काठमाडौं। ललितपुर कुमारीपाटीस्थित युनाइटेड एकेडेमीमा कक्षा ११/१२ पढ्ने विद्यार्थीले ‘रेन अलार्म सिस्टम’ को प्रोटोटाइप निर्माण गरेका छन्। घरभित्र बसेका बेला आकासबाट पानी पर्न लागेको जानकारी कोठामा अलार्म बजेर यो सिस्टमले दिने गर्छ।
तर, अलार्म बज्न भने एक थोपामात्रै भए पनि पानी पर्नुपर्छ।रेन अलार्म सिस्टम एक इलेक्ट्रोनिक उपकरण हो, जसले प्रयोगकर्तालाई पानी परेको जानकारी समयमै गराउँछ। निहारिका नेम्वाङ, स्वर्णिमा चौरसिया, सिमरन थापा मगर, बिवेश राई, सितु मानन्धर र रुबिना कार्की मिलेर यो प्रोटोटाइप तयार गरेका हुन्।
रेन अर्लाम ‘डिटेक्टिङ सेन्सर’ हो।
यसमा घरको छत वा कौसीमा रेन सेन्सर राखिएको हुन्छ। जब पानी पर्छ, त्यसपछि यसले सेन्सर गरेर अलार्म अर्थात घन्टी बज्छ। घन्टी बजेपछि पानी परेको थाहा पाइन्छ। त्यसपछि बाहिर सुकाएका सामान भित्र ल्याउन र भिज्नबाट बचाउन सकिन्छ।
‘पानीको थोपालाई सेन्सरले डिटेक्ट गरेपछि यसको डेटा डिजिटलमा पुगेपछि त्यो डेटाले घन्टीसम्म पु¥याउँछ र त्यसपछि अर्लाम बज्छ,’ विद्यार्थी निहारिका नेम्वाङले भनिन्, ‘पानी परेपछि सामान्यतयाः थाहा हुन्छ तर घरभित्र कुनै काम गरिररहेका छौं र बाहिर राखिएका सामग्री पानीले भिज्नुभन्दा अगाडि नै उठाउन आवश्यक छ भने आकासबाट पानीको थोपा चुहिनेबित्तिकै यस सेन्सरले अलार्म बजाउँछ र सामान भिज्नबाट बचाउन मद्दत गर्छ।’
उनका अनुसार पानी परेको बारे दृष्टिबिहीनलाई थाहा नहुन सक्छ अर्थात ढिला थाहा हुनसक्छ। उनीहरूका लागि समयमै पानी परेको कुरा जानकारी गराउन पनि यो प्रणाली निकै महत्वपूर्ण छ। उनीहरूले यो सेन्सर घरको छानामा राख्न बनाएको भए पनि यसलाई अन्य ठाउँमा पनि प्रयोग गर्न सकिन्छ। कृषि–बालीमा केही समय अघिमात्र पर्याप्त पानी लगाएको छ भने यो सेन्सरका माध्यमले समयमै त्यहाँ बढी हुनसक्ने पानीको मात्रा रोक्न मद्दत गर्छ।
त्यस्तै यसबाट आकासबाट परेको पानी जम्मा गर्न पनि मिल्छ। ‘पानी जोगाउन यसमा रेन वाटर कन्ट्रोल सिस्टम जडान गर्न मिल्छ,’ अर्की विद्यार्थी स्वर्णिमा चौरसियाले भनिन्, ‘यो सामान्यरूपमा सबैलाई दैनिक प्रयोगका लागि बनाइएको हो। यो किसानका लागि पनि निकै उपयोगी छ।’
घरको ट्यांकीमा पानी बढी भएर खेर गएको थाहा नपाउने अवस्थालाई पनि यसले रोक्ने बताइन्। यस प्रणालीले ट्यांकीको पानी बढी भएर खेर गएको र पानी बन्द गर्ने समय भएको कुराको जानकारी पनि समयमै गराउने उनको भनाइ छ।
उनीहरूले यो प्रणाली कक्षामा प्रयोगात्मक कार्य गर्दै गर्दा विकास गरेका हुन्। हाल यसले अलार्म बनाएर पानी परेको जानकारीमात्र दिन्छ तर कहिलेकाहीँ मानिस एकदमै व्यस्त भएका कारण अलार्म बजे पनि समयमा काम गर्न सक्दैन।
बाहिर सुकाएका कपडा व्यस्तताका कारण समयमै उठाउन तथा अन्य घाममा सुकाएका वस्तु उठाउन नभ्याइने भएकाले पछि गएर यसलाई ‘कभरिङ लेयर’ बनाउने उनीहरूको योजना छ। जसले गर्दा पानी पर्नेबित्तिकै सेन्सरले डिटेक्ट गर्छ र लगत्तै आकासबाट आएको पानी कन्ट्रोल गरेर अर्थात कभर गरेर भिज्नबाट बचाउँछ।
त्यस्तै किसानले धान तथा अन्य बालीमा मोटरबाट पानी खुल्लै छाडेका हुन्छन् र एक्कासि आकाबिाट पानी पर्यो भने यसको सेन्सरले अलार्म गरिदिन्छ। त्यसपछि पानी चलाइरहेको मोटर समयमा बन्द गर्न पनि यसले मद्दत गर्दछ।
यसर्थ, किसानका लागि तथा सबैका लागि यो आवश्यक भएका कारण यसलाई उत्पादन गरेर थप प्रयोगयोग्य बनाउने उनीहरूको सोच छ। नेपालजस्तो कृषिप्रधान देशका लागि यस्तो प्रणाली निकै उपयोगी हुने उनीहरूको भनाइ छ।
युनाइटेड एकेडेमीले आफ्नो २५औं वार्षिकोत्सवमा युनाइटेड रोबोटिक्स फेस्टिभल सञ्चालन गरेको थियो। रोबोटिक्स एसोसिएसन अफ नेपाल (¥यान) को सहकार्यमा एकेडेमीले पहिलोपटक आयोजना दुई दिने विज्ञान प्रदर्शनी गरेको थियो।
रोबोटिक्सका म्यानेजर तथा एकेडेमिका संयोजक नीर सिंह रेन अलार्म सिस्टम विद्यार्थीहरूले मिलेर बनाएको एउटा राम्रो अवधारणा भएको बताए। नेपाली जनजीवनका लागि यो निकै उपयोगी प्रणाली भएको र यसलाई उत्पादनको चरणसम्म पुर्याउने उनको भनाइ छ।