काठमाडौं। सर्वसाधारणको लगानी रहेको साहस ऊर्जा लिमिटेडले निर्माण गरेको ८६ मेगावाटको सोलुखोला दूधकोसी आयोजना बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
पुस २७ गते बुधबारदेखि विद्युत उत्पादन सुरु गरेको आयोजनाकाे परीक्षण पूरा भएपछि शुक्रबार राष्ट्रिय प्रणालीमा जोडिएको हो। आउँदो १५ दिनपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरू हुने साहस ऊर्जाका अध्यक्ष हिमप्रसाद पाठकले जानकारी दिए।
सोलु दूधकोशी निजी क्षेत्रबाट निर्माण सम्पन्न भएको सबैभन्दा ठूलो तथा नेपालको अहिलेसम्मकै तेस्रो ठूलो जलविद्युत आयोजना हो। आयोजनाबाट उत्पादन भएको बिजुली प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको लमाने सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोडिने छ।
आयोजना निर्माणका लागि निर्माणाधीन अवस्थामा हुने ब्याज खर्चसमेत गरी ११ अर्ब ८६ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ७९ हजार रुपैयाँ छ।
सोलुखोला दूधकोसीको धेरै कम छ। लागतको हिसाबले सोलुखोला दूधकोसी सस्तो आयोजना भएको छ।
कूल लगानी रकममध्ये कम्पनीले ३ अर्ब ५० करोड रुपैयाँ स्व:पुँजीबाट र बाँकी रकम बैंकको ऋणबाट लगानी गरेको छ। आयोजनाकाे प्रमुख पानीको स्रोत सोलुखुम्बुकाे सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकालगायत गाउँपालिका भएर बग्ने सोलु खोलाको पानी रहेको छ।
आयोजनाको सिभिल निर्माणको काम सिई कन्स्ट्रक्सन, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्तिको ठेक्का भ्वाइथ हाइड्रोले गरेको हो। परामर्शदाता हाइड्रो कन्सल्ट हो। आयोजनाबाट वार्षिक ५२ करोड युनिट बिजुली उत्पादन हुनेछ। नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको हो।
आयोजना साेलुखुम्बुको सोलुकुण्ड नगरपालिका र दुधकोसी थुलुङ गाउँपालिकामा पर्छ। आयोजनाको हेड ५९८ मिटर अग्लो छ।