काठमाडौं। नेपालले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशिय प्रसारण लाइनको क्षमता बढाउन प्रस्ताव गरेको छ। नेपाल विद्युत प्राधिकरणले क्षमता बढाएर ८ सय मेगावाट बिजुली प्रवाहका लागि भारतसँग प्रस्ताव गरेको हो।
नेपालले वर्खामा बढी बिजुली निर्यात गर्न प्रसारण लाइनको क्षमता बढाउने प्रस्ताव भारतसँग गरेको हो। उक्त प्रस्तावबारे आउँदाे फागुन ४ र ५ गते भारतमा हुन लागेको दुई देशका ऊर्जा सचिवको बैठकमा छलफल हुँदैछ।
बैठककाे एक प्रमुख अजेन्डा अन्तरदेशिय लाइनको क्षमता बढाउने रहेको छ। ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट अहिले ६०० मेगवाट मात्र बिजुली आपूर्ति भइरहेको छ। प्रसारण लाइनकाे क्षमता ९०० मेगावाट भए पनि यसअघि १ हजार २०० मेगावाट क्षमता बुकिङ भइसकेको छ।
भारतले हालसम्म नेपालबाट ४५३ मेगावाट बिजुली निर्यातका लागि अनुमति दिइसकेको छ। अझै केही आयोजनाहरु बिजुली निर्यात स्वीकृतिको पर्खाइमा छन्। अहिले ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन सञ्चालनमा छ। विद्युत प्राधिकरणले यही लाइनबाट भारतमा बिजुली निर्यात गर्दै आएको छ।
बैठकमा विद्युत व्यापार गर्न ४०० केभी क्षमताका थप दुई अन्तरदेशीय (क्रस बोर्डर) प्रसारण लाइन बनाउन छलफल हुँदैछ। नेपाल र भारतले पूर्व सुनसरी इनरूवादेखि पूर्णिया र पश्चिममा कैलाली लम्कीदेखि भारत बरेलीसम्म जोड्ने गरी डबल सर्किट भएका ठूला प्रसारण लाइन निर्माण गर्न लागेका हुन्।
प्रस्तावित दोधरा–बरेली र ४०० केभी अन्तरदेशिय प्रसारण लाइनको अध्ययन रिपोर्ट नेपाल भारत संयक्त प्राविधिक टोलीले रिभ्यु गरिसकेको छ। प्रस्तावित लाइन निर्माणका लागि बैठकमा छलफल हुने भएको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए।
सम्भाव्यता अध्ययनपछि लगानी जुटाएर प्रशारण लाइन बनाउने काम सुरु हुनेछ। बन्दै गरेका र बन्ने तयारीमा रहेका आयोजनाबाट उत्पादन हुने बिजुली निर्यातका लागि प्रशारण लाइन निर्माण हुन लागेको हो।
यस्तै टनकपुर–महेन्द्रनगर लाइनबाट आउँदो वर्खादेखि भारतमा बिजुली निर्यात गर्ने विषयमा नेपालले प्रस्ताव गर्ने भएको छ। यो प्रसारण लाइनमा भारतबाट मात्र बिजुली आयात छ भने नेपालबाट निर्यात भएको छैन। सचिवस्तरीय सहमति भएपछि पश्चिममा उत्पादन हुने बिजुली यो लाइनबाट निर्यात हुनेछ।
ऊर्जासचिवस्तरीय बैठकमा राष्ट्रिय प्रसारण ग्रिडलाई भारतसँग एकिकृत गर्ने विषयमा पनि सहमति हुने बताइएको छ। यसअघि माघ ७ देखि १० सम्म भारतमा सचिवस्तरीय बैठक गर्ने मोटामोटी सहमति भएकाेमा पछि सरेर फागुन पहिलो साता पुगको हो।
यस्तै दुई देशको संयुक्त लगानीमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको काम सुरु हुन लागेको छ। बुटवल–गोरखपुर लाइनको काम पनि छिट्टै सक्ने तयारी छ। भारतीय पक्षले पनि प्रसारण लाइन बनाउन बोलपत्र आह्वान गरेको छ।
यस्तै नेपालको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) ले पनि नेपालतर्फको लाइन बनाउन बोलपत्र आह्वान गरिसकेको छ। प्रशारण लाइन बनाउने संयुक्त कम्पनी गठन भइसकेको छ।
न्यु बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्व पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको आधा–आधा सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना भएको छ। नेपालतर्फ एमसिएले लाइन बनाउने छ।
नवलपरासी सुनवल नगरपालिका–१३ स्थित न्यु बुटवल सबस्टेसनबाट सुरू भई गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १ सय २० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्छ।
कम्पनीको ५० प्रतिशत स्व:पुँजी (इक्विटी) को हुन आउने ४६ करोड भारु (७३ करोड ६० लाख रुपैयाँ) भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो।
नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवस्तरीय संयन्त्रको २०७६ असोजमा भएको सातौं बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूप टुंगो लगाएको थियो।
अनुमानित लागत ४ अर्ब ६२ करोड भारु (७ अर्ब ३९ करोड रुपैयाँ) रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ। प्राधिकरण र पावर ग्रिडबीच २०७८ भदौमा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो।
२ हजार मेगावाट विद्युत प्रवाह गर्नसक्ने क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो। हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रशारण लाइनभन्दा बुटवल–गोरखपुर प्रशारण लाइनले झन्डै दोब्बर क्षमतामा विद्युत प्रवाह गर्नसक्ने छ।