको विकृति थिएन। तर, अहिले व्यापक मौलाएको उद्योगी अग्रवाल बताउँछन्। पैसाको भरमा पिएचडी लिने कामले तीव्रता पाउँदा वार्षिकरूपमा ठूलो रकम बाहिरिने गरेको उनीहरूको तर्क छ।
‘पिएचडी सर्टिफिकेट लिन वर्षको २ सयजनालाई इमेल तथा फोन आउँछ। त्यसको १० प्रतिशतले मात्रै लिए भने २० जना हुन्छन्,’ अग्रवालले भने, ‘८० लाख रुपैयाँ नेपालबाट बाहिरिन्छ। नेपाली रुपैयाँमै तिर्दा त ठिकै हो। तर, डलरमा भुक्तानी गर्नुपर्छ।’
कुनै कोर्स पनि पढ्नु नपर्ने, कक्षामा जान पनि नपर्ने, सिधै पिएचडी सर्टिफिकेट घरमै आइपुग्ने वा विशेष समारोह गरेर लिन पाइने भन्दै इमेल आएको उद्योगी/व्यवसायीको भनाइ छ।