काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर थाई स्माइल एयरवेजका इन्जिनियरसँग ‘१० लाख रुपैयाँ’ मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परे।
थाई स्माइलका ती इन्जिनियरसँग पैसा मागेको अडियोे कानमा परेपछि पर्यटनमन्त्री सुदन किराँतीले महाप्रबन्धक ठाकुरलाई गत शुक्रबार निलम्बन गरिदिए।
मन्त्री किराँतीले ठाकुरलाई निलम्बनमात्र गरेनन्, थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आग्रह गर्दै पत्र पनि पठाएका छन्।
भलै, निलम्बित महाप्रबन्धक ठाकुरले ‘आफूले थाई स्माइलका इन्जिनियरसँग पैसा नमागेको बरु थाई स्माइलले अन्य वायुसेवालाई उपलब्ध गराउँदै आएको इन्जिनियरिङ सेवा नवीकरण गर्नमात्र भनेको तर आफूलाई फसाइएको’ दाबी गरेका छन्।
ठाकुरले जे जस्तो दाबी गरे पनि यस घटनामा उनको संलग्नता अस्विकार गर्न सकिँदैन। उनले नवीकरण गर्नमात्र भनेको दाबी गरे पनि थाई स्माइलका इन्जिनियरसँगको रेकर्डेड अडियोमा तोकेरै पैसा मागेको उल्लेख भएको पर्यटन मन्त्रालयको भनाइ छ।
थाई स्माइलका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रीस्तरीय निर्णयअनुसार महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजेन्द्रकुमार केसीले शुक्रबार बताएका थिए।
अब अख्तियारले उक्त घटनालाई मिहिन ढंगले अनुसन्धान गरेपछि मात्र थप सत्यतथ्य बाहिर आउने छ। अख्तियारले उक्त कुराकानीमा जोडिएका सबैसँग सोधपुछ गरेर अनुसन्धान गर्नुपर्छ। अनुसन्धानको निचोड नआउन्जेल ठाकुरको निलम्बन निरन्तर हुनेछ।