काठमाडौं। सरकारले गुलाबको फूल आयात गर्न रोक लगाएको छ। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार सूचना निकालेर अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबै कार्यालयलाई पत्रसमेत पठाएको हो। केन्द्र अर्न्तगत १५ कार्यालयहरु छन्।
ती कार्यालयहरु काँकडभिट्टा, भण्टावारी, बिराटनगर, मलंगवा, जलेश्वर, विरगन्ज तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचाैकी, लोमान्थाङ्ग र बैतडीमा छन्। ती सबै कार्यालयलाई गुलाबको आयात अनुमति नदिन केन्द्रले पत्र पठाएको हो।
‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात अनुमति पत्र जारी नगर्न सबैमा जानकारीको लागि अनुरोध छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेका केन्द्रले कार्यालयहरुलाई पठाएको पत्रमा भनिएको छ।
केन्द्रका सूचना अधिकारी महेशचन्द्र आचार्यले वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताए।
‘फूलसँगै रोगका कीरा आउने, रोगका जिवाणु आउने सम्भावना हुन्छ । विगतमा तिहारको बेला पनि सयपत्री आयातमा कडाइ गरेका थियौ,’ सूचना अधिकारी आचार्यले भने, ‘तत्कालका लागि गुलाबको फूल आयात रोक गरिएको हो, दीर्घकालीन होइन।
हाल गुलाबको आयातका सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि शर्तसहित खुल्ला गरिने उनले जानकारी दिए।