काठमाडौं। चालू आर्थिक वर्ष सुरु भएयता अहिलेसम्म निजी लगानीका १६ आयोजना पूरा भई केन्द्रीय प्रसारण प्रणालीमा ३ सय १६ मेगावाट बिजुली थपिएको छ।
सरकारले चालू आर्थिक वर्षभित्र ८ सय मेगावाट बिजुली थप गरी जडित क्षमता ३ हजार मेगावाट पुर्याउने लक्ष्य लिएको छ।
हालसम्म जडित क्षमता बढेर २ हजार ४ सय मेगावाट पुगेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। हालसम्म तीन सोलार आयोजना पूरा भई १० मेगावाट ऊर्जा उत्पादन भएको छ। बाँकी १४ आयोजनाबाट ३ सय ६ मेगावाट बिजुली थप भएको प्राधिकरणले जनाएको छ।
प्रणालीमा थप हुने आयोजनामा अपी पावर कम्पनी लिमिटेडको एक मेगावाटको सिमरा सोलार परियोजना छ। यस्तै नेसनल पावर कम्पनीको नवलपरासीमा पाँच मेगावाटको सोलार परियोजना पूरा भई बिजुली उत्पादन सुरु भएको छ।
प्राधिकरणका अनुसार प्रणालीमा आशुतोष इनर्जीको ८.६ मेगावाटको चेपेखोला, दोर्दी जलविद्युत कम्पनी लिमिटेडको १२ मेगावाटको दोर्दी–१ र हिमालयन पावर पार्टनर लिमिटेडको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाबाट व्यावसायिक बिजुली उत्पादन भइसकेको छ।
त्यसैगरी सिद्धिपावर कम्पनीको ९ सय ९९ किलोवाटको सितिखोला आयोजना, पिपल्स पावर लिमिटेडको पुवा–२, नेपाल सोलार फर्म प्रालिको चार मेगावाटको सोम राधाकृष्ण सोलार, स्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सन लिमिटेडको २८.१ मेगावाटको लिखुखोला र लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको अपर दोर्दीखोला ‘ए’ आयोजनाबाट बिजुली उत्पादन भइरहेको छ।
मिड सोलु हाइड्रोपावर कम्पनीको ९.५ मेगावाटको मिड सोलुखोला र १५.१ मेगावाटको मिडिल मोदी आयोजना पूरा भएका छन्। साहस ऊर्जा लिमिटेडले बनाएको ८६ मेगावाटको सोलु दूधकोसी आयोजनाको बिजुली केन्द्रीय प्रसारण प्रणालीमा जोडिएको छ।
यसैगरी ३८.४६ मेगावाटको माथिल्लो कालांगा र १५ मेगावाटको कालंगा आयोजना सकिएको छ। हालसम्म प्रणालीमा थपिएको सबैभन्दा ठूलो आयोजनामा सोलु दूधकोसी हो।
गत आर्थिक वर्ष हालसम्मकै सबैभन्दा बढी ७ सय ५० मेगावाट बिजुली प्रणालीमा थपिएको थियो। चालू आर्थिक वर्ष सार्वजनिक–निजी लगानीमा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको तल्लो सान्जेन र माथिल्लो सान्जेन तथा १ सय २ मेगावाटको मध्यभोटेकोसी आयोजना सक्ने लक्ष्य छ।
यस्तै पिपल्स हाइड्रोले बनाएको ५४ मेगावाटको सुपर दोर्दी आयोजनाबाट परीक्षण उत्पादन तयारी भएको छ। अर्को महिना यो आयोजनाबाट बिजुली उत्पादन हुनेछ।
अहिलेसम्म निजी लगानीमा १ हजार ६ सय ९४ मेगावाट क्षमताका १ सय ४५ आयोजना पूरा भइसकेका छन्। ती सबै आयोजनाले सर्वसाधारणलाई सेयर निष्कासन पनि गरेका छन्।
हाल बिजुलीको माग १ हजार ७ सय २१ मेगावाट छ। भारतबाट ४८० मेगावाट हारहारीमा बिजुली आयात भएको छ। सुक्खाका कारण नदीहरुमा जलप्रवाह घटेसँगै यसको असर बिजुली उत्पादनमा परेको छ। पानी प्रवाह कम भएपछि आयोजनाहरुबाट ३३ प्रतिशत मात्र बिजुली उत्पादन भएको छ।