काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले सहायक कम्पनीमार्फत निर्माण गरिरहेको ५७.३ मेगावाट क्षमताका दुई आयोजनाबाट आउँदो असारसम्म बिजुली उत्पादन हुने भएको छ ।
सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरिरहेको १४.८ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको तल्लो सान्जेन आयोजना निर्माण गरिरहेको छ। माथिल्लो सान्जेन आयोजना आउँदो चैतभित्र र तल्लो सान्जेन आयोजना असारभित्र सम्पन्न हुने कम्पनीले जनाएको छ।
माथिल्लो सान्जेनको काम ९६ प्रतिशत र तल्लो सान्जेनको ८८.५ प्रतिशत रहेको कम्पनीले जनाएको छ। माथिल्लो सान्जेनको सबै लटकको काम सकिएको छ।
यस्तै, इलेक्ट्रिकमेकानिकल उपकरण जडानको काम भइरहेको कम्पनीले जनाएको छ। हालसम्मको प्रगति हेर्दा दुवै आयोजना समयमै सम्पन्न हुने संभावना कम छ। दुई आयोजनाबाट ३२ करोड ४३ लाख ५ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजना बनाउन ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ अनुमान गरिएको थियो।
माथिल्लो सान्जेनको लागत निर्माण अवधिको ब्याजबाहेक २ अर्ब २१ करोड ८० लाख र तल्लोको ५ अर्ब २ करोड ४२ लाख रुपैयाँ अनुमान गरिए पनि निर्माणमा भएको ढिलाइ, कोरोना महामारी र डलरको मूल्यवृद्धि र मुद्रास्फीति र अन्य कारणले गर्दा आयोजनाको लागत बढ्ने कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । लागत कतिसम्म बढ्छ भन्ने कुरा विवरणमा उल्लेख गरिएको छैन । आयोजनामा कर्मचारी सञ्चय कोषको ऋण लगानी रहेको छ।
आयोजनामा कर्मचारी सञ्चय कोषको ३ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी रहेको छ । सञ्चय कोषको ब्याजदर १०.७५ प्रतिशत रहेको छ । प्रत्येक ३ महिनामा ब्याज पुँजीकरण हुँदै आएको छ ।
चालू आर्थिक वर्षको बजेटमा दुवै आयोजबाट चालू आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य सरकारले लिएको छ । यी दुवै आयोजना गत आर्थिक वर्षभित्रै सकिसक्ने लक्ष्य राखिएको थियो । चालू आर्थिक वर्षमा प्रणालीमा ८०० मेगावाट बिजुली थप गर्ने लक्ष्य नेपाल विद्युत् प्राधिकरणको छ ।
माथिल्लो सान्जेन २२० केभी चिलिमे हब प्रसारण लाइन सम्पन्न हुनुअघि आउने भएपछि तत्कालका लागि चिलिमे जलविद्युत कम्पनीको ३३ केभी प्रसारण लाइनबाट बिजुली प्रवाह हुनेछ । कन्टिन्जेन्सी व्यवस्थाअनुसार चिलिमे थम्बुचेतदेखि स्याफ्रुबेसीसम्म आफैंले प्रसारण लाइन निर्माण गरी बिजुली प्रसारण गर्ने योजना रहेको सान्जेनले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लावासीलाई १० प्रतिशत बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर जारी गरिसकेको छ ।
आयोजनाको निर्माण सन २०१३ बाट सुरू भएको हो । चिलिमे खोलाको पानीलाई सदुपयोग गर्दै तिलोचे बगरमा बाँधिएको बाँधबाट ल्याइएको एउटै पानीले कुल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ । सिम्बु तथा चिलिमे टारसमेतका दुई ठाउँमा छुट्टाछुट्टै विद्युतगृह पनि निर्माण भइसकेका छन् ।
कम्पनीको चुक्तापुँजी ३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । सान्जेनमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६, विद्युत प्राधिकरणको १०.३६, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीयवासीको १०, सञ्चय कोषका सञ्चयकर्ताको १९.५ प्रतिशत लगानी रहेको छ ।
संस्थापक सेयरधनी तथा ऋणदाता संस्था कर्मचारीको ४.५ र रसुवाका जिल्ला समन्वय समिति र गाउँपालिकहरुको १.२८ प्रतिशत स्वामित्व रहेको छ। सेयर पुँजी सबै संकलन भइसकेको सान्जेनले जनाएको छ।