काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जभित्र ‘जिप सफारी’ गर्न विभिन्न समयमा परिवर्तन हुने नीतिले व्यवसायीहरु समस्यामा परेका छन्। निकुञ्जमा नेतृत्व परिवर्तन भएलगत्तै आउने नयाँ परिपत्रका कारण जिप सफारी गर्दै आएका होटल तथा रिसोर्ट सञ्चालक मारमा परेका हुन्।
खासगरी निकुञ्जको पश्चिम प्रेवशद्वार नवलरपरासीको अमलटारी क्षेत्रमा रहेका होटल तथा रिसोर्टले जिप सफारी गर्न अनुमति पाउनसमेत धौधौ हुने गरेको छ।
यो वर्षको सिजनका लागि गत भदौ १७ देखि नै अनुमतिका लागि निवेदन दिइए पनि माघ १० मामात्र दुइटा जिप सफारी अनुमति पाएका छन्।
अनुमति ढिला दिँदा माघअघि जिप सफारीका लागि त्यस क्षेत्रमा आउने धेरै पर्यटक समस्यामा परेको व्यवसायीहरुको गुनासो छ।
निकुञ्जमा कार्यालय प्रमुखहरु परिवर्तन भएसँगै सफारीका लागि नीतिनियम परिवर्तन भइरहँदा वर्षौंदेखि त्यस क्षेत्रका व्यवसायीले समस्या भोग्दै आएको टेम्पल टाइगर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष बसन्त मिश्रले जानकारी दिए।
अस्थिर नीतिका कारण व्यवसायीले आफ्ना ग्राहकलाई दिने सेवासुविधामा समेत समस्या पाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। निजी क्षेत्रको असीमित लगानी तथा दशकौंको लगानी तथा दशकाैंको अथक प्रयासबाट वन्यजन्तु पर्यटन (वाइल्डलाइफ टुरिज्म) को एक प्रमुख गन्तव्यका रुपमा स्थापित निकुञ्जमा सञ्चालित होटल तथा रिसोर्टहरुले लामो समयदेखि भोग्नुपरेका समस्या नीतिगत रुपमा समान नहुनु नै मुख्य कारण रहेको मिश्र बताउँछन्।
‘निकुञ्जले पूर्वदेखि पश्चिमसम्म समान नीतिगत व्यवहार गर्नु अत्यन्त आवश्यक छ,’ कार्यकारी अध्यक्ष मिश्रले क्यापिटल नेपालसँग भने, ‘जसका कारण निकुञ्ज क्षेत्र भ्रमणमा उत्सुक रिसोर्टका पर्यटकलाई जंगल सफारीका लागि सवारीसाधन उपलब्ध गराउँदा सबैलाई समान व्यवहार गरिनुपर्छ।
त्यसबाहेक सम्पूर्ण होटल व्यवसायीलाई समेट्न होटलको स्तर अनुभव, राजस्व संकलन तथा पर्यटक संख्याका आधारमा गाडीको संख्या तोकिनुपर्छ।’
जिपमात्र नभई डुंगा उपलब्ध गराउनसमेत एउटै व्यावहारिक नीति अवलम्बन तथा सबैको सहमतिमा स्थानीय समितिको प्रभावकारिताका लागि दूरगामी महत्वको सोच र नीति त्यतिकै आवश्यक रहेको अध्यक्ष मिश्रको भनाइ छ।
‘कुनै क्षेत्रमा एकथरी, अर्को क्षेत्रमा अर्कोथरी नीति हुनुहुँदैन,’ मिश्रले भने, ‘पर्यटकका लागि निकुञ्ज खुला गर्ने बेलामा सबैतिर एकैचोटि खुला गर्नुपर्दछ तर अहिले असमानता छ। चितवन पूर्वदेखि पश्चिमसम्मको नीतिमा असमानता छ, कर्मचारीको लहडका भरमा नीति र विभिन्न किसिमका नियम निर्धारण गरिनु प्रत्युत्पादक हुन्छ र हुनेछ।’
अहिले निकुञ्ज क्षेत्रमा नियमकानुन भनेको मौखिक आदेशका भरमा रहेकाले कसैसँग चित्त बुझेन भने निकुञ्जको बाटो नै बन्द गरिदिने, महिनौंसम्म खुला नगरिदिने, कसैसँग चित्त बुझे चाँडै खुला गरिदिने र अन्य थप सुविधा पनि प्रदान गर्ने परिपाटी हटाउन अध्यक्ष मिश्रले आग्रह गरेका छन्। उनले निकुञ्ज खुल्ने र बन्द हुने समय सबै क्षेत्रका लागि एउटै हुनुपर्ने समेत बताए।
‘दीर्घकालीन नीति अभाव र संकीर्ण सोचले निकुञ्ज, निजी क्षेत्र वा राष्ट्रको छवि राम्रो पार्दैन र पर्यटन उद्योग फस्टाउन मद्दत पनि गर्दैन,’ उनले भने, ‘वन्यजन्तु पर्यटन निकै प्रतिस्पर्धापूर्ण र चुनौतीपूर्ण व्यापार–व्यवसाय भएकाले समस्या समाधानप्रति जिम्मेवार र सम्बद्ध निकाय जागरुक हुनैपर्दछ।’
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले कुनै क्षेत्रलाई विभेद नगरिएको दाबी गरे। निकुञ्जका पाँचवटा प्रवेशद्वारमध्ये नवलपरासी अमलटारी क्षेत्रमा रहेको त्रिवेणी नदीमा पानीको बहाव कम हुने भएकाले जिप सफारीका लागी अनुमति ढिला दिएको उनले बताए। कुनै क्षेत्रमा विभेद गर्ने नीति आफूहरूको नरहेको उनको भनाइ छ।
‘अमलटारीबाहेक अन्य क्षेत्रमा वर्षात सकिनेबित्तिकै खोला तर्न सक्ने भएकाले सफारीका लागि खुला गर्ने गरिएको छ,’ सूचना अधिकारी तिवारीले भने, ‘होटल तथा रिसोर्ट विशेषभन्दा समूहलाई दिएका छौं। कुनै क्षेत्र वा पक्षलाई विभेद गर्न आवश्यक छैन।’
हाल निकुञ्जभित्र ६१ वटा जिप सञ्चालन हुँदै आएको निकुञ्ज कार्यालयले जनाएको छ।