चारैतिर शरद् ऋतुको उल्लासमय वातावरण छ । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलही झैं सिङ्गारिदिएका छन् । बिजुली बत्तीको झिलिमिली उज्यालोले रातलाई पनि दिनजस्तै बनाइदिएको छ तर, प्रकृतिसँंग मानिस रम्ने चाड तिहारको मौलिकता भने हराउँदै गएको छ । युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक विरासतका मौलिक चाडपर्वहरुले आफ्नो मौलिकता गुमाउँदै गएका संस्कृतिविद्हरु बताउँछन् ।
नेपालीहरुका लागि दशैं पछिको दोस्रो ठूलो चाड तिहार पशुपक्षी, प्रकृति र पुरुष ९भाइ० पूजा गरिने एकमात्र चाड हो । दशैंमा बली दिने प्रचलनले कहीँ कतै कसैलाई नरमाइलो लाग्छ भने तिहारमा सबै उमेर, वर्ग र सम्प्रदायका मानिसहरु रमाउने गर्दछन् ।
हिन्दू संस्कृतिका अध्येता पं भीमनाथ पराजुलीका अनुसार तिहार प्रकृति, पुरुष र ऐश्वर्य लक्ष्मीलाई खुशी बनाउने रोमाञ्चक चाड हो तर, पछिल्लो समय यो चाडमा पनि निकै विकृतिहरु भित्रिएकाले यसको सांस्कृतिक पहिचान नै ओझेलमा पर्दै जान थालेको छ ।
आधुनिकतासँगै तिहार पर्वमा पनि अनेक खालका विकृतिहरु देखिन थालेको पं पराजुलीले बताउछन्र । “अरु बेला वास्ता नगरिने पशुपक्षीलाई पनि तिहारमा पूजा गरिन्छ,” पं पराजुलीले भने – “यसले सबै प्राणीबीच सम–दृष्टिकोण राख्नुपर्दछ भन्ने सन्देश दिन्छ । काग, कुकुर, गाई, गोरु, लक्ष्मी र भाइ दाजुभाइलाई तिहारमा पूजा गरेर सुख, शान्ति र ऐश्वर्यको कामना गरिने यो पर्व अहिले केवल औपचारिकतामा सीमित भएको छ ।”
माटाको दियो र अमिलाको पातमा बाति ९बत्ती० बालेर जिम फाल्ने चलन अहिले हराएको छ । घरको मूलढोका, सहायक ढोका, आँगनको डिल, तुलसीको मठ, धनसार, गोठ, जुठेल्नो जतातलै बत्ती बालेर जिम फाल्ने चलन थियो तर, अहिले भने जतातलै बिजुली बत्ती बालेर उज्यालो बनाइने गरिन्छ । बेनी नगरपालिका–२ बगरफाँटका ८३ वर्षीय वेदप्रसाद शर्मा भन्नुहुन्छ – “यसबाट मनोरञ्जन त प्राप्त हुन्छ तर, जिम फाल्ने विधान र तिहारको मौलिकता हुँदैन ।”
माटाको दियो, अमिलाको पात र मैनबत्ती हुँदै अहिले बिजुलीको झिलिमिली बत्तीमा मनाइने तिहारको मौलिकता अब कुनै चिजमा पनि बाँकी नरहेको बूढापाकाहरु बताउँछन् । अचेल माटोको पाला पूजाकोठामा सीमित भएको छ । माटोको दियोपछि मैनबत्ती र मैनबत्तीलाई उछिन्दै बिजुली बत्तीमा अहिलेको तिहार भुलेको छ ।
देखिँदैन तेलको धार
यमराजलाई बाटो छेक्न विशाल नदीको प्रतीकका रुपमा घरको मूल ढोकामा हालिने तेलको धारले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूल ढोकामा तेलको धार हालेर बाटो छेक्ने प्रचलन पछिल्लो समय हराउँदै गएको शर्माले बताए ।
“ओखर फोरिन्थ्यो, तेलको धार हालिन्थ्यो, देउसी भैलो खेलिन्थ्यो, साथीभाइहरु एकै ठाउँमा भएर जुवातास खेली रमाइलो गरिन्थ्यो,” शर्माले भने – “अब ती सबै कुराहरु हराइसके । तिहार केवल औपचारिकतामा सीमित हुन थालिसकेको छ ।”
भाइमसला बनाउन बिर्से दिदीबहिनी
सूचना र प्रविधिले विश्वलाई नै साङ्घुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पु¥याइदिएको छ । मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिसहरु यति व्यस्त भएका छन् कि उनीहरुलाई आफ्नो नजीकैको मान्छेले के गर्दै छ र के भन्दै छ भन्ने कुराको समेत पत्तो हुँदैन ।
