काठमाडैं। काठमाडौंको दरबारमार्गमा 'द ब्ल्याक गोल्ड' हलाल रेस्टुरेन्ट सञ्चालनमा आएको छ ।
प्रेस्टेजियो होल्डिङद्वारा सञ्चालनमा ल्याइएको सो रेस्टुरेन्ट हालसम्मकै फरक डिजाइन र थिममा निर्माण गरिएको छ । झण्डै एक करोड लागानीमा खुलेको सो रेस्टुरेन्ट पूर्णरूपमा अरेबिक थिममा निर्माण भएको छ ।
यसअघि नै धुम्बाराही र बानेश्वरमा दुई प्रेस्टिजियो रेस्टुरेन्ट सञ्चालनमा ल्याइसकेको यस कम्पनीले दरबारमार्गमा भने अन्यभन्दा विशेष प्रकारको थिमका साथ आजबाट 'द ब्ल्याक गोल्ड' सञ्चालनमा ल्याएको हो ।
पूर्णरूपमा अरेबिक थिममा खुलेको यस रेस्टुरेन्टमा इन्डियन र मुगलाई वेष्टका हलाल (जबा) गरिएको मासुबाट बन्ने परिकारहरु पाइन्छन् । नेपाली रेस्टुरेन्ट क्षेत्रमा अरेबिक थिमको हलाल परिकार मात्र पाइने यो पहिलो रेस्टुरेन्टसमेत बनेको छ ।
त्यस्तै, रेस्टुरेन्टमा विगत १३ वर्षदेखि भारतमा कार्यरत अनुभवि सेफहरु रहेको कम्पनीले जनाएको छ । करिब २००० स्क्वाएर फुटमा निर्माण गरिएको यस रेस्टुरेन्टमा झण्डै १६ जनाले रोजगारिको अवसर समेत पाएका छन् । कम्पनीका अनुसार अन्य दुई ब्रान्चसमेत गरेर हाल ६० जना भन्दा बढीले प्रोस्टेजीयो रेस्टुरेन्टमा रोजगारिको अवसर पाएका छन् ।
रेस्टुरेन्टका सीइओ पुरुषोत्तम दास श्रेष्ठले अरेबिक थिम मात्र प्रयोगमा ल्याइएको नभई 'द ब्ल्याक गोल्ड' मा मुस्लिम मूल्य मान्यतालाई समेत आत्मसाथ गरिएको बताए । 'रेस्टुरेन्टमा प्रयोग हुने मासु सबै इस्लामिक रितअनुसार (जबा) गरिएको हुन्छ,' उनले भने, 'यतिमात्र नभएर हामीले यसको मूल्य मान्यतालाई पनि आत्मसाथ गर्दै अल्कोहल र पोर्क पूर्णरुपमा निषेध गरेका छौं ।'
विगत २५ वर्ष अरेबियन राष्ट्रमा कार्यरत श्रेष्ठले ग्राहकलाई फरक स्वाद दिन र नेपालमै रोजगारीको अवसर समेत सिर्जना गर्नका लागि फरक थिमका साथ सो रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार हाल रेस्टुरेन्टमा विभिन्न देशबाट ल्याइएका ५० प्रकारका मरमसला प्रयोग गर्ने गरिएको छ ।
यो रेस्टुरेन्ट फरक शैलीमा खोलिए पनि यहाँको मूल्य भने नेपाली बजारअनुसार नै तोकिएको छ । एकपटकमा करिब ५० जना अट्न सक्ने क्षमता भएको यस रेस्टुरेन्टमा ग्राहकले अरेबियन थिममा फोटोसुट समेत गर्न सक्छन् ।