चमचम
चमचम विशेषगरी नेपालको तराई क्षेत्रमा बनाउने गरिए पनि हिजो आज काठमाडौंलगायत मुलुकभरि पाइने र खाने गरिन्छ । बडादशैं, दिपावली तथा फागूपूर्णिमाजस्ता चाडबाडमा यो मिठाई खाने चलन छ । हुनत बजारमा अनेक प्रकार एवम् फ्लेवरका चमचम पाउन सक्नुहुन्छ । तर, पसलको चमचम किनेर खानुभन्दा यस पटकको तिहारमा घरमै बनाएर आफ्ना दाजुभाइलाई ख्वाउनुहोस् ।
चमचम बनाउन चाहिने सामग्री
पनीर तीन सय ग्राम
मैदा दुई चम्चा
पिसेको सुकमेलको पाउडर दुई चम्चा
चिनी डेढ कप
कन्डेन्स्ड मिल्क दुई सय ग्राम
खाने रङ (पहेंलो) आधा चम्चा
पानी चार कप
एक मुठीजति काटेको पिस्ता (सजाउनका लागि)
चमचम बनाउने विधि
सबैभन्दा पहिला एउटा भाँडोमा तीनदेखि चार कप पानी तताउनुहोस् ।
अब यसमा चिनी हालेर उमाल्नुहोस् ।
जब चाशनी (चिनीको पाक) अलि बाक्लो गाढा हुन्छ तब यसमा खानयोग्य पहेंलो रङ मिसाउनुहोस् ।
चिनीको चाशनी धेरै बाक्लो नहोस्, त्यसैले ग्यास मधुरो बनाउनुहोस् ।
एउटा भाँडोमा पनीर र मैदा हालेर राम्रोसँग मिक्स गर्नुहोस् । यसरी मिक्स गरेपछि अन्डा आकारका डल्ला बनाउनुहोस् ।
अब यी डल्ला बिस्तारै चिनीको चाशनीमा डुबाउनुहोस् र केही बेरसम्म मधुरो ग्यासमा पाक्न दिनुहोस् । एकछिन पकाएर ग्यास बन्द गरिदिनुस् ।
जब चाशनी सेलाएर चिसो हुन्छ अनि चमचम झिकेर प्लेटमा राख्नुहोस् ।
अब एउटा भाँडोमा कन्डेन्स्ड मिल्कमा सुकमेलको धूलोलाई राम्ररी मिसाएर यसलाई चमचममाथि राम्रोसँग लगाउनुहोस् ।
तपाईंको स्वादिस्ट चमचम तयार भयो । अब यसमा काटेको पिस्ताले सजाउनुहोस् र आफ्नो इच्छानुसार चीसो वा मनतातो बनाएर पाहुनालाई ख्वाउनुहोस् र आफू पनि खानुहोस् ।
यसलाई बनाउने सामग्री तयार पार्न १० मिनेट जति लाग्छ भने पकाएर बनाउँदासम्म ३५ देखि ४० मिनेट लाग्छ ।
माथि उल्लेख गरिएको सामग्रीले चार ओटा चमचम बन्छन् । र, यसमा ३०८ क्यालरी हुन्छ ।
नरिवल बर्फी
नरिवलको बर्फी पनि घरमै सजिलै बनाउन सकिने मिठाई हो । चाडपर्वमा अन्य समयभन्दा मिठाई बढी खाइने हुँदा बजारका अस्वास्थ्यकर तथा अखाद्य रङ तथा सामग्रीबाट बनेका मिठाईको सट्टा आफैंले घरमा बनाएका खानु स्वास्थ्यलाई राम्रो हुन्छ ।
नरिवल बर्फी बनाउन चाहिने सामग्री
घ्यु तीन चम्चा
सुजी तीन चौथाइ कप
पिसेको नरिवल आधा कप
दूध दुई कप
चिनी तीन चौथाइ कप
पिसेको सुकमेल एक चम्चा
पिस्ता एक मुठी
बर्फी बनाउने विधि
सबैभन्दा पहिला एउटा भाँडोमा घ्यु तताउनुहोस् । र, त्यसमा सुजी हालेर मधुरो आगोमा भुट्नुहोस् । सुजी भुटिएर रातो भएपछि त्यसमा पिसेको नरिवल हालेर तीनदेखि पाँच मिनेटसम्म मधुरो आगोमा भुटिरहनुहोस् । अब झिकेर प्लेटमा राख्नुहोस् ।
त्यसपछि एउटा भाँडोमा दूध उमाल्नुहोस् । अब उम्लेको दूधमा सुजी र नरिवलको मिश्रण हालेर राम्ररी मिक्स गर्नुहोस् । मिक्स गर्दा डल्ला पर्न सक्छ, त्यसैले मधुरो आगोमा राम्ररी चलाई चलाई मिक्स गर्नुहोला । मिक्स गर्दा चिनी र सुकमेलको धूलो पनि हाल्नुहोला । केही बेरमा सबै दूध सुजी र नरिवलले सोस्छ ।
पाँचदेखि दश मिनटसम्म पकाएर हलुवा जस्तो हुनलागेपछि झिक्नुहोस् । अब यसलाई घ्यु दलेको एउटा प्लेटमा खन्याएर जम्नका लागि फ्रिजमा राख्नुहोस् । केही बेरपछि झिकेर आपूmलाई मन पर्ने आकारमा काट्नुहोस् । नरिवलको स्वादिस्ट बर्फी तयार भयो, अब पिस्ताको धूलोले सजाएर पाहुनासँगै आपूm पनि बर्फीको स्वाद लिनुहोस् ।
यसलाई बनाउने सामग्री तयार पार्न १० मिनेट जति लाग्छ भने पकाएर बनाउँदासम्म आधा घण्टा लाग्छ ।