काठमाडौं। प्रस्तावित ६ सय ३५ मेगावाटको दूधकोसी जलाशय आयोजनामा करिब साढे ७५ अर्ब रुपैयाँ लगानी गर्न एसियाली विकास बैंक (एडिबी) ले प्रतिबद्धता जनाएको छ।
लगानी प्रतिबद्धताका लागि एडिबीबाट आशयपत्र प्राप्त भएको छ। एडिबीले दूधकोसी जलाशयलाई ५८ करोड अमेरिकी डलर (७५ अर्ब ४० करोड रुपैयाँ) लगानी गर्ने जानकारी गराएको हो।
यसअघि सरकारले दूधकोसीमा लगानीका लागि औपचारिकरूपमा एडिबीलाई आग्रह गरेको थियो। योसमेत गरी अन्य दातृ निकायबाट लगानी जुटाउने प्रयास भइरहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए।
आयोजनामा एडिबीका अतिरिक्त जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), एसियन इन्फ्रास्ट्रक्चर बैंक (एआइआइबी) र युरोपियन इन्भेस्टमेन्ट बैंकसँग लगानीका लागि कुरा भइरहेको छ। यसअघि अर्थ मन्त्रालयले ती दातृ निकायलाई लगानी गर्न पत्राचार गरेको थियो।
एडिबीले आशयपत्र जारी गरेकाले छलफलमा रहेका अन्य बैंकले पनि लगानी गर्ने अर्थले जनाएको छ। दूधकोसी जलाशय मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सियल) बनाउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको छ। आयोजनामा एडिबीले अगुवाइ (लिड) गर्ने भएको छ।
आयोजनाको अनुमानित लागत १ अर्ब ५३ करोड डलर (करिब १ खर्ब ६० अर्ब रुपैयाँ) र निर्माण अवधिको ब्याज र करसहित सम्पूर्ण लागत करिब २ अर्ब डलर पुग्ने अनुमान छ। एडिबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन (डिपिआर) को काम सकिएको छ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा दूधकोसीलाई प्राथमिकतामा राख्दै लगानी जुटाएर निर्माण थाल्ने घोषणा गरेको थियो। जाइकाले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत आयोजनामध्ये सरकारले दूधकोसीलाई पहिलो प्राथमिकतामा राखेको हो।
लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोसी तुलनात्मक सस्तो र आकर्षक भएकाले आर्थिकरूपमा लगानीयोग्य भएको जानकारी सरकारले एडिबीलगायत दातृ निकायलाई दिइसकेको छ।
आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट बिजुली उत्पादन हुनेछ। त्यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र बर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ।
आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ। जलाशययुक्त आयोजना भए पनि विस्थापित हुने घरधुरी तुलनात्मकरूपमा कम छन्।
१ सय ६२ घरपरिवारमात्र पूर्णविस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुनेछन्। यस्तै १ हजार ५० घरपरिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने छ।
आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दूधकोसी नदीमा १७ किलोमिटर, रावा खोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने प्रस्ताव गरिएको छ। यस्तै १३.३० किलोमिटर लामो सुरुङ हुनेछ। आयोजनास्थलसम्म पुग्ने पहुँच सडक लगभग तयारी अवस्थामा छ।
उत्पादित बिजुली प्रस्तावित सुनकोसी–ढल्केबर ४०० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने छ। सुक्खा र पिकआवरको विद्युत माग पूरा गर्न जलाशय आयोजना आवश्यक पर्ने भएपछि सरकारले दूधकोसीलाई अघि बढाएको हो।
जग्गा अधिग्रहण जारी
जलशाययुक्त जलविद्युत आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु भएको छ।
खोटाङ रावाबेँसी–३ लामिडाँडा र ओखलढुंगा चिसंखुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोसी नदीस्थित रभुँवाघाटबाट ५ हजार ८ सय २६ कित्ता जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको थियो। आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्ने छ।
यसमध्ये १ हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिका नाममा छ। व्यक्तिगत जग्गा आयोजनाका नाममा ल्याउने प्रक्रिया अघि बढिसकेको छ। ओखलढुंगाको ७ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ। ओखलढुंगा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइसकेको छ।