चितवन। प्रेम दिवसको अवसरमा सौराहामा आजदेखि फुड फेस्टिभल सुरु भएको छ। रेष्टुरेन्ट एन्ड बार एसाेसिएसन (रेवान) सौराहाले आयोजना गरेको फेस्टिभलको बागमती प्रदेशका सदस्य पूर्वमन्त्री कृष्णप्रसाद खनालले उद्घाटन गरे।
उक्त अवसरमा उनले पछिल्लो समय कोभिडका कारण थलापरेको पर्यटन व्यवसाय उकास्न यो कार्यक्रम प्रभावकारी हुने बताए। प्रदेश सरकारले यहाँको पर्यटन व्यवसाय प्रवर्द्धनका लागि काम गरेको विगतलाई स्मरण गरे। उनले सौराहाको दायरा फराकिलो बनाएर फरक ढंगले प्रचारात्मकरूपमा लाग्नुपर्ने बताए।
रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले सौराहाको विकास यथास्थितिमा हुँदा स्थानीय सरकार र व्यवसायीको सहकार्यमा विकासको काम अघि बढाउन आवश्यक रहेको बताए।
रेवानका केन्द्रीय अध्यक्ष अरनीको राजभण्डारी, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, रेवान महिला समूहकी अध्यक्ष रश्मी बिडारी र रत्ननगर नगरपालिका–६ का अध्यक्ष किरण महतोले फुड फेस्टिभलको महत्त्वबारे प्रकाश पारेका थिए। यसअघि सौराहामा विभिन्न जातजातिको वेशभूषासहितको शोभायात्रा गरिएको थियो ।
प्रेम दिवस मनाउन आउनेको स्वागतका लागि व्यवसायीले सौराहालाई सिँगारेका छन्। फेस्टिबलका संयोजक ध्रुव गिरीले फुड फेस्टिबल व्यवस्थित गरिएको भन्दै यहाँ आउने पर्यटकका लागि फरक-फरक स्वादका खानाको व्यवस्था गरिएको बताए। सौराहाका मुख्य बजार क्षेत्रलाई पनि सिँगारिएको छ।
रेवानका अध्यक्ष नरेश गिरीले मुलुकको तेस्रो पर्यटकीय गन्तव्यका रूपमा स्थापित सौराहामा व्यवसायीले पर्यटन विकासका लागि फेस्टिबल आयोजना गरिँदै आएको बताए। उनले भने, 'फेस्टिबलमार्फत पर्यटक भित्र्याउने अर्को उद्देश्यले सुरु भएको फुड फेस्टिभल पछिल्लो समय प्रणय दिवस मनाउने जोडीका लागि अवसर बनेको छ।'
'भ्यालेन्टाइन डे' मा परिवार तथा प्रेमिकासँग रमाउनेका लागि व्यवसायीले सौराहालाई उत्कृष्ट थलोका रूपमा चिनाएका छन्। सौराहामा आएका विदेशी पर्यटक तथा स्वदेशी पर्यटकले पनि सौराहामै प्रणय दिवस मनाउने गरी तयारी गरिएको आयोजकले जनाएको छ।
‘सडकमै खाऔं सडकमै रमाऔं’ भन्ने नाराका साथ हात्ती चोकदेखि ड्याकसम्म र मल्लुचोकदेखि गैंडाचोकसम्मको बजार क्षेत्रमा व्यवसायीले सडक किनारमा खानाको परिकार बनाएर पर्यटकलाई बिक्रीका लागि राखेका छन्।
संयोजक गिरीका अनुसार फेस्टिभलमा हरेक दिन हुने सडक फुड फेस्टिभलमा विभिन्न जातजातिको झाँकीको प्रस्तुति रहने छ। तीन दिनसम्म सञ्चालन हुने फुड फेस्टिभलमा स्थानीय परम्परागत तथा विदेशी खाना, स्थानीय कला संस्कृति, विभिन्न जातजातिको झाँकी प्रस्तुत हुनेछ।
नेपालका विभिन्न समुदाय र जातिका खानाका परिकारदेखि अन्तर्राष्ट्रियस्तरका खानाको परिकार उपलब्ध हुने फुड फेस्टिभलमा दैनिक पाँच हजार पर्यटकले अवलोकन गर्ने आयोजकको अनुमान छ। करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको गिरीले जानकारी दिए।
कोभिडपछि यहाँको व्यवसाय उठ्न सकेको छैन। स्वदेशी र विदेशी पर्यटकको जङ्गल सफारीका लागि सौराहा पहिलो गन्तव्य हो।