काठमाडाैं। नेपाल उडान गरिरहेको थाइल्यान्डको थाई स्माइल एयरवेजका प्रतिनिधिसँग ‘१० लाख रुपैयाँ’ मागेको कुराकानीको अडियो फाइल फेला परेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई सरकारले निलम्बन गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुरलाई शुक्रबार निलम्बन गरेको हो।
थाई स्माइलका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो प्राप्त भएपछि पर्यटन मन्त्रीस्तरीय निर्णयअनुसार महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजेन्द्रकुमार केसीले जानकारी दिए।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरले थाई स्माइलका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले कुराकानी गरेको अडियो प्राप्त भएपछि उनलाई निलम्बन गरिएको केसीले बताए।
केसीका अनुसार पर्यटन मन्त्रीस्तरीय निर्णयपछि महाप्रबन्धक ठाकुरलाई पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई लेखी पठाइएको छ।
त्यस्तै उक्त घटनाबारे थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुरोध गरिएको केसीले बताए।
‘ठाकुरले आर्थिक लाभ वा अन्य के कस्तो लाभ लिने उद्देश्यले कुरा गरे भन्नेबारे अख्तियारले अनुसन्धान गर्ने छ,’ सम्बद्ध स्रोतले भन्यो, ‘अनुसन्धान टुंगोमा नपुगुन्जेल ठाकुर निलम्बनमै रहनेछन्।’
स्रोतका अनुसार त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुरले एक साताअघि थाई स्माइलका एक इन्जिनियरसँग आर्थिक लाभ लिने गरी कुराकानी गरेका थिए। ती इन्जिनियर थाई नागरिक हुन्।
खासमा ती इन्जिनियर थाई एयरवेजमा कार्यरत हुन्। थाई एयरवेजले नेपाल उडान बन्द गरेपछि उनी थाईकै भगिनी वायुसेवा थाई स्माइलमा कार्यरत छन्। उनले त्रिभुवन विमानस्थलमा थाई स्माइलका जहाजको इन्जिनियरिङ हेर्ने गर्छन्।
‘महाप्रबन्धक ठाकुरले ती इन्जिनियरसँग पैसा नै मागेको अडियो फाइल पर्यटन मन्त्रालय पुगेपछि मन्त्रीस्तरीय निर्णयबाट उनलाई निलम्बन गरिएको हो,’ स्रोतले भन्यो, ‘ठाकुरले १० लाख रुपैयाँ मागेको बुझिन आएको छ।’
थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाई एयरवेजले नेपाल उडान बन्द गरेपछि यसैको भगिनी वायुसेवा थाई स्माइल एयरवेजले सन् २०२२ जुलाईबाट काठमाडौं उडान गरिरहेको छ।
पाँच दशकदेखि नेपाल उडान गर्दै आएको थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाई एयरवेजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्ड ह्यान्डलिङ’ को काम पनि गर्दै आएको थियो।
नेपालमा पहिलो व्यावसायिक उडान गर्ने विदेशी वायुसेवा भएका कारण तत्कालीन सरकारले थाई एयरवेजलाई आफ्नो ग्राउन्ड ह्यान्डलिङ गर्ने अनुमति दिएको थियो। त्योसँगै उसले इन्जिनियरिङका काम पनि गर्दै आएको थियो।
त्रिभुवन विमानस्थलमा यस्तै सुविधा भारतको सरकारी वायुसेवा एयर इन्डिया (इन्डियन एयरलाइन्स) ले पनि पाएको छ।
अर्को कुरा, थाई एयरवेजको पहिलो विदेशी गन्तव्य नेपाल हो। दशकौंदेखि नियमित्र उडान गरिरहेको थाई एयरवेजले आफ्नोबाहेक हङकङको क्याथे प्यासिफिक एयरवेज, सिंगापुरको सिंगापुर एयरलाइन्सलगायत वायुसेवालाई पनि इन्जिनियरिङ सेवा उपलब्ध गराउँदै आएको थियो।
तर, खर्बौं ऋणमा डुबेको र वर्षौंदेखि घाटामा सञ्चालन भइरहेको थाई एयरवेज एक्कासि टाट पल्टिएपछि पूर्णरूपमा बन्द भयो।
कम्पनी बन्द भएपछि थाईले त्रिभुवन विमानस्थलमा पाएको ग्राउन्ड ह्यान्डलिङ सेवा पनि बन्द भयो। लगत्तै केही समयपछि थाई एयरवेजको भगिनी वायुसेवा थाई स्माइल एयरवेजले नेपाल उडान सुरु थाल्यो।
स्रोतका अनुसार थाई स्माइल नेपाल आउन थालेपछि थाई एयरवेजले त्रिभुवन विमानस्थलमा ‘थाई स्माइल हाम्रै एयरलाइन्स हो, त्यही भएर इन्जिनियरिङको काम हामीले गर्न पाउनुपर्छ’ भन्दै निवेदन दियो। र, अनुमति पनि पायो।
‘त्यसपछि थाई एयरवेजले ती इन्जिनियरलाई थाई स्माइलको इन्जिनियरिङ हेर्ने गरी काठमाडौं पठाएको थियो,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘तर, ती इन्जिनियरले थाई स्माइलसँगै क्याथे प्यासिफिक, सिंगापुर एयरलाइन्स लगायतको पनि इन्जिनियरिङ हेर्ने गरेको विमानस्थलका महाप्रबन्धक ठाकुरले पत्तो पाएका थिए।’
स्रोतका अनुसार त्रिभुवन विमानस्थल व्यवस्थापनले थाई एयरवेजलाई त्यस्तो काम गर्न नमिल्ने भन्दै दुईपटक पत्र काटेको थियो। तर, पत्र बेवास्ता गरेका ती इन्जिनियरले जसरी पनि काम जारी राख्ने जुक्ति लगाए र पैसा दिन्छु भन्दै लोभ देखाए।
‘त्यसपछि ती इन्जिनियरले १० लाख रुपैयाँ दिन्छु भन्दै लोभ देखाए, अनि महाप्रबन्धक ठाकुर त्यही लोभमा परे,’ स्रोतले भन्यो, ‘तर, आर्थिक लाभ हुने गरी ठाकुरले कुराकानी गरेको अडियो फाइल सिधै पर्यटन मन्त्रालय पुगेपछि सारा घटना पटाक्षेप हुन पुग्यो।’
थाई एयरवेजले इन्जिनियरिङ सेवा दिएवापत कूल आम्दानीको १५ प्रतिशत रोयल्टीवापत नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्ने गर्छ। प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रियदेखि मुलुकभरिका विमानस्थल सञ्चालन र व्यवस्थापन गर्ने प्रमुख निकाय हो।