युवा पुस्ताका दिदीबहिनीहरु पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनीहरु पनि बेफुर्सदिला हुने गरेका छन् भने झण्झटिला कामहरुप्रति उनीहरुको रुचि घट्दै गएको छ ।
फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, खानाका परिकारहरु तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीको नै हुने गर्छ तर, उनीहरु पनि बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ भन्छन खडानन्द सापकोटा ।
सापकोटाका अनुसार अहिले बजारमा प्याक गरेर राखिएका भाइमसलामै दिदीबहिनीहरुले काम चलाउने गरेका छन् । सापकोटाको भनाइसँग सहमत छिन अर्मनकै रसिला जैसी पनि । “पहिला पहिला दिदीबहिनीहरु भेला भएर तिहार शुरु हुनेबित्तिकै भाइमसलाको खोजी गथ्र्यौं, ओखरदेखि लिएर सम्पूर्ण सामग्रीहरुको जोहो गरेर भाइमसला बनाउँथ्यौं,” ६३ वर्षीया जैसीले भनिन्– “अहिले त कसैलाई कामले फुर्सद छैन, कसैलाई मोबाइलले ।”
देउसी पैसा असुल्ने माध्यम
तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशीष दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यम नभै पैसा असुल्ने माध्यम बन्दैगएको आरोप लाग्न थालेको छ ।केही सामाजिक सङ्घसंस्था र व्यक्तिहरुले मेमोरीमा रेकर्ड गरिएका गीतहरुको सहयोग लिई बेतालको नृत्य देखाउँदै देउसी भैलोलाई पैसा असुल्ने माध्यम बनाइरहेका स्थानीय व्यापारीहरुले बताएका छन् ।
हुन पनि हिजोआज गाइने देउसी भैलो र देखाइने नृत्यमा कुनै पनि मोलिकता देखिँदैन । अधिकाँश भैली समूहहरुले हिन्दी र नेपाली चलचित्रका गीत एवं एल्बममा राखिएका देउसी भैलो गीतहरुमा नाच्ने गरेका छन् । न उनीहरुले मादल बोकेका हुन्छन् न मुरली र खैजडी नै । ठूल्ठुला साउन्ड बक्सहरुमा गीतहरु घन्काउदै हल्ला गर्दै देउसी भैलो समूहहरु हिँडेका देखिएका छन् ।्र
देउसी भैलोहरुले ठूलो स्वरमा बज्ने साउन्ड बक्समा गीत घन्काउँदा मनोरञ्जनभन्दा बढी हल्ला मात्रै हुने गरेको छ । ठूल्ठूलो स्वरमा गीत बजाउँदै चिच्याउँदै देउसी भैलो खेल्नेहरु हिँडेको देख्दा आफूहरुलाई रमाइलोभन्दा बढी डर लाग्ने गरेको स्थानीय वृद्धवृद्धाहरु बताउँछन् ।
बेनीका वयोवृद्ध नैनकुमार श्रेष्ठ भन्छन – “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजाहरु र गीतहरु देख्न सुन्न पाइन्थ्यो तर, आजभोलि आयातित गीतहरु सुन्न पर्दा वाक्क लाग्छ । पहिले आफैं भट्याएर देउसी खेल्दा छुट्टै मजा आउँथ्यो अनि हेर्नेलाई पनि रमाइलो लाग्थ्यो । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् ।,” केही वर्षपछि लोकबाजा र भैलीकै मौलिकता हराउन सक्ने चिन्ता उनको छ । बेनीका जेष्ठ नागरिक डम्मरबहादुर कार्कीका अनुसार पहिला पहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैले गाउने, मुरली, मादल, खैजडी, झ्याली, टयाम्कोलगायतका मौलिक बाजाहरु बजाउने गर्थे । “अब ती सबै कुरा एकादेशका कथा भए,” उनले भने । धु्रवसागर शर्मा, रासस