काठमाडौं। हिमालयन बैंक र सिभिल बैंकलाई एकिकृत कारोबारका लागि राष्ट्र बैंकले समयसीमा तोकेको छ। राष्ट्र बैंकले बिहीबार काराेबारका लागि फागुन १६ काे समयसिमा ताेकेकाे हाे।
माघ १७ मा काराेबारका लागि राष्ट्र बैंकले दुइटा बैंकलाई अन्तिम स्वीकृति दिएको थियाे। तर सिभिल बैंकका सिइओ सुनिल पोखरेललाई मातृ शोक र हिमालयन बैंकका सिइओ अशोक राणालाई पितृ शोक परेकाले एकिकृत कारोबार सर्ने सम्भावना छ।
यता मर्जर प्रक्रियामा भएको कर्मचारी समायोजनप्रति सिभिल बैंकका कर्मचारीले असन्तुष्टि व्यक्त गरेका छन्।उनीहरुले बुधबार विरोध स्वरुप देशभरका शाखा कार्यालयमा बिहान १० बजेदेखि १२ बजेसम्म पेन डाउन अभियान सुरु गरेका छन्।
सिभिल बैंकका एक कर्मचारीले क्यापिटल नेपालसँग भने, नामको कुरा नमिलेका कारण समस्या भएको हो। हाम्रो बैंकमा एस वान, एस टु गरी चार वटा लेभलमा छ। तर उता हिमालयनमा भने ट्रेलर, सहायक असिस्टेन्ट, असिस्टेन्ट गरी चार वटा लेभल छ। त्यो लेभलको म्यापिङ नहुँदा आन्दोलन भएको मात्रै हो। यसलाई मिलाउने काम भईरहेको छ,’ उनले भने।
सिभिल र हिमालयबीच मर्जरको प्रारम्भिक सम्झौता असारमै भए पनि एकिकृत कारोबार भने फागुनबाट सुरु गर्ने तयारी भएको थियो। हाल साफ्टवेयर मिलाउने, कर्मचारी समायोजनलगायतका काम भइरहेको छ।
यी दुई बैंकहरु १००ः८१ मा मर्ज हुन लागेका हुन्। अर्थात सिभिल बैंकको १०० कित्ता सेयर मर्जरपछि हिमालयन बैंकमा ८१ कित्ता हुने गरी सम्झौता भएको छ भने बैंकको नाम हिमालयन रहने गरी सम्झौता भएको थियाे।
असार २९ गते हिमालयन र सिभिल दुवै बैंकका अध्यक्षले मर्जरका लागि सहमतिपत्रमा हस्ताक्षर गरेका थिए।