काठमाडौं। टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन (इआइए) हुने भएको छ। २०७७ मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले उक्त सुरुङमार्गको पूर्व–संभाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलीटी) तयार पारेको थियो।
त्यसयता चाइनिज पक्ष नेपाल आएको छैन। तर, सडक विभागलाई इआइए अध्ययन गरेर प्रतिवेदन तयार गर्न आग्रह गरेको छ। सोहीअनुसार विभागले इआइए अध्ययनका गर्ने भएको हो।
विभागले करिब २ महिना पहिला इआइए अध्यनका लागि वन तथा वातावरण मन्त्रालयसँग अनुमति मागेको छ। विभागका महानिर्देशक (डिजी) अर्जुनजंग थापाका अनुसार वन मन्त्रालयले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
टोखा–छहरे सुरुङमार्ग निर्माण गर्ने योजना स्थलमा शिवपुरी राष्ट्रिय निकुञ्ज पर्ने भएकाले पनि इआइए अध्ययनको स्वीकृति पाउन केही समय बढी लाग्न सक्ने अनुमान विभागका कर्मचारीको छ।
क्यापिटल नेपालसँग डिजी थापाले भने, ‘इआइए अध्ययनका लागि तयारी भएको छ, नेपाल भित्रकै कम्पनीले अध्ययन गर्छन्। त्यसका लागि वन मन्त्रालयले अनुमति दिनुपर्छ।’ वन मन्त्रालयले अनुमति दिएपछि सडक विभागले इआइए अध्ययनका लागि ठेक्का आह्वान गर्नेछ।
इआइए अध्ययन सम्पन्नपछि सडक विभागले चिनियाँ टोलीलाई नेपाल बोलाएर थप छलफल गरी सम्भाव्यता अध्ययनको चरणमा पुग्ने बताइएको छ।
२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा चीनले अनुदानमा सुरुङ मार्ग निर्माणको सम्झौता भएको थियो। सो समयमा सुरुङमार्ग निर्माण सहयोग सम्बन्धमा अर्थ मन्त्रालय र चीनबीच सम्झौता भएको थियो। सम्झौताअनुसार चीनले प्रारम्भिक चरणको अध्ययन २०७७ मा सम्पन्न गरी सकेको छ।
उक्त अध्ययन चाइना कम्युनिकेसनका प्रमुखसहित भूगर्भ, सुरुङ र राजमार्ग इन्जिनियरलगायत ९ जना प्राविधिक टोलीले गरेको थियो। चिनियाँ टोलीलाई प्रारम्भिक अध्ययन गर्न करिब एक महिना लागेको थियो। प्रारम्भिक अध्ययनअनुसार सुरुङको लम्बाइ ४ किलोमिटर हुनेछ।
त्यस्तै चौडाइ २ तथा एकातिर ‘सर्भिस ट्रयाक’ हुने छ भने, लागत ३० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यद्यपि आयोजनाको वास्तविक लागत भने विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पछि मात्रै एकिन हुने छ।
रसुवागढी सडकको दूरी छोट्याउन सो खण्डमा सुरुङ निर्माण गर्न लागिएको हो। सुरुङ निर्माण भएपछि करिब १२ किलोमिटर दूरी घट्ने सडक विभागले जनाएको छ। अहिले रसुवागढी–स्याफ्रुबेंसी–धुन्चे पुग्ने गरेकोमा सुरुङमार्फत धुन्चे नपुगी रसुवागढीबाट स्याफ्रुबेंसी–मैलुङ दोभान हुँदै विदुर आउन सकिन्छ।
त्यस्तै चीनले राजधानी काठमाडौंदेखि सीमा नाका रसुवागढीसम्म सडक बनाइदिने प्रतिबद्धता जनाएको छ। चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा काठमाडौं टोखा–छहरे नुवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुबेंसीसम्म सुरुङ सहितको सडक निर्माण गरी दिन चीन सहमत भएको छ।
पहिलो चरणमा काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किलोमिटर सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो।
काठमाडौंबाट गल्छी–स्याफ्रुबेंसी–रसुवागडीको दूरी १२८ किलोमिटर छ। काठमाडौंको बाइपास, नुवाकोटको विदुर, रसुवाको धुन्चे र स्याफ्रुबेंसी हुँदै रसुवागडीको दूरी १५२ किलोमिटर छ। टोखा–छहरे गँगटे ४४ किलोमिटर छ। गँगटे–बेत्रावती १७, बेत्रावती–मैलुङ १०, मैलुङ–स्याफ्रुबेंसी १९, स्याफ्रुबेंसी–रसुवागढी १६ किलोमिटर छ।
अहिले सो खण्डसहित धादिङको गल्छीदेखि रसुवागडीसम्म सडक निर्माधीन अवस्थामा छ। त्यस्तै चीन सरकारले नै गत पुसबाट केरुङ–रसुवागढी–काठमाडौं रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ।