काठमाडौं । यसबर्षको लक्ष्मीपूजाको दिन अर्थात आज बिजुलीको माग १०८९ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले ११९० मेगावाट विद्युत् माग हुने प्रक्षेपण गरेपनि त्यो भन्दा विद्युत् खपत कम भएको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले क्यापिटल नेपाललाइ जानकारी दिए । उनले गतबर्षको तुलनामा विद्युत माग घटेकाले प्रक्षेपण गरिएभन्दा निकै कम विद्युत् खपत भएको बताए । गतबर्ष लक्ष्मीपूजाको दिन ११०५ मेगावाट विद्युत् खपत भएको थियो ।
गतबर्षभन्दा यसबर्षको लक्ष्मीपूजाका दिन भारतबाट आउने बिद्युत्को माग पनि घटेको अधिकारीले बताए । विगतमा लक्ष्मीपूजाको दिन भारतबाट ५०० मेगावाटभन्दा बढि विद्युत् आयात हुने गथ्र्यो । तर, यसपाली भने भारतबाट १०७ मेगावाट मात्रै विद्युत् आयात भइ खपत भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सहायक कम्पनीमार्फत उत्पादित ५४६ मेगावाट र निजीक्षेत्रका आयोजनाबाट ४३५ मेगावाट विद्युत् लक्ष्मीपूजाका दिन खपत भएको प्राधिकरणले जनाएको छ ।
हिन्दु नेपालीहरुको दोस्रो महान पर्व तिहारको लक्ष्मीपूजाको दिन सवैभन्दा बढि विद्युत् माग हुने समय हो । तिहारका बेला झिलिमिली बत्ती, चिम लगायतका विद्युत्तीय बत्तीले झिलिमिलि पार्ने गरिएको छ । प्राधिकरणले तिहारको अवधिभर माग अनुसारको विद्युत् आपूर्तिको बन्दोवस्त र तयारी गरेको जनाएको छ ।
अन्य समयमा भने विद्यूत्को माग १००० मेगावाट भन्दा बढी हुने गरेको छ । २०७३ को लक्ष्मीपुजाकै दिन कुलमान घिसिङले काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य गरी झलमल्ल काठमाडौं बनाउन सफल भए ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकभएर आएका कुलमान घिसिङले डेढ महिनामा नै काठमाडौंको लोडसेडिङ अन्त्य गरेर चमत्कार गरे । घिसिङले नेपाल विद्युत् प्राधिकरणको कमान्ड सम्हाल्नुअघि मुलुक दैनिक १० घण्टा लामो लोडसेडिङमा थियो । विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकनियुक्तभएको करिब डेढ महिनाभित्र घिसिङले मुलुकलाई अन्धकारबाट उज्यालोतर्फ लम्काए ।
तिहारको लक्ष्मीपूजाको दिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिसहितको प्राविधिक टीम कार्यस्थलमै खटिएको थियो । प्राधिकरणले विभिन्न ठाउँमा अपरेटर, प्राविधिक र नो लाइटका कर्मचारी खटाएको जनाएको छ ।